काठमाडौं । नेपाली बजारमा विद्युतीय चुलोको व्यापार फस्टाउँदै गएको छ । पछिल्लो समय लगातार एलपी ग्यासको मूल्य वृद्धि भएसँगै उपभोक्ता विद्युतीय चुलोप्रति आकर्षित भएका हुन् ।
एलपी ग्यासमाभन्दा विद्युतीय चुलोमा खाना पकाउँदा सस्तो पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको छ । साथै, नियमित बिजुली उपलब्ध हुने र पछिल्लो समय विद्युतीय चुलोको मूल्य समेत सस्तो भएपछि उपभोक्ताले यसको प्रयोग गर्न थालेका हुन् ।
इन्डक्सन चुलोमा खाना पकाउन ग्यासमाभन्दा सहज र छिटो समेत हुने गर्छ । पछिल्लो समय नेपालमा उत्पादित बिजुली खेर जान थालेपछि सरकारले समेत विद्युतीय चुलोको प्रयोग गर्न आग्रह समेत गरेको छ ।
विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले मंसिरदेखि बिजुलीको महशुल घटाएको छ भने आगामी दिनमा सहुलियत समेत दिने तयारी गरिरहेको छ ।
विद्युतीय चुलोको प्रयोग बढेसँगै यसको व्यापार समेत फस्टाएको व्यापारीहरू बताउँछन् । विगत १५ वर्षदेखि महाबौद्धमा विद्युतीय सामग्री बेच्दै आएका आयन भट्ट लगातार ग्यासको मूल्य वृद्धि हुनु, जतिबेलै बिजुली उपलब्ध, चुलोको मूल्य सस्तिनु लगायत कारणले विद्युतीय चुलोको व्यापार बढेको बताउँछन् ।
‘विगतमा विद्युतीय चुलो फाट्टफुट्ट मात्र विक्री हुन्थ्यो, बिजुली नआउने र मूल्य समेत महँगो हुँदा मानिसहरु ग्यास नै प्रयोग गर्थे,’ उनले चाणक्य पोष्टसँग भने, ‘तर, अहिले दैनिक १५ वटासम्म चुलो विक्री हुन थालेको छ । अहिलेको माग हेर्दा आगामी दिनमा यसको प्रयोग झनै बढ्ने देखिन्छ ।’ लकडाउनपछि विद्युतीय चुलोको व्यापार बढेको उनको भनाइ छ ।
चालु आर्थिक आर्थिक वर्षको कात्तिकसम्ममा १० करोड रुपैयाँ बढीको विद्युतीय चुलो आयात भएको भन्सार विभागले जनाएको छ ।
इन्फ्रारेड चुलोको माग धेरै
बजारमा धेरै थरिका विद्युतीय चुलो पाइने भए पनि मुख्यगरीइन्फ्रारेड र इन्डक्सन चुलोको माग धेरै हुने गरेको व्यापारीहरू बताउँछन् । इन्फ्रारेड चुलोमा हाम्रो घरमा दैनिक प्रयोगमा भएका सबै प्रकारका भाँडामा प्रयोग गर्न सकिन्छ भने इन्डक्सनको लागि विशेष प्रकारका भाँडा मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय बजारमा धेरै प्रकारका विद्युतीय चुलो आएका भए पनि इन्फ्रारेड चुलोको व्यापार धेरै भएको महाबौद्धकै अर्का इलेक्ट्रीक सामान व्यापारी काजी श्रेष्ठ बताउँछन् ।
‘अहिले इन्डक्सन र इन्फ्रारेड चुलोको धेरै माग हुने गरेको छ । सोमध्य पनि इन्फ्रारेड चुलो धेरै बिक्छ । इन्डक्सन चुलोको तुलनामा इन्फारेड प्रयोग गर्न अलि सहज छ । हामीले भान्सामा प्रयोग गर्ने सबै भाँडा यसमा प्रयोग गर्न सकिन्छ । त्यसैले ग्राहको रोजाइमा पर्ने गरेको छ,’ उनले भने ।
कुन कम्पनीको विद्युतीय चुलोलाई कति पर्छ ?
नेपाली बजारमा अहिले १ दर्जन बढी कम्पनीका विद्युतीय चुलो पाइने गरेको छ । ब्राण्ड र गुणस्तर अनुसार सस्तो मूल्यदेखि महँगो मूल्यका विद्युतीय चुलो पाइन्छन् ।
मुख्यगरी बजारमा बाल्ट्रा ,यसुदा, अरीटा, प्रेस्टिज, रियललाइन, किंस, फोरेभा,सूर्या, सिजी,डायमण्ड लगायत कम्पनीका विद्युतीय चुलो बढी विक्ने गरेको व्यापारीहरू बताउँछन् । कम्पनी अनुसार मूलय समेत फरक फरक रहेको छ ।
सिजी : नेपाली कम्पनी सिजी कम्पनीको इन्डक्सन चुलोको बजार मूल्य ४ हजार ८०० रुपैयाँसम्म छ । एक वर्ष वारेन्टी रहेको सिजीको इन्डक्सन चुलो २ हजार वाटको रहेको । यसको लागि इन्डक्सनमैत्री भाँडा चाहिन्छ ।
रियललाइन : बजारमा रियललाइन कम्पनीको इन्डक्सन चुलो २ हजार ८०० देखि ५५०० सम्म पर्छ । यो चुलोको एक वर्ष वारेन्टी रहेको छ ।
यसुदा : यसुदाको इन्फारेड चुलोको मूल्य ३ हजार ५०० रुपैयाँसम्म रहेको छ । २ हजार वार्ट क्षमता भएको यस चुलोमा हाम्रो भान्सामा प्रयोग हुने सबै प्रकारका भाँडा प्रयोग गर्न सकिन्छ । यस्तै, यस कम्प्नीको इन्डक्सन चुलोको मूल्य ४ हजार ५०० रुपैयाँसम्म रहेको छ ।
फोरेभा : फोरेभाको इन्डक्सन चुलोलाई ५ हजार २०० रुपैयाँ पर्छ । प्रयोगको लागि इन्डक्सनमैत्री भाँडाको आवश्यक पर्ने यो चुलो २ हजार वाटको रहेको छ ।
किंसः मलेसियन कम्पनी किंसको इन्डक्सन चुलोको बजार मूलय ५ हजार ८०० रुपैयाँ रहेको छ । यस चुलोको १ वर्षको वारेन्टी रहेको छ ।
बाल्ट्रा : चिनियाँ कम्पनी बाल्ट्राको इन्डक्सन चुलोको मूल्य ४ हजार २०० हजार रुपैयाँसम्म रहेको छ । टच प्लानेट सहित १८०० वाटको यस चुलो बजारमा एक वर्ष वारेन्टीमा पाइन्छ ।
स्यान्ट्रक्स : स्यान्ट्रक्स कम्पनीको यो चुलोको मूल्य ३ हजार ८०० रुपैयाँ रहेको छ । यसमा पनि १ वर्षको वारेन्टी पाइन्छ ।
डाइमण्ड : यस ब्राण्डको इन्डक्सन चुलोको मूल्य २५०० माथि पर्छ । २ हजार वाटको यसको इन्डक्सन चुलोमा १ वर्ष वारेन्टी पाइन्छ ।