एक वर्षमै थपिए ३५ लाख बैंक खाता, अझै ७७ लाख मानिस बैंकिङ पहुँचभन्दा बाहिर

काठमाडौं । नेपालीहरुमा बैंकिङ्ग प्रणालीमार्फत कारोबार गर्ने प्रचलन बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको पहुँच बढेसँगै उनिहरुले प्रयोगमा ल्याएका सेवाको उपभोग गर्नेको संख्या दिन–दिनै बढ्दै गएको छ ।

 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३४  लाख ८९ हजार ९५३ जनाले नयाँ बैंक खाता खोलेका छन् । २०७६ को असार मसान्तसम्ममा नेपाली बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या २ करोड २७ लाख ४६ हजार ६९ वटा पुगेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८.१२ प्रतिशतले बढी हो ।

 

आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्मा निक्षेप खाताको संख्या १ करोड ९२ लाख ५९ हजार ११६ रहेको थियो । यो संख्या वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तमा खोलिएको खाताको संख्या हो । यसवाहेक पनि  स्थानीय स्तरमा सञ्चालित ३० हजार भन्दा बढी सहकारीमा करिब ४० लाख सदस्य रहेका छन् ।

 

कर्णाली प्रदेशका ३८ प्रतिशतको मात्रै बैंक खाता

 

भौगोलिक रुपमा समेत विकट रहेको कर्णाली प्रदेश वित्तीय पहुँचका आधारमा पनि सबैभन्दा पछाडि रहेको छ । यस प्रदेशका कूल जनसंख्याको एक तिहाईभन्दा बढी अर्थात ३८ प्रतिशत जनताले मात्र वित्तीय सेवा प्रयोग गरेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार १५ लाख ४२ हजार ७१७ जनसंख्या रहेको यस प्रदेशका ५ लाख ८४ हजार ६१६ जनाले मात्र निक्षेप खाता खोलेका छन् ।

 

गण्डकी र प्रदेश नं. ३ मा भने एक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता रहेको  छ । प्रदेश ३ मा कूल जनसंख्या भन्दा खाता निक्षेप संख्या १६७ प्रतिशतले बढी  रहेको छ । ५४ लाख ७ हजार १८३ जनसंख्या रहेको यस प्रदेशमा ९० लाख २९ हजार ९९५ वटा निक्षेप खाता रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा पनि जनसंख्याभन्दा निक्षेप खाताको संख्या ४ लाखभन्दा बढी छ ।

 

कुन स्थानीय तहमा बस्नेको खाता संख्या कति

 

सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको तुलनामा ग्रामिण क्षेत्रमा बसोबास गर्नेको खाता संख्या अत्यन्त न्यून रहेको छ । महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने जनसंख्या भन्दा बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता संख्या धेरै । यसको अर्थ एक व्यक्तिको एकभन्दा बढी वित्तीय संस्थामा खाता रहेको छ भने गाउँपालिकमा बस्ने व्यक्तिहरुमा १०० जना मध्ये १९ जनाको मात्र वित्तीय संस्थामा खाता रहेको छ ।

 

राष्ट्र बैंकको तथ्यांक अनुसार महानगरपालिका क्षेत्रभित्र बस्ने व्यक्तिको औसतमा तीन भन्दा बढी अर्थात जनसंख्याभन्दा ३३३% ले खाता संख्या धेरै रहेको छ । ६ वटा महानगरभित्र बसोबास गर्ने २३ लाख ९९ हजार ४५७ जनाको वित्तीय संस्थामा ७९ लाख ८१ हजार ९८५ वटा खाता रहेको छ ।

 

यस्तै, ११ वटा उपमहानगरपालिका भित्र बस्ने १५ लाख ५६ हजार ५१३ जनाको २८ लाख ५२ हजार ९ वटा खाता रहेको छ । औषतमा एक व्यक्तिको एक भन्दा बढी खाता रहेका छन् । २७६ वटा नगरपालीका क्षेत्रभित्र बस्ने १ करोड २३ लाख ७५ हजार ४८२ जनाको १ करोड ९८ हजार ५३६ वटा निक्षेप खाता रहेका छन् ।

 

यस्तै, ४६० गाउँपालिकाका ९६ लाख ५ हजार २४५ जनामध्ये १८ लाख १३ हजार ५३९ जनाको बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता रहेको छ । यस क्षेत्रमा बस्ने १९ प्रतिशत अर्थात १ सय जनामा १९ जनाको मात्रै वित्तीय संस्थामा निक्षेप खाता रहेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ ।

 

ऋण खाता संख्या साढे १४ लाख

 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या पनि वर्षेनी बढ्दै गएको छ । पछिल्लो ५ वर्षमा मात्र ऋण लिनेको संख्या ४ लाखभन्दा बढीले बढेका छन् । राष्ट्र बैंकको अनुसार २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा ऋण खाता संख्या १४ लाख ३९ हजार ६४८ पुगेको छ । आर्थिक वर्ष २०७१/७२ मा बैंक तथा वित्तीय संस्थाका ऋण खाता संख्या १० लाख ३३ हजार ३८४ रहेको थियो ।

 

ऋण लिएर नतिर्नेको संख्या पनि वर्षेनी बढ्दै

 

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेको संख्या पनि वर्षेनी बढ्दै  गएको छ । आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्म ८ हजार ६ सय २० जना ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै २ हजार ८४२ जना  कालोसूचीमा परेको छन्  । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११२.८८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको  ऋण नतिर्ने ऋणीको संख्या १ हजार ३३५ थियो ।

 

त्यस्तै, राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा कालो सूचीमा पर्ने ऋणीको संख्या ९ सय ३०, आर्थिक वर्ष २०७२/७३ मा ८ सय ३३ र आर्थिक वर्ष २०७३/७४ मा ८ सय ३४ जना रहेका थियो ।

 

वित्तीय संस्थाको शाखा संख्या साढे  ८ हजार पुग्यो

 

एक वर्षको अवधिमा बैंक तथा वित्ती संस्थाको शाखा संख्या २ हजारले बढेका छन् । २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ६८६ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । २०७५ असार मसान्तमा भने बैंक  तथा वित्तीय संस्थाको शाखा संख्या ६ हजार ६५१ रहेको थियो ।

 

वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार ५८५ पुगेको छ ।  विकास बैंकको १ हजार २६७, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३ हजार ६२९ शाखा रहेका छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गरेको एटीएम काउन्टरको संख्या ३ हजार ३४७ पुगेका छन् । जसमा वाणिज्य बैंकका २ हजार ९९२, विकास बैंकको  ३०८ र फाइनान्स कम्पनीले ४७ वटा एटीएम सञ्चालनमा ल्याएका छन् । हाल वित्तीय संस्थाको एक शाखाबाट औषतमा २ हजार ४११ जनाले बैंकिङ्ग तथा वित्तीय सेवा प्राप्त गर्दछन् ।

 

देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये अझै १८ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ को असार मसान्त सम्ममा ७३५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा पुग्नु पर्ने नीति लागू गराएको भएपनि अहिलेसम्म त्यो पूरा हुन सकेको छैन ।

 

मोबाइल बैकिङ्ग प्रयोगकर्ता ८० लाख पुगे

 

बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको प्रविधिको प्रयोग गरी सेवा लिने उपभोक्ताको संख्या बढ्दै गएको छ । राष्ट्र बैंकको अनुसार असार मसान्तसम्ममा मोबाइल बैकिङ्ग प्रयोगकर्ता ७९ लाख ८०हजार पुगेका छन् ।

 

 

यस्तै, इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या ९ लाख १० हजार पुगेका छन् । बैंक  तथा वित्तीय संस्थाहरुले ग्राहकलाई जारी गरेका डेबिट कार्डको संख्या ६६ लाख २५ हजार र क्रेडिट कार्डको संख्या १ लाख २७ हजार पुगेको छ ।

 

७७ लाख जनता अझै खाता विहीन

 

२९.४० प्रतिशत नेपालीको अझै कुनै पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप  खाता छैन । असार मसान्तसम्ममा ७७ लाख २८ हजार नेपाली खाता विहीन रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

 

वित्तीय पहुँच नपुगेका स्थानीय तह र वित्तीय पहुँच पुगेका भनिएका कर्णाली, सुदूरपश्चिम र २ नं. प्रदेशका आधाभन्दा बढी जनताको बैंक तथा वित्ती संस्थामा खाता नरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

देश चलाउन रेमिटेन्स पठाउने नेपालीको विदेशमा ज्यान जाने क्रम बढ्दो, १० वर्षमा साढे ७ हजारको मृत्यु Read Previous

देश चलाउन रेमिटेन्स पठाउने नेपालीको विदेशमा ज्यान जाने क्रम बढ्दो, १० वर्षमा साढे ७ हजारको मृत्यु

अब एटिएमबाट एकदिनमा ६० हजार मात्र झिक्न मिल्ने Read Next

अब एटिएमबाट एकदिनमा ६० हजार मात्र झिक्न मिल्ने