इन्टरनेटको स्पीड बढाउने होडबाजी, गुणस्तरमा भने छैन सुधार, कुनको कस्तो छ प्याकेज ?

काठमाडौं । पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनी बीच स्पीड बढाउने तीव्र प्रतिस्पर्धा चलेको छ । गुणस्तर सुधारमा खासै ध्यान दिन नसकेका इन्टरनेट प्रदायकहरुले स्पीड बढाउन भने होडबाजी गरेका हुन् ।

 

६ महिना अघिसम्म अधिकांश कम्पनीले दोहोर अंकको स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दै आएकामा अहिले बढाएर तेहोरो अंकको स्पीड पुर्याएका छन् । जेठसम्म नेपाली बजारमा १०० एमबीपीएसभन्दा बढी स्पीडको इन्टरनेट सेवा पाइँदैनथ्यो । तर अहिले बजारमा ६०० एमबीपीएससम्मको सेवा उपलब्ध भइसकेको छ ।

 

वर्ल्डलिंक कम्युनिकेसनले गत साता नेपालमै पहिलोपटक ६०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ भने क्लासिक टेकले निकट भविष्यमै १ जीबीपीएस (१०२४ एमबीपीएस)स्पीडको इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गरेको छ ।

 

गत जेठ महिनामा सीजी नेटले ९९९ रुपैयाँमै १२० एमबीपीएस स्पीडको इन्टरनेट सेवा उपलब्ध गराएको थियो । सीजीले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्न थालेपछि अन्य कम्पनीहरुले पनि धमाधम स्पीड बढाउन थालेका हुन् ।

 

अहिले आधादर्जन बढी सेवाप्रदायकले तेहेरो अंकको स्पीड (१०० एमबीपीएस माथि)मा इन्टरनेट सेवा प्रदान गरिरहेका छन् । हाल भायनेट २५० एमबीपीएस, डिशहोमले १०० एमबीपीएसको फाइबर नेट, सुबिसुले १५० एमबीपीएसको सेवा उपलब्ध गराइरहेका छन् ।

 

इन्टरनेट प्रदायकले स्पीड बढाएसँगै मूल्य पनि आफू खुसी तोक्न थालेका छन् । मूल्य बढाउँदा नेपाल दूर संचार प्राधिकरणलाई जानकारी गराई अनुमति लिनुपर्ने भए पनि इन्टरनेट प्रदायकले आफूखुसी मूल्य र स्पीड बढाएको पाइन्छ ।

 

गुणस्तरमा छैन सुधार

 

इन्टरनेट प्रदायक बीच स्पीड बढाउने होडबाजी चले पनि गुणस्तरमा भने सुधार नआएको उपभोक्तहरु बताउँछन् । ग्राहक तान्न र सुन्नलाई धेरै स्पीडको इन्टरनेट भनिए पनि गुणस्तर भने जस्ताको तस्तै रहेको उनीहरुको भनाइ छ ।

 

जडिबुटी बस्ने लक्ष्मी सुवेदीले विगत २ वर्षदेखि वर्ल्डलिंकको ५० एमबीपीएसको इन्टरनेट प्रयोग गगर्दै आएका छिन् । वर्ल्डलिंकले अहिले उनको स्पीड बढाएर १५० एमबीपीएस पुर्याएको छ । तर, गुणस्तर भने उस्तै रहेको उनी बताउँछिन् ।

 

‘भन्नलाई वर्ल्डलिंकले १५० एमबीपीएस स्पीडको इन्टरनेट दिएका छौं भन्छ । तर, गुणस्तर उस्तै छ । ५० एमबीपीएस स्पीड हुँदा जस्तो चल्थ्यो अहिले पनि उस्तै छ । मैले स्पीड बढेर छिटो इन्टरनेट चलेको अनुभव गरेको छैन । यो ग्राहकलाई आकर्षित गर्ने फण्डा मात्रै हो,’ उनी भन्छिन्  ।

 

लक्ष्मी एक प्रतिनिधि उपभोक्ता मात्र हुन् । अहिले १०० एमबीपीएस स्पीड माथि सेवा उपलब्ध गराइरहेका अधिकांश कम्पनीको इन्टरनेटको गुणस्तर उस्तै छ । भन्नलाई उच्च गतिको इन्टरनेट भनिए पनि उपभोक्ताले चलाउने बेला सुस्त, घुमिरहने लगायत समस्या भोग्दै आएका छन् ।

 

‘देखाउन मात्र स्पीड बढाए जस्तो देखिन्छ’

 

इन्टरनेट सेवा प्रदायक संघले बजारमा इन्टरनेट प्रदायक कम्पनीलेहरुको स्पीड बढाउन जुन होडबाडी चलेको छ त्यसले, कुन इन्टरनेटको क्षमता कति छ भनेर देखाउन बाहेक कुनै काम नभएको बताएको छ ।

 

‘बजारमा इन्टरनेट कम्पनीहरुले आफ्नो क्षमता देखाउन स्पीड वृद्धि गरिरहेका छन् यो नेपालीहरुलाई कुनै उत्साहको कुरा होइन, त्यसले कम्पनी र उपभोक्ता दुवैलाई कुनै फाइदा छैन,  स्पीड शो मात्र हो’,इन्टरनेट प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले चाणक्य पोष्टसँग भने ।

 

पराजुलीका अनुसार हाल १३० वटा कम्पनीले लाइसेन्स लिएका छन् । तीमध्ये कतिपय बन्द भएकाले १००को हाराहारीमा इन्टरनेट प्रदायक कम्पनीहरुले सेवा दिइरहेका छन् । ५ जना भएको परिवारमा ३० एमबीपीएस क्षमताको इन्टरनेट भए पुग्ने पराजुली बताउँछन् ।हाल १३ लाख घरमा इन्टरनेट पुगेको बताइएको छ ।

 

‘प्रतिस्पर्धाले गुणस्तर बढाउँछ’

 

इन्टरनेट प्रदायक संघले बजारमा जुन रुपले इन्टरनेटको प्रतिस्पर्धा गरिरहेका छन् ,त्यसले गुणस्तरमा कुनै सुधार नहुने बताई रहँदा यता इन्टरनेट प्रदायक कम्पनी भने प्रतिस्पर्धाले गुणस्तर वृद्धि हुने बताउँछन् ।

 

‘बजारमा इन्टरनेट प्रदायकहरु बीच स्पीड वृद्धिमा जुन प्रकारको प्रतिस्पर्धा भएको छ त्यसले प्रतिस्पर्धा मात्र नभएर गुणस्तरमा समेत वृद्धि भएको छ, गुणस्तरीय सेवाको लागि पनि प्रतिस्पर्धा गर्नुपर्छ ,’ वर्ल्डलिंकका मार्केटिङ कोअर्डिनेटर राजु शाक्य भन्छन् । उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिस्पर्धाल मद्दत गर्ने उनको भनाइ छ ।

 

कुन कम्पनीको कस्ता छन् प्याकेज ?

 

इन्टरनेट प्रदायकले स्पीड बढाएसँगै ग्राहकलाई आकर्षित गर्न विभिन्न प्याकेज ल्याएका छन् । १२० एमबीपीएस स्पीडको सेवा उपलब्ध गराइरहेको सीजीनेटको एक महिनाको इन्टरनेट शुल्क ९९९ रुपैयाँ, तीन महिनाको शुल्क २ हजार ९९७ रुपैयाँ र १२ महिनाको शुल्क ११ हजार ९८८ रुपैयाँ रहेको छ ।

 

त्यसैगरी क्लासिक टेकको १२५ एमबीपीएस क्षमताको इन्टरनेटको एक महिनाको शुल्क १ हजार ९००, तीन महिनाको ५ हजार ४०० र १२ महिनाको शुल्क १५ हजार रुपैयाँ रहेको छ ।

 

त्यस्तै, भायनेट इन्टरनेटको २५० एमबीपीएस क्षमताको इन्टरनेटको एक महिनाको शुल्क १ हजार ९००, तीन महिनाको शुल्क ५ हजार ५५० रुपैयाँ र १२ महिनाको लागि १८ हजार रुपैयाँ रहेको छ ।

 

त्यसैगरी, वर्ल्डलिंकको ३०० एमबीपीएस क्षमताको इन्टरनेटको लागि १ हजार ८०० , तीन महिनाको ५ हजार २५० र १२ महिनाको लागि १९ हजार ८०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

 

मध्यभोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

मध्यभोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

लाइफ इन्स्योरेन्स नेपालले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश Read Next

लाइफ इन्स्योरेन्स नेपालले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश