काठमाडौं । चीनबाट आयात हुने अधिकांश सामानको मूल्य बढेको छ । विशेषगरी रसुवागढी नाकाबाट आयात हुने सामानको ढुवानी लागत बढ्दा मूल्य बढेको हो ।
चीनले सामान ढुवानीको लागि नेपाली गाडीहरु केरुङसम्म जान नदिँदा ढुवानी खर्च बढेको हो । ढुवानी लागत बढेसँगै सो नाका हुँदै आयात हुने लत्ताकपडा, विद्युतीय सामग्री, स्टेशनरी लगायत वस्तुको भाउ महँगिएको हो ।
नेपालमा कोरोना महामारी सुरु भएदेखिनै केरुङ प्रवेशमा रोेक लगाएको थियो । हाल चिनियाँ व्यापारीहरुले केरुङसम्म सामान ल्याउने भए पनि त्यहाँबाट नेपाली व्यापारीहरुले रसुवासम्मको ढुवानी खर्च आफैले बेहोर्नुपरेको छ ।
अहिले चीनले कोटा सिष्टममा दैनिक ७ देखि ९ वटा कन्टेनर पठाइरहेको छ । हाल ढुवानी खर्च प्रति सिरेम (१ घनमिटर)को १५ हजार रुपैयाँसम्म ढुवानी भाडा लिने गरेको व्यापारीहरु बताउँछन् । चिनियाँ व्यापारीहरुले केरुङमै सामान छाड्नेगरेपछि स्थानीयहरुले रसुवासम्म भाडा लिएर ढुवानी गर्ने गरेको हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।
‘पहिले चिनियाँ व्यापारीहरुले सीमानासम्म सामान ल्याइदिने गरेका थिए,’ उनी भन्छन् ‘अहिले स्थानीयहरुले सामान ढुवाननी गरेको प्रति सिरेम १५ हजार रुपैयाँँसम्म लिन थालेका छन् । यसले लागत ह्वात्तै बढाएको छ । व्यापारीले ल्याएको सामान महँगिएको छ ।’ ढुवानी लागतकै कारण चिनियाँ नाकाबाट आयात भएका सामानको मूल्य ५० प्रतिशतसम्म वृद्धि भएको उनको भनाइ छ ।
स्थानीय प्रशासन लगायत मानिसहरुले कामहोस् भनेर चीनबाट आएको गाडी सिधै नेपाल नपठाएर रोकेको उनले बताए । स्थानीयहरुले सामान ढुवानी गर्ने काम पाउने भएपछि चिनियाँहरुले यस्तो गर्दा ढुवानी खर्च बढेको उनी बताउँछन ।
सहजरुपमा सामान ढुवानी नहुँदा त्यसको प्रभाव मूल्यवृद्धिमा पर्ने व्यापारीहरु बताउँछन् । चिनियाँ स्थानीयहरु सामान ढुवानीको लागि सिन्डिकेट लादेको उनीहरुको भनाइ छ । नाकासम्म गाडी आउन नदिँदा ४–५ महिनासम्म गोदाममै सामान अड्किएको उपाध्यक्ष श्रेष्ठले बताए ।
‘नाकासम्म गाडी आउँन दिँदैनन्,गाडी नआएपछि ४–५ महिनासम्म गोदाममै सामान अड्किएको छ,’ उनले भने, ‘त्यसमा व्यापारीहरुको लागत, ब्याज समेत बढ्ने भएकाले महंगो पैसा तिरेर भएपनि पहुँचवालाहरुले सामान ल्याइरहेका छन् । यसले मूल्य वृद्धि त पक्कै हुन्छ नै ।’ पहुँचवाला व्यापारीहरुले महंगो मूल्य तिरेरै भएपनि सामान ढुवानी गरिहेको उनले बताए । अझै ३०० बढी कन्टेनर गाडीको सामान केरुङको गोदाममै थन्किएको उनको भनाइ छ ।
मूल्य वृद्धि भएको थाहा छैन
यता, रसुवा भन्सार कार्यालय भने सामान ढुवानीको मूल्य वृद्धि आधिकारिक रूपमा जानकारीमा नआएको बताउँछ । चिनियाँहरूले केरूङमै सामान छाड्ने भएकाले ढुवानी लागत बढेको भन्ने कुरा व्यापारीहरूबाटै थाहा पाएको रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए ।
‘चीनबाट सीमित मात्र कन्टेनरहरु आउने र केरुङमै सामान छोड्ने भएकाले ढुवानी खर्च बढेको भन्ने व्यापारीहरुबाटै गुनासो सुनेका हौँ,’ उनले भने, ‘चिनियाँ पक्षबाट प्राइभेट एजेन्टहरु हुने गरेकोले हामीलाई जानकारी गराउँदैनन् ।’
चीनको अघोषित नाकाबन्दी, निर्यात शून्य
चिनियाँहरूले कोटा सिष्टम लागू गरी सामान नेपाल पठाएपनि नेपालबाट भने निर्यात गर्न दिएको छैन् । हाल चीनबाट एकतर्फी रूपमा सामानहरू आयात मात्रै भइरहेको छ । यसले नेपालको व्यापार घाटामा थप सहयोग पुर्याएको छ ।
कोरोना प्रोटोकल पालनाको नाममा चीनले अघोषित रूपमा नाकाबन्दी जस्तै गरेको व्यापारीहरू बताउँछन् । ‘कोभिडकको कारण देखाएर चिनियाँहरूले अहिलेसम्म निर्यात बन्द गरेको छ,’ उपाध्यक्ष श्रेष्ठले चाणक्य पोष्टसँग भने, ‘उनीहरुको सामान हामीले ल्याइदिनुपर्ने, हाम्रो सामान केही निकासी गर्न नदिने ।यस्तो भएपछि व्यापार घाटा आफै बढ्यो, केही मात्रामा सामान आए पनि चीनको अघोषित नाकाबन्दी जस्तै छ ।’
नेपालमा कोभिडको दोस्रो महामारी सुरू भएपछि २०७८ को वैशाख देखि नै लकडाउन गरिएको थियो । लकडाउन सुरू भएदेखि चिनियाँ पक्षले आवतजावतमा सहज वातावरण नगर्दा नेपाली वस्तुहरूको निर्यात शून्य अवस्थामा रहेको छ ।
कोभिडको प्रोटोकल देखाउँदै चिनियाँहरुले यहाँबाट सामानहरु निकासी हुन नदिएको भन्सार अधिकृत मैनाली बताउँछन् । ‘कहिलेदेखि निकासी खुल्ने भन्ने निश्चित छैन् भन्सार कार्यालयले वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभागलाई जानकारी गराइसकेको छ ,’ उनले भने ।
चीनले वास्ता नगर्दा समस्या
नेपाली सामानहरू निर्यात गर्न र कन्टेनरमा लगाइएको कोटा सिष्टम हटाउन बारम्बार पहल गर्दा समेत चीनको वेवास्ताका कारण समस्या समाधान हुन नसकेको अधिकारीहरू बताउँछन् । कोभिड प्रोटोकलकै कारण देखाएर चीनले निकासी रोकेको र सामान आयातमा समेत असहज भएको उनीहरूको भनाइ छ ।
वाणिज्य मन्त्रालयमा पटकपटक बैठक बसेर कुरा राखेको र चिनियाँ पक्षले वास्ता नगर्दा यस्तो समस्या आएको उपाध्यक्ष श्रेष्ठले बताए ।