सुख, सुविधा त्यागेर कृषिमा होमिएका ‘ब्रिटिस लाहुरे’ देउकुमार, जसले पूर्वमा फैलाउँदै छन् किवी खेती

काठमाडौं । अहिले पनि हजारौं नेपाली युवाले ब्रिटिस लाहुरे (वेलायती आर्मी) हुने सपना बोकेर दौडिरहेको देखिन्छ । समाजमा उच्च सम्मान, प्रतिष्ठाका साथै आर्थिक अवस्था पनि उकाशिने हुँदा ब्रिटिश लाहुरेप्रति युवाहरू आकर्षित हुने गरेका छन् ।

 

ब्रिटिस लाहुरे आम नेपाली युवाको सपना नै हो भन्दा फरक पर्दैन । तर, समाजमा केही यस्ता व्यक्ति पनि छन् जो वर्षौं ब्रिटिस आर्मीमा सेवा गरेर पनि नेपालको माया मार्न सकेका छैनन् । अझ भनौं, वेलायतको सुख, सुविधा, ऐसा आरामा त्यागेर नेपाल फर्किएका छन् ।

 

ब्रिटिस लाहुरेबाट कृषक बन्ने व्यक्ति हुन् इलाम नगरपालिका १ साखेजुङमा देउकुमार राई । उनको पारिवारिक पृष्ठ भूमि नै ब्रिटिस लाहुरे हो । उनका बुबा लाहुरे नै थिए । ५ दाजुभाइ र १ बहिनी रहेका उनका परिवारका सबै सदस्य विश्वका विकासित देशमा बस्छन् । कोही बेलायत, कोही अमेरिका र कोही सिंगापुरमा छन् ।

 

२०४४ सालमा ब्रिटिस लाहुरे बनेका राई १८ वर्ष सेवा गरेर अवकाश भए । कर्तव्य पालनाको क्रममा युरोप, अफ्रिका र एशियाका थुप्रै मुलुकमा पुगेका उनी नेपाललाई विश्वकै सुन्दर र उत्कृष्ट भूमि मान्छन् । र, आफ्नो जन्मभूमि छाड्न नसकेका उनी अहिले कृषिमा होमिएका छन् ।

‘संसारमा म युरोप, अफ्रिका र एसियाका धेरै मुलुक पुगेँ तर तीसँग तुलना गर्दा हाम्रो देश स्वर्ग जस्तो लाग्यो, उत्पादन, प्रकृति र स्कोपको हिसाबले पनि हामी निकै भाग्यमानी छौँ की हामी नेपालमा जन्मेका छौँ,’ राइले चाणक्य पोष्टसँग भने, ‘काम गर्ने इच्छा शक्ति र अठोट भए यहीँ धेरै काम गर्न सकिन्छ तर, ज्ञानको कमी भने छ, त्यो आफैंले विकास गर्दै जानुपर्ने रहेछ ।’

 

राईले अहिले आफ्नै पुर्ख्यौली जमिनमा व्यापसायिक किवी खेती, जडिबुटी खेती तरकारी खेती गर्दै आएका छन् । इलाम नगरपालिका वडा नम्बर ७ टुँडिखेलमा उनले एग्रो अर्गानीक क्याफे समेत सञ्चालन गरेका छन् । जस मार्फत उनले आफूले उत्पादन गर्ने गरेका विरुवा तथा फलफूल, जडिबुटी विक्री गर्छन् ।

 

२०६३ सालमा रिटायर भएका उनी २०६८ सालदेखि कृषि क्षेत्रमा लागेका हुन् । रिटायर भएर नेपाल फर्केका उनी झण्डै ४ वर्ष क्यान्सर पीडित श्रीमतीको हेरचाहमा लागेका थिए । २०६७ सालमा क्यान्सरकै कारण श्रीमतीको निधन भएपछि उनले नेपालमै कृषिमा लागेर केही गर्ने अठोट लिए ।उनले २०० रोपनी हाराहारी जमिनमा हाल खेती गरिरहेका छन् । इलाममा उनले १५० रोपनीमा किवी खेती गरेका छन् । इलाम नगरपालिका १ साखेजोङमा पनि ५० रोपनीमा अलैची खेती गरेका छन् ।

सन्दकपुर गाउँपालिका -३, माइपातालमा माइपोखरी हर्बल अर्गानीक एग्रीकल्चर फाम प्रालि लिमिटेड दर्ता गरेर सञ्चालन गरेका छन् । २०७१ सालमा दर्ता गरी जडिबुटी, फलफूल खेती तथा तरकारी खेती गरिरहेका उनले विशेष गरी प्राङगारिक खेतीलाई महत्व दिइएका छन् ।

 

उनले कृषि विज्ञ डा.योगेन्द्रमान श्रेष्ठको सल्लाहामा कृषि किवी तथा जडिबुटीका विरुवा उत्पादन गरिरहेको बताए । सुरूमा किवी उत्पादनबाट कृषि क्षेत्रमा प्रवेश गरेका उनले जात पहिचान हुन नसक्दा र केही ज्ञानका कमिले खेतीमा निकै प्रभाव परेको बताए । सुरूआतीमा उनले १०० रोपनीमा किवी लगाएका थिए ।

 

‘हेवार्ड’ जातको किवीले ल्याएको व्यवसायिक फड्को

 

किवी फलको विरुवा उत्पादन तथा फलफूल उत्पादनलाई विशेष महत्वका साथ अघि बढाएका उनले हाल किवीका हेवार्ड जातका विरुवा मात्र रोपेका छन् । नेपालमा ५ प्रकारका किवीका जातहरु पाइन्छ । उक्त किवीहरुको जात पहिचान नहुँदा सुरूमा निकै समस्या भोगेका उनले हालभने हेवार्डजातका मात्र किवीका विरुवा उत्पादन गर्न थालेका छन् ।

राईले समेत सुरूमा विरुवाको जात पहिचान गर्न नसक्दा र ज्ञानको अभाव भएका कारण नोक्सानी बेहोर्नु परेको बताए । उनले प्रतिकिवी विरुवा ७०० रुपैयाँमा किनेका थिए । इलाममा १२००/१३०० रुपैयाँ प्रतिविरुवा लागत पर्ने भएपछि काठमाडौंबाट ७०० रुपैयाँ प्रतिविरुवा किवी किनेका उनले मिक्स विरुवाका कारण घाटा बेहोर्नु परेको थियो ।

 

उनले १०० बोट किवीका विरुवा रोपेका थिए । अहिले उनले आफै किवीका सुधारिएका विरुवा २०० रुपैयाँमा विक्री गरिरहेका छन् । सुरूमा उनले कुल क्षेत्रमा लगाएको किवी मिक्स बिरुवा भएका कारण उत्पादन घटेको बताए । त्यसपछि लकडाउनमा २ वर्ष उनले विरुवाको तथ्यांक संकलन गरी सुधार गर्नतर्फ लागे ।

 

हेवार्ड जातको किवी ढिला  फल्ने र अरु जातका किवी छिटो फल्ने  हुँदा ढिला भए पनि लामो समय उत्पादन दिने भएकाले उनले हेवार्ड किवीमै योगदान दिँदै आएको बताए । सरकारले गर्नुपर्ने अध्ययन किसान आफैंले घाटा खाएर सुधार्दै जानु परेको उनले बताए । ‘मैले जात पहिचान गरिसके अब त्यही जात विरुवा मात्र उत्पादन गरिरहेको छु र विरुवा अरुलाई विक्री पनि गर्ने गरेको छु,’ राइले भने ।

 

देशभर फैलाउँदै हेवार्डका विरुवा, विदेशसम्म बेच्न लक्ष्य

 

१५० रोपनी जमिनमा ७०० बाेट हेवार्ड किवीका विरुवा लगाएका उनका २ वटा किवी फाम छन् । उनले सन्दकपुर गाउँपालिका माइपातलमा १०० रोपनीमा र इलाम महानगरपालिका साखेजोङमा ५० रोपनीमा १० हजार बढी किवीका विरुवा लगाएका छन् ।

 

हेवार्डजातका किवीले ५० वर्षसम्म उच्च उत्पादन दिने अनुमानका साथ उनले हाल १०० रोपनीमा  विरुवा लगाएका छन् । उनले आफूले उत्पादन गर्ने किवी विदेशी बजारसम्म पुर्याउने लक्ष्य राखेका छन् ।

 

राईले अहिले किवी खेतीका साथै विरुवा समेत उत्पादन गर्दै आएका छन् । आफ्नो फाममा उत्पादित किवीका विरुवा पोखरा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटाका लगायत ठाउँमा पुग्ने गरेको राई बताउँछन् । हाल उनले १० रोपनीमा विरुवा उत्पादन गरिरहेका छन् । जहाँ हेवार्ड जातको किवीको विरुवा ६ हजार बढी रहेका छन् ।

उनले एग्रो अर्गानीक क्याफे टुँडिखेलबाट किवी तथा अन्य जडिबुटीका विरुवा तथा वस्तु विक्री गर्ने गरेका छन् । साथै, इलामबाहेक, बिर्तामोड, धरान र काठमाडौंसम्म किवी पठाउने गरेका छन् । उनले कृषि फाममा स्थायी रूपमा ५ जनालाई रोजगार दिएका छन् । उनले सिजन अनुसार दैनिक ज्यालामा समेत मानिसलाई काम लगाउने गरेका छन् ।

 

‘विदेशी बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ’

 

नेपालमा विदेशी किवीले बजार पाउने तर नेपालका किवीले  विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना भएको राईको भनाइ छ ।   हाल बजारमा नेपाली किवीको मूल्य प्रतिकेजी १५० देखि २०० रुपैयाँ र विदेशी किवीको मूल्य ५०० रुपैयाँदेखि ७०० रुपैयाँ रहेको छ ।

 

उनले मिक्स विरुवाबाट उत्पादन भएको किवी प्रशोधनका लागि प्रयोग हुन सक्ने भए पनि फ्रेस फूड रूपमा बजार पाउन मुस्किल पर्ने गरेको बताए । नेपाली किवी सानो र हरियो हुने भएकाले उक्त फल उपभोक्ताको रोजाइमा हत्तपत्त पर्ने नगरेको उनले बताए ।

‘बाहिरबाट आएको किवी महंगो दाममा विक्री हुन्छ । नेपालको किवीको साइज सानो भयो, मिक्स विरुवामा फलेका कारण किन्नेले राम्रै देखिने किवी रोज्ने भए हाम्रो किवीको स्टोरेज पनि कम हुन्छ, धेरै दिन राख्दा बिग्रिने समस्याले पनि धेरै घाटा हुनेगर्छ,’ राईले भने ।

 

फ्रेस फूडको लागि हेवार्डकिवी निकै उत्कृष्ट रहेको उनी बताउँछन् । प्रशोधनका लागि जाने मिक्स किवी सस्तो पर्ने भए पनि फ्रेस फूडका लागि जाने हेवार्डकिवी अन्यभन्दा महंगो पर्ने गरेको छ ।

 

हेवार्डकिवी ६ देखि ८ महिना स्टोरमा राख्न सकिने भएकाले समेत यसमा बढि फाइदा हुने उनले बताए । पोस्ट हार्भेष्टिङपछि राम्रो व्यवस्थापन गर्ने हो भने विदेशमा जस्तो लामो समय किवी स्टोर गर्न सकिने उनी बताउँछन् ।

 

नेपालमा उत्पादन हुने किवीले बजार तथा मूल्य नपाउनुका कारण जात पहिचान नभई उत्पादन गर्नु नै ठूलो कारण रहेको उनी बताउँछन् । विश्व बजारमा हेवार्डकिवीको माग धेरै छ । नेपालमा मिक्स जातमा किवी उत्पादन हुने हुँदा उक्त फलले बजारमा मूल्य नपाएको उनको भनाइ छ ।

नेपालमा विशेष गरी ग्रिन किवीहरुमा एलीसन किवी, ब्रुनो किवी, मन्टी किवी, अबुट किवी र हेवार्डकिवी गरी ५ किसिमका किवी उत्पादन हुन्छन् । हेवार्डकिवीको माग विश्वमा ९८ प्रतिशत रहेको छ । विदेशको तुलनामा नेपालका पहाडी तथा हिमाली भागमा उत्पादन हुने किवीको स्वाद उत्कृष्ट रहेको उनी बताउँछन् ।

 

कृषकले विरुवा लगाउँदा ध्यान दिनुपर्छ

 

नेपालमा कृषकहरुमा बीउ तथा विरुवाका विषयमा ज्ञान नहुँदा धेरै जसो कृषकले विरुवा पहिचान नगरी मिक्स विरुवा रोप्ने र राम्रो उत्पादन  नहुने उनको  अनुभव छ ।

 

ग्रिन किवी कार्तिकमा टिप्ने समय भएपनि नेपालमा किवीको सुगर लेवल नपुगी भदौमै टिपेर बजार पुर्याइने गरिँदा तयसको गुणस्तर घट्ने गरेको उनी बताउँछन् । साना व्यापारीले फाइदा मात्र हेर्ने ज्ञान नहुने गर्दा नेपाली किवीले बजार नपाउने ठूलो सम्भावना छ । अहिले बजारमा विदेशी किवीको वर्चश्व रहेको राइको भनाइ छ ।

 

आफैले प्रशोधन गर्ने तयारी

 

किवी उत्पादनपछि अब आफैले प्रशोधन गर्ने तयारी गरिरहेको राई बताउँछन् । हालसम्म झण्डै ५ करोड रुपैयाँ लगानी गरी कृषि गरिरहेका उनले आफै कोल्ड स्टोर समेत निर्माण गरी बजारसम्म पुर्याउने व्यवस्था गरिरहेका छन् ।

उनले ड्राइफूड बनाएर अरबी देशमा निर्यात गर्ने योजनाका साथ भवन बनाइसकेको बताए । उनले कोल्स्टोरसहित १० लाख खर्चेर भवन बनाइसकेको बताए । उनले किसानबाट मिक्स किवी किन्ने र प्रशोधन गरी ड्राइफूड बनाउने तयारी गरेको बताए ।

 

यस्तै, आफ्नै जमिनमा उत्पादन हुने फ्रेस किवी भने बजारमा बेच्ने गरी कोल्ड स्टोर समेत बनाएको उनले बताए । फ्रेसफूड स्टोरका लागि कुलबुट कोल्ड स्टोर समेत उनले राखेका छन् । उक्त कोल्ड स्टोर ५ टन क्षमताकाे हुने उनले बताए । कृषिमा घाटा नहुने बताउने उनी नेपालमा अपार सम्भावना रहेको बताउँछन् ।

 

जडिबुटी खेती पनि गर्दै

 

किवीलाई व्यावसायिक बनाएका राईले अहिले जडिबुटी खेती पनि गर्न थालेका छन् । उनले अहिले चिराइतो, लौठ सल्ला, धसिङ्ग्रे, सतुवा लगायत जडिबुटीको खेती सुरू गरेका छन् ।

उनले करिब १०० रोपनी जमिनमा चिराइतो लगाएका छन् । ५० रोपनीमा लौठ सल्लाको खेती तथा नर्सरी गरीरहेका छन् । लौठ सल्ला क्यान्सको उपचारमा प्रयोग गरिने औषधी बनाउन प्रयोग हुन्छ । त्यस्तै, उनले युरोपियन देशमा निर्यात हुने धसिङग्रे (अंग्रेजीमा विन्टरग्रीन) को खेती पनि  सुरू गरेका छन् । यसको माग विदेशमा बढी रहेको हुँदा उनले आफै बिरुवा उत्पादन गर्ने गरेका छन् ।

 

नेपालमा उत्पादन भएको धसिङग्रेको तेलमा केमिकल प्रयोग नहुने हुँदा यसको औषधिको युरोपमा माग राम्रो रहेको उनले बताए । बजारमा यसको मूल्य प्रतिलिटर ७ हजार रुपैयाँ पर्छ । यो तेल अन्य उद्योग मार्फत प्रशोधित गरेर निर्यात गर्ने गरेको उनले बताए ।

 

साथै, उनले रानीचाप काठको विरुवा समेत लगाएका छन् ।रानीचापको काठ फर्निसिङको लागि धेरै प्रसिद्ध मानिन्छ । उनले २ रोपनी जमिनमा रानीचापको १० हजार विरुवा रोपेका छन् ।

सौर्य एयरलाइन्सको जहाजभित्र चाउचाउको कार्टुनमा ५० लाख नगद भेटिएपछि... Read Previous

सौर्य एयरलाइन्सको जहाजभित्र चाउचाउको कार्टुनमा ५० लाख नगद भेटिएपछि...

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी