काठमाडौं । पछिल्लो दुई वर्षको अवधिमा देशभरका आधाबढी इँटा उद्योग बन्द भएका छन् । कोरोना महामारीका कारण भएको लकडाउनले धरासायी बनेका ६५० बढी इँटा उद्योग बन्द भएका हुन् ।
नेपाल इँटा उद्योग महासंघका अनुसार कोरोना अघि १ हजार २५० इँटा उद्योग सांलनमा रहेकामा हाल करिब ६०० हाराहारीमा मात्र संचालनमा रहेका छन् । दुई वर्षको अवधिमा झन्डै ६५० इँटा उद्योग बन्द भएको महासंघले जनाएको छ ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले कोरोना यता ५० प्रतिशत बढी उद्योग बन्द भएको बताए । कोरोनाले गर्दा झन्डै आधा बढी इँटा उद्योगी पलायन भएको अनुमान छ । अहिले तथ्यांक संकलन भइरहेको छ । एकीन तथ्यांक आइपुगेको छैन । ६५० हाराहारी उद्योग बन्द भएको बताइएको छ, उनले चाणक्य पोष्टसँग भने ।
कोरोनाले गर्दा लामो समय इँटा उद्योग बन्द भएपछि धेरै व्यवसायी ऋणमा डुबेको उनी बताउँछन् । उद्योग घाटामा जानु, कामदार अभाव, उद्योगीहरुले विकल्पमा अन्य पेशामा लागेका कारण इँटा उद्योग बन्द भएका हुन् ।
इँटा उद्योगको अवस्थाबारे अहिले विवरण संकलन भइरहेको चित्रकारले जानकारी दिए । ‘कति इँटा उद्योग संचालनमा आउन सक्छन्, कति बन्द भए, कुन उद्योगको अवस्था कस्तो छ, हामी अहिले त्यसको सम्पूर्ण विवरण संकलन गर्ने क्रममा छौं, यो महिनाको अन्तिम सम्ममा सबै तथ्यांक प्राप्त हुन्छ,’ चित्रकार भन्छन् ।
इँटा उद्योग बन्द हुँदा ठूलो संख्यामा रोजगारी गुमेको उनले बताए । ‘देशभरका इँटा उद्योगमा ३ लाख व्यक्तिले रोजगारी पाएका थिए, पछिल्लो समय विभिन्न कारणले आधा भन्दा धेरै इँटा उद्योग नै बन्द नै भए, उद्योग नै बन्द भएपछि रोजगारी धेरैले गुमाए,’ अध्यक्ष चित्रकारले भने ।
कोरोना अघि इँटा उद्योगमा झन्डै ३ लाख जनाले रोजगारी पाएका थिए । सोमध्ये २ लाख भारतीय र १ लाख नेपाली कामदार रहेका थिए । आधाबढी उद्योग बन्द भए पनि अहिले इँटा उद्योगमा कामदार अभाव भएको बताइएको छ । कोरोनाका कारण घर गएका भारतीय कामदार नफर्किँदा अहिले जनशक्ति अभाव भएको इँटा उद्योगीहरु बताउँछन् ।
माग धान्न मुस्किल, मूल्य बढ्ने
पछिल्लो समय बजारमा इँटाको अभाव देखिन थालेको छ । कोरोनाका कारण आधा बढी उद्योग बन्द भएको, संचालनमा रहेका उद्योगले पनि माग अनुसार इँटाको उत्पादन गर्न नसकेकाले निर्माणको सिजनमै इँटाको अभाव भएको हो ।
हिउँद लागेसँगै भौतिक पूर्वाधार निर्माणको सिजन सुरु भएको छ । जसले बजारमा इँटासहित निर्माण सामग्रीको माग उच्च छ । माग उच्च भए पनि गत वर्ष उत्पादन नै कम भएकाले अहिले बजारमा इँटाको अभाव हुन थालेको उद्योगीहरु बताउँछन् ।
घर भवन बनाउने सिजन सुरु भएसँगै बजारमा इँटाको माग बढेको छ । तर, बजारमा छानीछानी इँटा पाउने अवस्था नरहेको र उद्योगमा जस्ता छन् त्यस्तै इँटा किन्नु पर्ने अवस्था रहेको बताइएको छ ।
आधा बढी उद्योग बन्द भएपछि संचालनमा रहेका उद्योगले मात्रै माग धान्न मुस्किल हुने देखिएको छ । नेपालमा वार्षिक ३ अर्ब पिस इँटा खपत हुने गरेको छ । हाल संचालनमा रहेका उद्योगले मात्र सो संख्यामा इँटा उत्पादन गर्न नसक्ने हुँदा बजारमा क्रमशः अभाव देखिन थालेको छ ।
बजारमा इँटाको अभाव हुन थालेपछि मूल्य बढ्ने देखिएको छ । बजारमा पुरानो स्टक इँटा रहुन्जेल मूल्य नबढेपनि त्यसपछि भने मूल्य बढ्ने उद्योगीहरुको भनाइ छ । पछिल्लो समय कोइलाको मूल्य झन्डै दोब्बरले बढेकोले इँटा उत्पादन लागत पनि बढ्ने भएकाले मूल्य पनि बढ्ने बताइएको छ ।