काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले फ्लाइट अलर्ट म्यासेजिङ सेवा सुरु गरेको छ । कम्पनीले टिकट काटेर यात्राको तयारीम बसेकाहरुलाई प्रतिकूल मौसम, उडान हुने/नहुने बारे जानकारी दिन यो सेवा सुरु गरेको हो ।
बेलैमा सूचना नपाउँदा यात्रुले सास्ति बेहोर्नु परेको भन्दै यात्रुको सुविधाका लागि फ्लाइट अलर्ट सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । यो सेवा सुरु भएसँगै अब यात्रुले मौसम प्रतिकूल र कम भिजिबिलिटी भएके बेला उडान हुने नहुने माबाइलमै म्यासेज मार्फत जानकारी पाउने छन् ।
कम्पनीले उडान अवस्थाबारे पूर्वसूचना लिनका लागि प्रत्येक यात्रुलाई टिकट बुकिङ गर्दा आफ्नो आधिकारिक सम्पर्क नम्बर समावेश गर्न सुझाव दिएको छ । कम्पनीको एसएमएस अलर्ट सेवामार्फत यात्रुले हरेक विमानस्थलको अवस्था र समयबारे जानकारी लिन सक्ने जनाइएको छ।
बुद्धले हाल ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गर्दै आएको छ ।