नयाँ उद्योग खुल्ने क्रम बढ्दो, १३० उद्योग दर्ता, ऊर्जा क्षेत्रमा आकर्षण

काठमाडौं । पछिल्लो समय नयाँ उद्योग खुल्ने क्रम बढेको छ । कोरोनाको प्रभाव कम भई अर्थतन्त्र चलायामान भएसँगै नयाँ उद्योग खुल्ने क्रम पनि बढेको हो ।

 

उद्योग विभागका अनुसार मंसिरसम्म दोस्रो सातासम्म १३० वटा उद्योग दर्ता भएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो । गत वर्ष मंसिर दोस्रो सातासम्मा जम्मा ८७ उद्योग दर्ता भएका थिए ।

 

चालु आवमा दर्ता भएका १३० उद्योगको १ खर्ब ५० अर्ब ३५ करोड रुपैयाँ लगानी हुने विभागले जनाएको छ । नयाँ उद्योगमा लगानी भएको रकम गत वर्षको तुलनामा दोब्बरले बढी हो ।

 

विभागका अनुसार चालु वर्षको हालसम्म पर्यटन क्षेत्रमा २७, उत्पादनमूलक क्षेत्रमा ५६, कृषि तथा वन पैदावार क्षेत्रमा १०, ऊर्जा क्षेत्रमा १६, सूचना प्रविधि क्षेत्रमा २, उद्योग,पूर्वाधारमा १ उद्योग, सेवामूलक क्षेत्रमा १८ उद्योग दर्ता भएका छन् । यी उद्योगहरु संचालनमा आएपछि ११ हजार ८३५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

 

उद्योग विभागले कोभिड १९ को कारण लामो समयसम्म भएको लकडाउन खुलेसँगै विभागमा उद्योग संख्याको दर्ता वृद्धि भएको जानकारी दिएको छ । ‘नेपालमा कोरोनाको कारण लामो समय लकडाउन भयो, लकडाउन खुलेसँगै उद्योग दर्ता गर्न सहज वातावरण भयो, लकडाउनमा दर्ता हुन नसकेका उद्योग पनि आए त्यसैले उद्योग संख्या वृद्धि भएको हो,’ उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले चाणक्य पोष्टसँग भने ।

 

त्यसैगरी सरकारको बजेट तथा आर्थिक कार्यक्रम पनि उद्योगमैत्री भएकाले पनि उद्योग दर्ताको संख्या बढेको पराजुलीको भनाइ छ । अर्थतन्त्र लयमा फर्केकाले उद्योग दर्ता संख्या अझ वृद्धि हुने पराजुलीले बताए ।

 

कुन क्षेत्रका उद्योगमा कति लगानी ?

 

विभागको तथ्यांक अनुसार चालु आवमा ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । मंसिरसम्म दर्ता भएको ऊर्जा क्षेत्रका १६ उद्योगमा ७६ अर्ब ३ करोड ७१ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो ।

 

त्यसैगरी, कृषि तथा बन पैदावार क्षेत्रका १० उद्योगमा १ अर्ब ८५ करोड, सूचना तथा प्रविधि क्षेत्रको २ उद्योगमा २० करोड, पूर्वाधार क्षेत्रको १ उद्योगमा ४ करोड ४० लाख, ५६ उत्पादनमूलक उद्योगमा ३८ अर्ब २७ करोड ४४ लाख, १८ सेवामूलक उद्योगमा १७ अर्ब ५९ करोड पर्यटन क्षेत्रका २७ उद्योगमा १ अर्ब ९५ करोड लगानी प्रस्ताव आएको छ ।

सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीतिबाट बीमा समिति 'ब्याक' हट्ला ? यसो भन्छन् अध्यक्ष Read Previous

सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीतिबाट बीमा समिति 'ब्याक' हट्ला ? यसो भन्छन् अध्यक्ष

पर्वतको जलजलामा स्लेट ढुङ्गा खानी उत्खनन गरिँदै Read Next

पर्वतको जलजलामा स्लेट ढुङ्गा खानी उत्खनन गरिँदै