मंसिर २९ गते काठमाडौंमा नव उत्थान सम्मेलन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार (मंसिर २९ गते) काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ ।

 

विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

 

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने छ । सम्मेलनको मुख्य थिम बदलिंदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको विकास रहेको छ ।

 

सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ ।

 

सम्मेलनको प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा हुनेछन् । महासंघको सचिवालय टेकूमा मंसिर २९ गते बुधबार, विहान ९ः३० बजेदेखि सुरु हुने सम्मेलन सांझ ६ बजेसम्म चल्ने छ । सम्मेलनको उद्घाटन सत्रलाई माननीय अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

 

उदघाटन पछिको पहिलो सत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुत गर्ने उक्त सत्रमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफनो धारणा राख्नेछन् ।

 

अर्को प्राविधिक सत्र निर्यात प्रवद्र्धनका विषयमा हुनेछ । सो सत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्नेछन् । महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुत गर्ने उक्त सत्रमा निर्यातकर्ता सुनिता शेर्पाले आफनो धारणा राख्नेछन् ।

 

त्यस्तै अर्को सत्र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा हुने छ । उक्त सत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले गर्नेछन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने उद्यमी श्याम वदन श्रेष्ठ र आइएलओ जेनेभाबाट एसएमइज बीज्ञले आफनो धारणा राख्ने छन् ।

 

चौथो सत्र पर्यटन तथा मनोरन्जन क्षेत्रको हुने छ । उक्त सत्रको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गर्नेछन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यपत्र प्रस्तुती गर्नेछन् । वरिष्ठ कलाकार निर्देशक निर विक्रम शाहले मन्तव्य राख्ने छन् ।

 

समापन कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निश्कर्ष प्रस्तुत गर्नेछन् छ भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थमन्त्रालयका सचिव डा. मधु मरासिनीले संवोधन गर्नेछन् ।

 

एनएमबी बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read Previous

एनएमबी बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दो, एक वर्षमै ४२ अर्बको बीमा Read Next

बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दो, एक वर्षमै ४२ अर्बको बीमा