काठमाडौं। चिनियाँहरुले प्रणाली ह्याक गरेर एटिएमबाट पैसा चोरी भएको घटनाको अध्ययन गर्न बनेको समितिले राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ।
भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समितिले सम्भावित जोखिम न्यूनीकरणको लागि अल्पकालीन तथा दीर्घकालीन गरी १७ बुँदे सुझाव पेश गरेको छ ।
समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी भएका म्याग्नेटिक स्ट्रिप कार्ड (नन् चिप) तीन महिनाभित्र विस्थापित गरी चिप कार्ड प्रयोगमा ल्याउन सुझाब दिएको छ।
यस्तै, एटिएम कक्षमा जडित सिसिटिभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सुझाब दिइएको छ। साथै यस्तो अनुगमन शनिबार लगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ।
कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्न सेवा लिनुपर्ने व्यवस्था मिलाउनुपर्ने लगायतको सुझाव दिएको छ ।