काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।
मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस सेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् । घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारणसभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारणसभाको तयारीमा छन् ।
सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नबिलले ३३.६ प्रतिशत बोनस सेयर तथा चार।चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये पाँच प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।
त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस सेयर तथा चार।६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । धैरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९४७ प्रतिशत नगदसहित १७.८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगदसहित १६ प्रतिशत र सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने जनाएका छन् ।
लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर तथा ३÷३ प्रतिशत नगदसहित १५.८ प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छे बैंकले १३.३ बोनस तथा ०.७ प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा तीन।पाँच प्रतिशत नगदसहित १३.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले दश प्रतिशत बोनस तथा ३.० छ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ । मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ नगदसहित १२.०७ प्रतिशत आफ्ना सेयरधनीलाई दिने भएको छ । लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ नगद गरेर ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी)ले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।
सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५ प्रतिशत बोनस तथा ०.३ तीन प्रतिशत नगद गरी ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै नेपाल एसबीआई बैंकले ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्छन् । सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज)को दिनसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खाता र बोनस सेयर डिम्याट खातामा सोझै जम्मा हुन्छ ।