काठमाडौं । नेपाल आयल निगमले भण्डार केन्द्र निर्माणलाई तीव्रताका साथ अघि बढाउने भएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको माग र खपत बढेसँगै त्यसलाई मध्येनजर गर्दै निगमले भण्डार केन्द्र निर्माणलाई तीव्रता दिने भएको हो ।
यसैक्रममा निगमले चितवनको लोथरमा १ लाख ३ हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउने भएको छ । निगमका निर्देशक भरत रेग्मीले उक्त भण्डारण गृह चितवनमा भएको निगमको आफ्नै जमिनमा बन्न लागेको बताए । उनका अनुसार सो भण्डारण गृह अहिलेसम्म भएको सबैभन्दा ठूलो अमलेखगञ्ज भण्डारण डिपोभन्दा ५ गुणा ठूलो हुनेछ ।
‘हामी अहिलेसम्म भएको भण्डारणको ५ गुणा बढी क्षमता भएको भण्डारण डिपो बनाउँदै छौं, चितवनमा सो भण्डारण केन्द्र बनेपछि पेट्रोल वितरणमा समस्या हुने छैन,’ रेग्मीले भने ।
यस्तै, तत्कालका लागि अम्लेखगञ्जदेखि लोथरसम्म पेट्रेलियम पाइपलाइन निर्माणको समेत अध्ययन भइरहेको निगमले जनाएको छ । निगमले नेपालगञ्जमा आफ्नै जमिनमा अटोमेटिक, एलपीजी ग्यासको भण्डारण गृह समेत बनाउने योजना रहेको छ । त्यस्तै, निगमले सर्लाहीमा ३० हजार क्षमताको एलपीजी ग्यास डिपो बनाउने गरी अध्ययन गरिरहेको छ ।
झापामा भण्डारण र नेपाल आयल निगमको आफ्नो बोटलिङ प्लान राख्नका लागि डीपीआरको पहिलो ड्राफ्ट रिपोर्ट अध्ययनको क्रममा रहेको रेग्मीले बताए । यस्तै निगमले भारतबाट प्राप्त गर्ने तेलको फुल टेस्ट गर्न सक्ने गरी अत्याधुनिक ल्याब पनि बनाउँदै गरेको छ ।
चालु वषैभित्रै ४ वटा डिपो निर्माण सम्पन्न हुने
हाल निगमलसँग ६ दिन हाराहारीमा पुग्ने भण्डारण क्षमता रहेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल)को भण्डारण क्षमता बढाउन चालु आर्थिक वर्ष भित्र देशका दुई ठाउँमा ४ वटा डिपो निर्माण सम्पन्न गर्ने भएको छ ।
निगमले यसै वर्षभित्र सक्नेगरी पोखरा र अम्लेखगञ्जमा २÷२ वटा पेट्रोलियम भण्डारणका लागि डिपो निर्माण गरिरहेको हो । साथै, अन्य स्थानमा रहेका पुराना मट्टीतेलका डिपोलाई डिजेल र पेट्रोल भण्डारणमा प्रयोग गर्ने भएको छ ।
निगमले हाल पोखरामा ५/५ हजार किलोलिटर क्षमताका २ वटा डिजेल भण्डारणका लागि डिपो निमार्ण भइरहेको छ । १० हजार किलोलिटरको सो डिपो ७७ करोड रुपैयाँ बढी लगानीमा बन्न लागेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
पोखरा पेट्रोलियम डिपो यही आवभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । पोखराको डिपो एक वर्षभित्र निमार्ण सक्ने लक्ष्य रहेको छ । पोखरामा बन्ने डिपोले गण्डकी प्रदेशका अलावा वाग्मती प्रदेशसम्म पनि खपत धान्ने अनुमान गरिएको छ ।
यस्तै, निगमले अम्लेखगञ्जमा पनि २ वटा भण्डारण डिपो निर्माणको काम शुरु गरेको छ । उक्त डिपो निर्माणको दोस्रो चरणको प्रकृया पूरा भई कार्य योजना बनिसकेको जनाइएको छ । दोस्रो परियोजना अन्तगर्त अम्लेखगन्जमा ४१/४१ सय किलोलिटर क्षमताको दुईवटा पेट्रोलीयम पदार्थ भण्डारण डिपो बनिरहेको छ ।
चितवनको लोथरमा भण्डारण गृहको निर्माण, सिलगुडीदेखि लोथरसम्म पाइपलाइन निर्माण र झापामा भण्डाण गृहका लागि नेपाल ओइल करपोरेसन र भारत आयल कर्पाेरेसनमा प्रतिवेदन पेश भएको उनले बताए ।
झापामा ४२ हजार ३७४ किलोलिटरको भण्डारण क्षमताको टंयाङकी बनाइने छ । जस मध्ये १४/१४ हजारको ३ वटा ट्यांकी हुनेछ । अर्को तर्फ ५० किलो लिटरको अन्डरग्राण्ड ट्याङकी बनाइने योजना रहेको छ । यो कुल जोडदा ४२ हजार ५० किलोलिटरको ट्याङकी बन्नेछ ।
डिजेलका लागि भर्टिकल ट्यांकी ३ वटा बनाइने छ । साथै एउटा अन्डरग्राउड अन्डरग्राउण्ड ट्यांक समेत बनाउने योजना आयल निगमको रहेको छ । यी सबै गरेर देशभर १ लाख ५० हजार क्षमताको भण्डारण सृजना गर्ने निगमको योजना रहेको छ ।
मट्टीतेल डिपोलाई धमाधम डिजेल र पेट्रोल डिपोमा परिवर्तन गरिँदै
अन्य प्रदेशहरुमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउन मट्टीतेल राख्ने भर्टिकल ट्यांक (ठाडो ट्यांक) मा पेट्रोल तथा डिजेल भण्डारण गर्ने निगमको योजना रहेको छ । मट्टीतेलको खपत कम भएसँगै आयात पनि कम भएको छ ।
मट्टीतेलको खपत घट्दै जानु र डिजेल, पेट्रोलको माग चुलिँदै गएपछि त्यसलाई मध्यनजर गर्दै निगमले मट्टीतेलका भण्डारणलाई पेट्रोल तथा डिजेल भण्डारणमा परिवर्तन गर्न लागेको छ ।
निगमले विराटनगरमा ७ लाख ६० हजार लिटरको मट्टितेल ट्यांकलाई डिजेल तथा पेट्रोल भण्डारणमा परिवर्तन गर्दैछ । भैरहवामा ३७९ किलो लिटरको मट्टित भर्टिकल टंयाक राखिएको छ । उक्त ट्यांकलाई समेत पेट्रोल तथा डिजेल भण्डारणमा प्रयोग गरिनेछ ।
निर्देशक रेग्मीले भैरहवाकै ७० हजार लिटर क्षमताको मट्टितेलको दुईवटा ट्यांक अन्डर गा्रउन्ड गरिसकेपछि उक्त ट्यांक खाली हुने बताए । त्यसलाई पनि पेट्रोलियम पदार्थ भण्डारणका लागि परिवर्तन गर्दै लैजाने निगमको योजना रहेको छ ।
यस्तै, नेपालगन्ज र पोखरामा रहेका मट्टीतेलका टंयाकलाई पेट्रोल भन्डारणका लागि प्रयोग गरिने भएको छ । पोखरामा रहेको २ हजार २५० किलोलिटरको डिजेल भण्डारण टंयाकलाई पनि भविष्यमा पेट्रोल भण्डारणमा परिवर्तन गरिने निगमको योजना रहेको छ । उक्त डिजेल भण्डारणलाई नयाँ बन्दै गरेको ५/५ हजार किलोलिटरको भण्डारण बनेपछि पेट्रोल भण्डारणका रुपमा परिवर्तन गरिने भएको हो ।