काठमाडौं । एनआइसी एशिया बैंकले २२ औं वार्षिक साधारण सभा असोज १० गतेको लागि बोलाएको छ । योसँगै एनआइसी एसिया यस वर्ष साधारण सभा बोलाउने पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकको साधरण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि एनआइसीले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज मिति तय गरेको छ । यसर्थ, भदौ २८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्नेछन् ।
एनआइसीले साधरण सभामा २१.०५%लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ११.०५% नगद कूल २१.०५% लाभांश दिन घोषणा गरिसकेको छ ।
यस्तै सभामा कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव लैजाने भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।