नेप्सेमा उच्च अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको करेक्शन आएको छ । पछिल्लो ४ दिनमै २३० अंकले बढेको बजारमा आज प्रफिट बुक गर्ने हाबी हुँदा दोहोरो अंकको करेक्शन आएको हो ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४३ करोडले बढेर साढे ५ अर्ब नाघेको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा आइपुगेको छ । आज २३८ कम्पनीको ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह पनि ४.६२ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २३८ कम्पनीमध्ये जम्मा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट २६ अर्ब र नेपाल लाइफ झन्डै २५ करोडको कारोबार सहित धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रो ८.२१, सानिमा जनरल र जानकी फाइनान्स ७.१७, गुडविल फाइनान्स, पाँचथर पावर, नेपाल फाइनान्स, नेशनल हाइड्रो, युनाइटेड इदी मार्दी, शिवश्री, हाइड्रो, नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, आँखुखोला र एभरेष्ट इन्स्योरेन्सको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सोलुखोला दूधकोशी हाइड्रोपावरको पाइप पड्किँदा दुई इन्जिनीयरको मृत्यु Read Previous

सोलुखोला दूधकोशी हाइड्रोपावरको पाइप पड्किँदा दुई इन्जिनीयरको मृत्यु

सौन्दर्य व्यवसायमा छाएकी सुस्मा महरा, जसले खोल्दैछिन् नेपालमै कस्मेटिक उद्योग Read Next

सौन्दर्य व्यवसायमा छाएकी सुस्मा महरा, जसले खोल्दैछिन् नेपालमै कस्मेटिक उद्योग