एकै दिन विश्वभर ४४०० हवाई उडान रद्द, अमेरिकामा मात्रै २५०० बढी

काठमाडौं । कोरोना भाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ। शनिबार विश्वभर झन्डै ४,४०० उडानहरू रद्द गरिएकामा २,५०० भन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ।

 

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो।यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो।

 

अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओुहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए। युनाइटेड एअरलायन्सले एउटा विज्ञप्तिमा भनेको छ, ‘आज गरिएका रद्दहरू ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएका कारण हुन्। कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरू रद्द गरेका हौँ। उडानहरू रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ।’

 

आइतबार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कंने दिन थियो। शिकागोको ओहेर विमानस्थलमा अलपत्र परेका एकजना यात्रुले एबीसी न्यूजसँग भने, ‘निकैबेर भयो। यहाँ बस्ने र खाने ठाउँ समेत छैन।’

 

डिसेम्बर २४ यता अमेरिकामा १२,००० उडानहरू रद्द भएका छन्। वायुसेवाहरूले कर्मचारी अभावसँग जुझ्नका लागि उनीहरूलाई अतिरिक्त पैसा दिने उपाय चालिरहेका छन्।

 

तर श्रम सङ्गठनहरूले कर्मचारीहरूमा कोभिड सङ्क्रमण हुनसक्ने र क्रुद्ध यात्रुहरूसँग झेल्नुपर्ने त्रास रहेको बताएका छन्।-बीबीसी

सरकारी स्वामित्वका तीन वटै बैंक 'मर्ज भएमा' कस्तो बन्ला नयाँ बैंक ? Read Previous

सरकारी स्वामित्वका तीन वटै बैंक 'मर्ज भएमा' कस्तो बन्ला नयाँ बैंक ?

जहाँ पर्यटक तान्न ३ करोड खर्चेर बनाइयो ‘अम्रेला स्ट्रिट’ Read Next

जहाँ पर्यटक तान्न ३ करोड खर्चेर बनाइयो ‘अम्रेला स्ट्रिट’