सौन्दर्य व्यवसायमा छाएकी सुस्मा महरा, जसले खोल्दैछिन् नेपालमै कस्मेटिक उद्योग

काठमाडौं । काठमाडौंको मुटु सुन्धारास्थित काठमाडौं मलमा रहेको ‘स्कीन केयर फेसियल हाउस’ थाहा नपाउने सुन्दरताका पारखीहरु सायदै कमै होलान् । के युवायुवती, के बृद्धबृद्धा, के महिला के पुरुष । सबै आफ्नो सुन्दरता निर्खान फेसियल हाउसमा भीड लाग्ने गरेको देखिन्छ ।

 

उक्त फेसियल हाउसकी संचालिका हुन् सुस्मा महरा । विगत डेढ दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी उनले ब्यूटिपार्लर व्यसायलाई आकर्षित पेशाको रुपमा बदलेकी छिन् भने धेरैको प्रेरणाको स्रोत समेत बनेकी छिन् ।

 

उनले ब्यूटीपार्लरलाई कर्पोरेट शैलीमा संचालन गरेकी छिन् । १३ वर्ष अघि ४० लाख लगानीमा सुरू भएको उनको स्कीन केयर फेसिएल हाउसमा हाल २ करोड माथिको लगानी भइसकेको छ । ‘सुरूमा काठमाडौं महलको चार तलामा ३०० स्वायर फिटबाट फेसिएल हाउस सुरू गरेको थिएँ, अहिले क्षेत्रफल बढाएर ५ हजार स्वायरफिट पुर्याएको छु । ग्राहकको फ्लो अनुसार एरिया बढाउनु आवश्यक पनि थियो,’ उनी भन्छिन् ।

काठमाडौं मलबाट व्यवसाय सुरू गरेकी उनले आफ्नो सेवा विस्तार गरी देशका विभिन्न ८ ठाउँमा पुर्याएकी थिइन् । तर, कोरोनाको कारण ३ वटा फेसिएल हाउस बन्द भए पनि हाल ५ ठाउँमा संचालनमा छन् । कोरोनका कारण झापा, बागबजार र बौद्धको फेसिएल हाउस बन्द भए । हाल काठमाडौं मल (हेड अफिस), सीटीसी मल, चाबहिल गणेशस्थान,पोखरा ट्रेड महल र सुर्खेतको न्यूरोडमा भने संचालन भइरहेको महरा बताउँछिन् । गत हप्ता उनले फेसिएल हाउसको १४ औं वार्षिउत्सव समेत मनाइन् ।

 

आफूले हालसम्म ५ हजार बढी विद्यार्थीहरुलाई सोन्दर्यकला सिकाइसकेको महरा बताउँछिन् । साथै, आफूले प्रशिक्षण दिएका विद्यार्थीमध्येबाट आर्थिक अवस्था कमजोर भएका ६० जनालाई रोजगारी समेत प्रदान गरेकिछिन् ।

 

कस्मेटिक उद्योग खोल्ने तयारी

 

फेसियल व्यवसायमा आक्रमक लगानी र शाखा विस्तार गरेकी महरा अहिले आफै कस्मेटिक उद्योग खोल्ने तयारीमा जुटेकी छिन् । झन्डै डेढदशक लामो कामको अनुभव र यस क्षेत्रको भविष्य देखेर आफू नेपालै कस्मेटिक उद्योग खोल्ने तयारीमा जुटेको महरा बताउँछिन् ।

‘करोडौं मूल्य खर्चेर विदेशबाट कस्मेटिक सामान आयात गर्न बानी परेका हामीलाई नेपालमै उद्योग खोल्न सम्भव छ र भन्ने लाग्ला । यो कुरा मात्र होइन अहिलेको आवश्यकता पनि हो,’ उनी भन्छिन, ‘मेरो अनुभवले नेपालमा कस्मेटिक उद्योगको भविष्य राम्रो देखेको छु । बजार ठूलो छ । यिनै आधारले मलाई कस्मेटिक उद्योग खोल्न प्रेरित गरेको छ । अब छिट्टै संचालनमा ल्याउँछु ।’

 

विदेशबाट कस्मेटिक सामान आयात गर्दा कर धेरै तिर्नु पर्ने भएकाले नेपालमा ती सामान महँगो हुने गरेको उनी बताउँछिन् । नेपालमै उद्योग खोलेर सामान उत्पादन गर्न सके कस्मेटिक सामानको मूल्य सस्तिने र प्रयोग समेत बढ्ने उनको विश्वास छ । ‘अहिले करका कारण हामीले प्रयोग गर्ने कस्मेटिक सामानको मूल्य महँगो पर्ने गरेको छ । कहिले समयमै सामान आइपुग्दैन । हामी आफैंले उद्योग खोल्न सके स्वदेशमै सस्तो, सुलभ र गुणस्तरीय सामान प्रयोग गर्न पाउँछौं,’ उनी भन्छिन् ।

 

नेमालमै कस्मेटिक उद्योग खोल्न अग्रसर रहेकी महराले उद्योग विभागमा दर्ता समेत गराइसकेकी छिन् । ‘मैले उद्योग दर्ता गरिसकेको छु । अरु काम पनि भइरहेका छन् । हालसम्म करिब ७० प्रतिशत काम सकिएको छ । अब छिट्टै उद्योग संचालनमा ल्याउने छु,’ महराले भनिन् ।

 

काठमाडौं महानगरभित्र उद्योग संचालन हुने उनले जानकारी दिइन् । ‘अन्य उद्योग जस्तो कस्मेटिक उद्योगको लागि ठूलो ठाउँ आवश्यक पर्दैन । थोरै ठाउँमा पनि संचालन गर्न सकिने भएकाले काठमाडौं भित्रै उद्योग खोल्न लागेकी हुँ,’ उनी भन्छिन् ।

 

 

फेसियलका सामान उत्पादन गर्ने 

 

कस्मेटिक भित्र धेरै आइटम पर्ने भएता पनि आफूले थोरै आइटम मात्र प्रोडक्टशन गर्न लागेको उनी बताउँछिन् । ‘कस्मेटिक्स भित्र धेरै आइटम पर्छन्, सबै एकै ठाउँमा उत्पादन गर्न सम्भव हुँदैन । मेरो उद्योगमा फेसियल टाइपका २/३ वटा आइटम प्रोडक्टशन गर्छु । कुन-कुन भन्ने टुंगो भने भएको छैन,’ उनले भनिन् ।

 

सरकारले कस्मेटिक उद्योगको लागि सहुलियता प्रदान गरेर अघि बढ्न सहयोग गर्नुपर्ने बताउँछिन् । ‘सरकारले कस्मेटिक उद्योग खोल्नका लागि सहुलियत कर्जा, कच्चा पदार्थ आयातमा सहज लगायत सहयोग गर्नुपर्छ,’ उनी भन्छिन् ।

 

‘उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्छ’

 

सौन्दर्य क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आएकी महरा आफूले उत्पादन गर्ने वस्तुले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने बताउँछिन् । ‘हामी सामान उत्पादन गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ, त्यसमा कम्परमाइज गर्न हुन्न । उच्च गुणस्तरी सामान बनाउनुपर्छ । विदेशी सामानसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्ने नै हुन्न । हाम्रा प्रोडक्टले विदेशी वस्तुलाई प्रतिस्थापन गर्न सक्छन्/सक्ने बनाउनुपर्छ,’ उनी भन्छिन् ।

 

विदेशबाट आयात हुने अधिकांश कस्मेटिक सामान गुणस्तरीयभन्दा पनि बाहिर लुक्स मात्र आकर्षक हुने महरा बताउँछिन् । ‘बाह्य देशका उत्पादनलाई बाहिरि सुन्दरताले छोपिएको हुन्छ, आकर्षक लुक्स भएपछि भित्र कस्तो छ याद नगरी हामी राम्रो भनेर किन्छौं, तर हाम्रो देशमा प्याकेजिङका लागि बट्टा, स्टिकर लगायत विदेशबाटै किनेर ल्याउनुपर्ने बाध्यता छ । हामीले पनि गुणस्तरसँगै फिनसिङ र प्याकेजिङमा ध्यान पुर्याउन सक्नुपर्छ । यसले प्रतिस्पर्धा गर्न सजिलो बनाउँछ,’ उनी भन्छिन् । कस्मेटिक सामान उत्पादनका लागि स्वदेशमा उपलब्ध नहुने कच्चा पदार्थ भने विदेशबाटै ल्याउनुपर्ने उनको भनाइ छ ।

 

भित्री र बाहिरी दुवै सुन्दरता आवश्यक

मानिस भित्री र बाहिरी दुवै रुपमा सुन्दरता हुनुपर्ने महरा बताउँछिन् । ‘भन्नलाई मान्छेको रुप जस्तो भएता पनि मन सफा हुनुपर्छ भनिन्छ । तर हरेक मान्छेले देख्ने भनेकै मान्छेको बाहिरी सुन्दरता हो । उसको रुप हो । भित्री रुप हेर्न त कसले कसको सक्छ र ?,’ उनी भन्छिन्, ‘यसो भन्दैमा बाहिरी रुप मात्र सुन्दर भएर हुँदैन । मानिसको बानि, बेहोरा, भित्री मन सबै सफा र सुन्दर हुनुपर्छ । भित्री रुप मेकअप गरेर सुन्दर बनाउन नसके पनि बाहिरी सुन्दर बनाउन सकिन्छ । र, आफू सुहाउँदो मेकअप गर्नु पनि पर्छ ।’ अझ पछिल्लो समय बिनामेकअपको मान्छेलाई हेर्ने नजर नै फरक रहेको समेत उनको अनुभव छ ।

 

पुरुषका लागि पनि उत्तिकै जरुरी छ मेकअप 

 

प्रायः भन्ने गरिन्छ मेकअप महिलाका लागि मात्र आवश्यक छ । तर, महारा भने पुरुष र महिला दुवैका लागि मेकअप आवश्यक रहेको बताउँछिन् । ‘मेकअपले अनुहारमा सुन्दरता बढाउने हो । चाहे महिला होस् चाहे पुरुष, सबैले आफू सुन्दर बनूँ भन्ने हुन्छ । महिलाहरु देखिने गरी नै मेकअप गर्छन । पुरुष त्यसरी गर्दैनन् । परक यति हो । यो दुवैका लागि उत्तिनै आवश्यक छ ।’ आफ्नो फेसियल हाउमा महिलापुरुष दुवै खाले ग्राहक आउने उनको भनाइ छ ।

 

नेप्सेमा उच्च अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

एकैदिन १४०० बढी हवाई उडान रद्द Read Next

एकैदिन १४०० बढी हवाई उडान रद्द