नेपालमा गाडी उत्पादन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नेपालमा गाडी उत्पादन कसरी गर्न सकिन्छ त्यसको ठोस आधार लिएर आउन अर्थमन्त्री जनार्दन शर्माले नाडालाई आग्रह गरेका छन् ।

 

नाडाको ४५ औं साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अहिले अटो क्षेत्रले भन्सार राजस्वको २५ प्रतिशत हिस्सा बुझाएको बताउँदै आफू त्यसलाई घटाउन लागिपरेको बताएका थिए ।

 

नेपालले अटो उत्पादनमा जानुको विकल्प नरहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘भन्सार राजस्व घटाएर कसरी यो क्षेत्रको राजस्वमा हिस्सेदारी ५० पुर्याउने हो त्यसमा लागौं । उद्योगको लागि जमिन, प्रविधि र श्रम नेपालमा नै उपलब्ध छ । विजुलीमा सहुलियत, श्रममा सहुलियत सरकार तयार छ ठोस प्रस्ताव नाडाले ल्याओस् ।’

 

नेपालमा उद्योग खुलेमा यहाँ रोजगारी सृजना, विद्युत् खपत बढ्ने उनको भनाइ थियो । देशले लिएको समृद्धिको लक्ष्य पूरा गर्न व्यवसायीले तत्कालको नाफामा असर पर्छ भनेपनि गाडी आयात गर्न रोक्न समेत तयार हुनु पर्ने उनले बताए ।

 

विद्युतीय गाडीको उपभोग बढाउने विषयमा सरकार गम्भिरसँग लागि परेको बताउँदै मन्त्री शर्माले भने, ‘अहिले चार्जिङ स्टेशन निर्माण हुन सकेको छैन । अब पेट्रोल पम्पलाई चार्जिङ स्टेशनमा बदल्नु पर्छ । त्यसको लागि सरकारले काम गरिरहेको छ ।’

 

नाडाको ४५ औं साधारण सभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष कृष्णप्रसाद दुलालले ७ वटै प्रदेशमा नाडाको उपस्थिति रहेको उल्लेख गर्दै हरेक क्षेत्रका व्यवसायीको समस्या समाधान गर्न नाडा प्रतिवद्ध रहेको बताएका थिए ।

 

अध्यक्ष दुलालले अटो क्षेत्रमा अझै धेरै समस्या रहेकाले पूर्वाधार निर्माण र भएका पूर्वाधार दुरुस्त राख्न सरकारले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

 

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरोकारवाला निकाय र सरकारले घनिभूत छलफल गरेपछि आउने नीतिले मात्रै व्यवसाय फस्टाउने धारणा राखेका थिए । उनले नेपालमा अटो क्षेत्रको विकास तीव्ररुपमा अगाडि बढेको बताउँदै भने, ‘अहिले नै दुई पाङ्ग्रे सवारी साधन एसेम्बल भइरहेको र चाँडै चार पाङ्ग्रे सवारी साधन एसेम्बल हुन्छ ।’

 

नाडाको ४५ औं साधारण सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत छनोट गर्दैछ । नयाँ नेतृत्व चयनको लागि भोलि मतदान हुने कार्यक्रम रहेको छ ।

नेको इन्स्योरेन्स अब आफ्नै भवनमा Read Previous

नेको इन्स्योरेन्स अब आफ्नै भवनमा

केएफसीको तेह्रौं आउटलेट हेटौंडामा, एकैपटक ४४ जनाले सेवा पाउने Read Next

केएफसीको तेह्रौं आउटलेट हेटौंडामा, एकैपटक ४४ जनाले सेवा पाउने