सरकारी स्वामित्वका तीन वटै बैंक ‘मर्ज भएमा’ कस्तो बन्ला नयाँ बैंक ?

काठमाडौँ । पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रका बिग मर्जरले चर्चा पाएको छ । दुई वर्ष अघि जनता बैंक र ग्लोबल आइएमई बैंकबीच बिग मर्ज भएपछि त्यसले बैंकिङ क्षेत्रमा ठूलो तरंग ल्याएको छ । चुक्ता पूँजीका आधारमा ग्लोबल सबैभन्दा ठूलो बैंक बन्यो ।

 

यी दुई बैंकले बिग मर्ज गरेपछि संचालनमा रहेका अन्य वाणिज्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब परेको देखिन्छ । मर्जरपछि ग्लोबल सबैभन्दा ठूलो बैंक बनेपछि वर्षाैंदेखि आफ्नो विरासत राख्दै आएका कही ठूला बैंकहरुले पनि अहिले मर्जर प्रक्रिया अगाडि बढाएका छन् । हिमालयन र इन्भेष्टमेन्ट बैंकले बिग मर्जका प्रारम्भिक सम्झौता गरिसकेका छन् । इन्भेष्टमेन्ट बैंकले साधरणसभाबाट मर्जर प्रस्ताव पारित गरिसकेको छ भने हिमालयनले सोही प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

 

त्यस्तै, यसैसाता नेपालकै नम्बर वान मानिने नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आफूमा गाभ्न अनौपचारिक मर्जर समित गठन गरेको छ भने बंगलादेशले पनि गठन गरेको बताइएको छ । सम्भवतः केही साताभित्र यी दुई बैंकको मर्जर प्रक्रिया टुंगो लाग्ने जनाइएको छ ।

 

एकपछि अर्को ठूला बैंकहरु मर्जरमा जान थालेपछि अन्य बैंकहरुलाई पनि थप दबाब परेको छ । नेपाल राष्ट्र बैंकले पनि हाल बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गरिरहेको छ ।

 

निजी क्षेत्रका बैंकहरु एकपछि अर्को मर्जरमा जान थालेपछि सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जानुपर्ने आवाज उठ्न थालेको छ । नेपालमा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकहरू रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा साढे ९९ प्रतिशत, कृषि विकास बैंकमा ५१ प्रतिशत र नेपाल बैंकको ४०.४९ प्रतिशत सरकारी स्वामित्व रहेको छ ।

 

एउटै उद्देश्य र कार्य भएका संस्थाहरू धेरै हुनुभन्दा दिगो र चुस्त प्रशासनिक सेवाका लागि सरकारी स्वामित्वका बैंकहरू पनि मर्ज हुनुपर्छ भन्ने टिप्पणीलाई गलत मान्न सकिन्न ।

 

नेपाल राष्ट्र बैंकले २०७४ मा गरेको अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको वृद्धिले अर्थतन्त्रको विकासमा सहयोग पुग्नुको साटो अस्वस्थ प्रतिस्पर्धा, कमजोर सुशासन, न्यून पूँजी, प्रणालीगत जोखिम सिर्जना हुन सक्ने अवस्था आएकाले वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी नीति लिइएको उल्लेख छ । राष्ट्र बैंकको उक्त अध्ययनबाट के प्रष्ट हुन्छ भने वित्तीय संस्थाहरू संख्यात्मक रुपमा वृद्धि हुनुभन्दा चुस्त र पारदर्शि वित्तीय प्रशासन भए थोरै भएपनि आर्थिक विकासमा मद्दत पुग्न सक्छ ।

 

यसरी सरकारी स्वामित्वका बैैंकहरू बीच नै मर्ज भएमा कस्तो बन्नला त नयाँ बैंक ? यहाँ हामीले तीनवटै बैंकले प्रकाशन गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणका आधारमा विभिन्न सूचकका आधारमा बन्ने नयाँ बैंकको परिकल्पना गरेका छौं ।

 

चुक्ता पूँजी

 

बैंकहरूले प्रकाशित गरेको वित्तीय विरण अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक विवरण अनुसार सरकारी स्वामित्वका बैंकहरूको चुक्ता पूँजी  १० अर्ब ९८ करोड ९९ लाख (नेपाल सरकरको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख बाहेक) रुपैयाँ, नेपाल बैंकको १२ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकको १० अर्ब १८ करोड रुपैयाँ रहेको छ । यदि तीनवटै बैंकबीच मर्ज भयोे भने नयाँ बन्ने बैंकको चुक्ता पूँजी ३३ अर्ब २५ करोड  रुपैयाँ पुग्नेछ । यो हाल संञ्चालनमा रहेको सबैभन्दा ठूलो वाणिज्य बैैंक ग्लोबल आइएमईको भन्दा झन्डै दोब्बर हुने देखिन्छ ।

 

रिर्जभ कोष

 

चालु आवको प्रथम त्रैमासिकसम्म संञ्चालनमा रहेका तीनवटै बैंकमध्ये सबैभन्दा ठूलो रिजर्भ कोष नेपाल बैंकको रहेको छ । जसको कोषमा २१ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको २१ अर्ब ५ करोड र कृषि विकास बैंकको रिजर्भ कोष १५ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । तीनवटै बैंकको जम्मा हुँदा नयाँ बन्ने बैंकको रिर्र्जभकोष ५८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने देखिन्छ ।

 

कर्जा

 

असोज मसान्तसम्म नेपाल बैंकले कुल २ खर्ब १५ अर्ब ५१ करोड २३ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । कृषि विकास बैंकले कर्जा १ खर्ब ८६ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । तीनवटै बैंकहरूको कर्जा जोड्दा ६ खर्ब ७ अर्ब ५१ करोड रुपैयाँ हुनेछ ।

 

निक्षेप

 

चालु आवको तीन महिनासम्म राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै २ खर्ब ४० अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । नेपाल बैंकले १ खर्ब ७३ अर्ब ९ करोड र कृषि विकास बैंक १ खर्ब ५३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तीनवटै बैंकको निक्षेप जोड्दा ५ खर्ब ६७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन पुग्ने देखिन्छ ।

 

शाखा

 

हाल देशभर राष्ट्रिय वाणिज्य बैंकका शाखा संख्या २६० रहेको छ । नेपाल बैंकका देशभर २१८ शाखा र कृषि विकास बैंकको शाखा संख्या २९५ रहेको छ । तीनवटै बैंक मर्ज भएमा बन्ने नयाँ बैंकको शाखा संख्या ७५३ पुग्नेछ ।

 

एटीएम संजाल

 

हाल राष्ट्रिय वाणिज्य बैंकको देभर २०० एटीएम संञ्जाल रहेको छ । त्यसैगरी, र १४४ वटा एटीएम र कृषि विकास बैंकको एटीएम संख्या १७० रहेको छ । तीनवटै बैंकको एटीएम संञ्जाल ५४० पुग्नेछ ।

 

कर्मचारी

 

हाल नेपाल बैंकमा कर्मचारीको संख्या २७०० रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा २६०० र कृषि विकास बैंकमा कर्मचारी संख्या २६७५ रहेको छ । यी तीनवटै बैंकहरू मर्ज कर्मचारीे संख्या ७ हजार ९७५ पुग्ने देखिन्छ । यद्यपि, मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले कर्मचारी कटौती गर्ने गरेका छन् ।

 

इक्वीटी

बैंकहरूले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिकको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै इक्वीटी कृषि विकास बैंकको २ खर्ब २८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, नेपाल बैंकको ३४ अर्ब १७ करोड र राष्ट्रिय वाणिज्य बैंकको ३१ अर्ब २९ करोड रुपैयाँ कुल इक्वीटी रहेको छ । तीनवटै बैंक मर्ज भए मर्जपछि बन्ने बैंकको कुल इक्वीटी २ खर्ब ९४ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ ।

 

खराब कर्जा

 

झण्डै ६ खर्ब ७ अर्ब रुपैयाँ बढी ऋण लगानी गरेका तीनवटै बैंकहरूको खराब कर्जा औषतमा २.३६ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ३.०१, नेपाल बैंकको २ र कृषि विकास बैंकको २.०८ प्रतिशत कर्जा रहेको छ ।

 

गुण एयरलाइन्सको काठमाडौं-सुर्खेत उडान सुरू, भाडादर कति ? Read Previous

गुण एयरलाइन्सको काठमाडौं-सुर्खेत उडान सुरू, भाडादर कति ?

एकै दिन विश्वभर ४४०० हवाई उडान रद्द, अमेरिकामा मात्रै २५०० बढी Read Next

एकै दिन विश्वभर ४४०० हवाई उडान रद्द, अमेरिकामा मात्रै २५०० बढी