सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीतिबाट बीमा समिति ‘ब्याक’ हट्ला ? यसो भन्छन् अध्यक्ष

काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले ९ मंसिरमा नेपालका बीमा कम्पनीहरूलाई शतप्रतिशत स्वदेशमै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी निर्देशन जारी गर्यो ।

 

समितिको उक्त निर्देशनपछि बीमा क्षेत्र तरंगित बनायो । यसअघि बीमा कम्पनीहरूले स्वदेशी पुनर्बीमा कम्पनीमा २० प्रतिशत पुनर्बीमा अनिवार्य गनुपर्ने व्यवस्था खारेज गर्दै समितिले शतप्रतिशत पुनर्बीमा नेपाली कम्पनीमै गर्नुपर्ने व्यवस्था गरेपछि अहिले चौतर्फी विरोध र आलोचना भएको छ ।

 

स्वार्थ समूहको चलखेलमा हालै खुलेको हिमालयन रि इन्स्योरेन्सलाई व्यापार दिन यस्तो नीति ल्याइएको भन्दै कतिपयले समितिलाई आरोप समेत लगाएका छन् ।

 

आफ्नो नीतिको व्यापक विरोध भएपछि बीमा समितले त्यसबाट ‘ब्याक’ हट्ने संकेत गरेको छ । समितिले व्यवसायीहरूसँग छलफल गरी नीतिमा केही परिमार्जन गर्ने तयारी गरेको हो ।

 

बीमा कम्पनीहरूसँग छलफल गरेर समितिले गरेको उक्त व्यवस्था परिमार्जन गर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । ‘अहिले नेपालमै हुनसक्ने व्यवसाय पनि विदेशमा जानथालेपछि स्वदेशमा तरलताक अभाव भयो । त्यसैले समितिले यस्तो व्यवस्था गरेको हो,’ उनले चाणक्य पोष्टसँग भने, ‘हामी अझै छलफल गर्दै छौँ, यो व्यवस्थालाई परिमार्जन गर्छाैं ।’

 

नेपालका पुनर्बीमा कम्पनीहरूले जोखीम बहन गर्न सक्दैनन्भन्दा पनि पहिले बिजनेस दिनुपर्ने उनले बताए । ‘स्वदेशी पुनर्बीमा कम्पनीलाई बिजनेश दिँदैे गएपछि समस्या कहाँ हो, त्यहाँ समाधान हुँदै जान्छ । कति व्यवसाय यो वर्षमा स्वदेशी पुनर्बीमा कम्पनीले राख्न सक्छन्, अर्को वर्ष कति व्यवसाय थप्दै जाने भन्ने निर्णय गर्छौं,’ उनले भने ।

 

नेपालका पुनर्बीमा कम्पनीले सक्ने जति बीमा कम्पनीहरूले स्वदेशमै पुनर्बीमा गर्नुपर्ने अध्यक्ष सिलवालको तर्क छ ।

 

निर्देशिका विपरीत निर्देशन

 

बीमा समितिले बीमा कम्पनीहरूलाई दिएको निर्देशन आफ्नै निर्देशिका विपरीत देखिन्छ । समितिले २०७८ भदौ २९ मा बीमकको पुनर्बीमा निर्देशका जारी गरेको थियो । जारी गरेको उक्त निर्देशिकाकोे दफा (९) को उपदफा १ मा बीमकले पुनर्बीमा गराउँदा पर्याप्त जोखिम विविधीकरण हुने गरी पुनर्बीमा विविधीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो ।

 

सोही दफाको उपदफा २ मा बीमा कम्पनीहरूले मुख्य पुनर्बीमालाई कुल बीमाको ४० प्रतिशत र अन्य पुनर्बीमा कम्पनीहरूलाई बढीमा २० प्रतिशतका दरले मात्रै पुनर्बीमा गर्न दिनुपर्ने उल्लेख छ ।

 

‘समितिको प्रावधानले बीमा क्षेत्रलाई अप्ठयारो पार्छ’

 

बीमा समितिले जारी गरेको निर्देशनले नेपालका बीमा कम्पनीहरू नै संकटमा पर्ने बीमा व्यवसायीहरूको भनाइ छ । मेट लाइफ इन्स्योेरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी क्षेष्ठ नियमनकारी निकायले जारी गरेको उक्त निर्देशनले नेपालका बीमा कम्पनीहरू अप्ठेरोमा पर्ने बताउँछन् ।

 

‘नेपालका बीमा कम्पनीहरूले पूर्णरुपमा नेपालमै पुनर्बीमा गर्नुपर्ने प्र्रावधानले बीमा क्षेत्रलाई अपठ्यारोमा पार्छ भन्ने चाँही हो’,उनले चाणक्य पोष्टसँग भने, ‘यस्तो प्रावधानमा पुनर्विचार गर्न हाम्रोे नियमनकारी निकायसँग छलफल भइरहेको छ ।’

 

स्वदेशी पुनर्बीमा कम्पनीलार्ई प्राथमिकता दिनुपर्ने भए पनि शतप्रतिशत विदेशमा पुनर्बीमा गराउँदा नेपाली बीमा कम्पनीहरू नै अप्ठ्यारोमा पर्नसक्ने उनको भनाइ छ । समितिले व्यवस्था गरेको निर्देशनको पुनर्विचारको माग गदै उक्त विषयमा ज्ञापन पत्र बुझाउने तयारी भइरहेको बताइएको छ ।

 

‘स्वदेशी पुनर्बीमा कम्पनीले मात्र जोखीम बहन गर्न सक्दैनन्’

 

स्वदेशमै पुनर्बीमा गर्नुपर्ने व्यवस्था राम्रो भए पनि नेपालका बीमा कम्पनीहरूको जोखीम बहन गर्ने क्षमता न्यून भएका कारण त्यसले दीर्घकालीन संकट ल्याउने अर्थविद्हरू बताउँछन् ।

 

शतप्रतिशत पुनर्बीमा नेपालमै गर्नका लागि स्वदेशी पुनर्बीमा कम्पनीको जोखीम बहन क्षमता नभएको अर्थविद् केशव आचार्य बताउँछन् । ‘स्वदेशमै पुनर्बीमा गर्नुको उद्देश्य नेपालबाट पुनर्बीमा मार्फत ठूलो रकम विदेश नजाओेस् भन्ने हो’, उनले चाणक्य पोष्टसँग भने, ‘तर हाम्रा पुनर्बीमा कम्पनीहरूको त्यति क्षमता छैन् । कोभिडको दाबी भुक्तानी समेत अहिलेसम्म पाएका छैनन् । भइपरी आउने विपत्तिको जोखीमलाई बहन गर्न सक्ने पूँजी नै छैन् ।’

 

सरकारले ठूलो जाखीम समेत बहन गर्नसक्ने गरी नेपालका पुनर्बीमा कम्पनीहरूको क्षमता बढ्नुपर्ने उनले बताए । हरेक देशले भुक्तानी सन्तुलनमा समस्या नआओस् भन्ने उद्देश्यले स्वदेशमै पुनर्बीमाको अभ्यास गर्ने गरेको उनको भनाइ छ ।

 

पुनर्बीमाबाट वार्षिक कति रकम बाहिरिन्छ ?

 

हाल नेपालमा सरकारी स्वामीत्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्स संञ्चालनमा छन् । स्वदेशी पुनर्बीमा कम्पनीले मात्रै जोखीम बहन गर्न नसक्ने हुँदा वर्षेनी अर्बौंँ रुपैयाँ पुनर्बीमा बापत बाहिरिने गरेको छ ।

 

बीमा समितिको तथ्याक अनुसार पुनर्बीमा बापत जीवन बीमातर्फ आर्थिक वर्ष २०७७/७८ मा वार्षिक ३ अर्ब ८३ करोड र निर्जीवन बीमातर्फत वार्षिक १७ अर्ब १९ करोड रुपैयाँ पुनर्बीमा कम्पनीलाई प्रिमियम तिरेका छन् ।

 

उक्त रकममध्ये जीवन बीमा कम्पनीहरूले २७ करोड र निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ३३ करोड रुपैयाँ पुनर्बीमा कमिसनबापत प्राप्त गरेका थिए । यसरी बीमा कम्पनीहरूले वार्षिक कुल २१ अर्ब रुपैयाँ पुनर्बीमा प्रिमियममा तिर्ने गरेका छन् ।

 

जसमध्ये स्वदेशी बीमा कम्पनीहरूले कमिसन बापत ३ अर्ब भन्दा बढी रुपैयाँँ फिर्ता पाउँदा वार्षिक १७ अर्ब रुपैयाँँ पुनर्बीमा प्रिमियम जाने गरेको छ । स्वदेशमै २० प्रतिशत अनिवार्य पुनर्बीमा समितिको यसअघिको व्यवस्था अनुसार वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ स्वदेशी पुनर्बीमा कम्पनीले नै पाउँछन् भने बाँकी साढे १३ अर्ब रुपैयाँ पुनर्बीमा बापत बाहिरीने गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा पुनर्बीमा बापत साढे ११ अर्ब रुपैयाँ विदशीएको बीमा समितिका अधिकारीहरू बताउँछन् ।

 

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, सदस्यमा चौधरी प्यानलको वर्चश्व Read Previous

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, सदस्यमा चौधरी प्यानलको वर्चश्व

नयाँ उद्योग खुल्ने क्रम बढ्दो, १३० उद्योग दर्ता, ऊर्जा क्षेत्रमा आकर्षण Read Next

नयाँ उद्योग खुल्ने क्रम बढ्दो, १३० उद्योग दर्ता, ऊर्जा क्षेत्रमा आकर्षण