तरकारीको मूल्य ७३% सम्म घट्यो, ठगिनु होला है

काठमाडौं । कृषि प्रधान देशको रुपमा परिचित हाम्रो देश नेपालमा दैनिक तरकारीको मूल्य घटबढ भइनै राख्छ । अझ भन्ने हो भने विशेष चाडपर्वको बेला तरकारीको मूल्य आकाशिने गरेका छन् भने चाडपर्व सकिना साथ तरकारीको मूल्य ह्वातै घट्ने गरेका छन् ।

 

व्यापारीहरुले समेत चाडवाडको मौका छोपेर तरकारीको मूल्य बढाउने गरेका छन् । यसो गर्दा सधैं उपभोक्ता मारमा पर्ने गरेका छन् । यस विषयमा अहिलेसम्म सरकारले केही गर्न सकेको छैन ।

 

भान्छामा प्रयोग हुने दैनिक उपभोग्य कृषि उपजहरुमा यसरी चाडवाडमा विशेष गरी मूल्य बढ्दा उपभोक्ता चर्काे मूल्य वृद्धि व्यहोर्नु परेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार चाडपर्वको बेला तरकारीको मूल्यमा न्यूनतम ११ प्रतिशतदेखि अधिकतम ७३ प्रतिशतसम्म उतरचडाव हुने गरेको छ ।

 

साउन १ गतेसम्म कालिमाटी बजारमा बोडीको थोक (होलसेल) मूल्य १ सय १५ रुपैयाँ केजी रहेको थियो । तीज सकिए लगतै बोडीको मूल्य घट्दोक्रममा रहेको छ । बिहीबार बिहान बोडीको थोक मूल्य प्रतिकेजी ३० रुपैयाँ रहेको थियो । तथ्यांक अनुसार बोडीको मूल्य ७३ प्रतिशतले घटेको हो । खुद्रा बजारमा बोडीको मूल्य १ सय ४० रुपैयाँबाट ५५ रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

 

भिण्डीको साउन १ गते कालिमाटी बजारमा होलसेल मूल्य ९८ रुपैयाँ रहेको थियो भने आजसम्म आइपुग्दा यसकोे मूल्य ३३ रुपैयाँ प्रतिकेजी रहेको छ । डेढ महिनाको अवधिमा यसको मूल्य ६६ प्रतिशतले घटेको छ । खुद्रा बजारमा भिण्डीको मूल्य १ सय २५ रुपैयाँ प्रतिकेजी थियो भने आज ६५ रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

 

लौकाको मूल्य साउन १ गते ७८ रुपैयाँ प्रतिकेजी होलसेलमा विक्री भइरहेको थियो । आजसम्म आइपुग्दा यसकोे मूल्य होलसेल बजारमा प्रतिकेजी २८ रुपैयाँमा झरेको छ । खुद्रा बजारमा लौकाको मूल्य ९५ रुपैयाँ प्रतिकेजीबाट ५५ रुपैयाँमा आइपुगेको छ ।

घिउ सिमी र मकै बोडीमा भने ६३ प्रतिशतसम्म मूल्य गिरावट आएको छ । साउन १ गतेसम्म कालिमाटी बजामा घिउ सिमी प्रतिकेजी १ सय १५ रुपैयाँमा थोक बजारमा विक्री भइरहेको थियो । आज घिउ सिमीको मूल्य घटेर प्रतिकेजी ४२ रुपैयाँ पुगेको छ ।खुद्रा बजारमा घिउ सिमीको मूल्य साउन पहिलो सातामा प्रतिकेजी १ सय ४५ रुपैयाँ रहेको थियो भने आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

यस्तै, मकै बोडी १ सय ५ केजी बाट घटेर ३८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । कालिमाटीको थोक मूल्यमा मकै बोडीको मूल्य ६३ प्रतिशतले घटेको हो । खुद्रा बजारमा यसको मूल्य १ सय ४० रुपैयाँ प्रतिकेजीबाट ६५ रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

 

भन्टा र घिरौलाको मूल्य ५७ पतिशतले घटेको छ । कालिमाटीको थोक बजारमा साउन १ गतेसम्ममा भन्टा र घिरौला प्रतिकेजी ७८ रुपैयाँमा विक्री भइरहेको थियो भने हाल ३३ रुपैयाँ प्रतिकेजीसम्ममा झरेको छ । खुद्रा बजारमा भन्टा र घिरौला १ सय ५ बाट झरेर ५५ रुपैयाँमा विक्री भइरहेको छ ।

 

गोलभेडा र स्कूसको होलसेल मूल्य ५४ पतिशतले घटेको छ । गोलभेडाको होलसेल मूल्य साउन १ गते ९८ रुपैयाँ प्रतिकेजी रहेको थियो भने आज आईपुग्दा गोलभेडा प्रतिकेजी ४५ रुपैयाँमा झरेको छ । खुद्रा बजारमा गोलभेडा १ सय २५ बाट ७५ रुपैयाँमा विक्री भइरहेको कालिमाी बजारले जानकारी दिएको छ । स्कूसको होलसेल मूल्य ४८ रुपैयाँबाट झरेर २२ रुपैयाँ प्रतिकेजीपुगेको छ । खुद्रा बजारमा स्कूस ६५ देखि ४५ रुपैयाँमा झरेको छ ।

 

हरियो प्याज साउन १ गते सम्म १ सय ३५ प्रतिकेजी रहेको थियो भने भदौ १९ गतेसम्म आईपुग्दा ६५ रुपैयाँ प्रतिकेजीमा झरेको छ । हरियो प्याजको मूल्य ५१ प्रतिशतले घटेको हो । खुद्रा बजारमा हरियो प्याकज साउन पहिलो साता १ सय ९० रुपैयाँ केजीसम्म थियो भने हाल ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

तितोकरेलाको थोक मूल्य कालिमाटी बजारमा प्रतिकेजी ५८ बाट घटेर ३३ रुपैयाँमा झरेको छ । खुद्रा बजारमा तितो करेला ८५ रुपैयाँ प्रतिकेजीबाट ५५ रुपैयाँमा झरेको हो ।

 

चिचिण्डोको मूल्य कालिमाटीको होलसेल बजारमा प्रतिकेजी ४८ रुपैयाँ थियो भने हाल २८ रुपैयाँमा झरेको छ । खुद्रा बजारमा चिचिण्डो प्रतिकेजी ७५ बाट ४५ रुपैयाँ मा झरेको छ ।

 

हरियो फर्सि होलसेल बजारमा ५८ रुपैयाँबाट २८ रुपैयाँ झरेको छ । खुद्रा बजारमा हरियो फर्सिको मूल्य ८५ रुपैयाँ पतिकेजी साउन सम्ममा विक्री भइरहेको थियो भने आज ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

मूलाको होसेल मूल्य ५८ रुपैयाँबाट ३८ रुपैयाँ प्रतिकेजीमा झरेको छ । ख्द्रा बजारमा मूला प्रतिकेजी ८५ रुपैयाँबाट ६५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

नयाँ सहायता व्यवस्थापन सूचना प्रणाली प्रयोगको थालनी Read Previous

नयाँ सहायता व्यवस्थापन सूचना प्रणाली प्रयोगको थालनी

एनआइसी एसियाले असोज १० मा डाक्यो साधारण सभा, कहिले हुँदैछ  बुक क्लोज Read Next

एनआइसी एसियाले असोज १० मा डाक्यो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज