विराटनगर । शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् ।
८० प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि किसिमको हानिनोक्सानी भएमा सरकारले क्षतिपूर्ति गर्ने व्यवस्थाबाट कृषकले मनोबल उच्च भइरहेको पाइएको छ ।
आफ्ना मेहनत, परिश्रम र लगानी खर्च भएको यस व्यवसायलाई अझ व्यवस्थित गर्न बीमा कम्पनीले आफ्ना योजनालाई सहज र सरल बनाउनुपर्ने कृषकको धारणा रहेको छ ।
विसं २०६९ माघ १ गते सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमा प्रारम्भमा रु ६२ करोडको बीमा भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा कूल रु ४२ अर्ब पुगेको र आउने वर्षमा करिब रु ५५ अर्ब पुग्ने अनुमान गरिएको छ ।
देशभरमा २० बीमा कम्पनीले कृषकको लाभमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङका प्रमुख विनोद मण्डलले जानकारी दिए।
निर्जीवन (कृषि तथा पशुपन्छी) बीमा कम्पनीसँग परियोजना एकाइ मोरङद्वारा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा कृषकले आफ्ना बाली र पशुपन्छीको बीमा गरेर आर्थिक भार बेहोर्नेबाट बच्नुपर्ने सहभागीले जोड दिएका छन् ।
कार्यक्रममा किसान कोपिन्द्र सिंह, सोहनलाल राजवंशीले सरकारले लागू गरेको बीमा योजनामा बीमा कम्पनीले आलटाल गर्ने, झन्झट लगाउने र प्रक्रिया पूरा नभएको भनेर धेरै पटक कार्यालय धाउन बाध्य पार्ने गरेको गुनासो गरे ।