केरा खेतीले बदलेको सुरेन्द्र चौधरीको जीवन, कसैले ऋण नपत्याउने अवस्थाबाट बने अरुलाई ऋण दिनसक्ने

काठमाडौं । कन्चनपुर कृष्णपुर नगरपालिका–५ का सुरेन्द्र चौधरी हाल व्यावसायिक केरा खेती गरिरहेका छन् । केरा खेतीकै कमाइबाट उनले सहजै आफ्नो घरखर्च चलाएका छन् । कुनै समय ८ जनाको परिवार पाल्न धौधौ परेको बताउने उनी अहिले आफैं अरूका लागि उदाहरणीय व्यक्ति बनेका छन् ।

 

एसएलसीसम्मको अध्ययन गरेका उनको जीवनमा सुखका दिन आएको केही वर्ष मात्र भयो । २०६४ मा केरा खेती सम्बन्धी तालिमका क्रममा ३ कठ्ठा जमिनमा केरा खेती गरेर सुरूआत गरेका उनले हाल ८ बिगाहा जमिनमा केरा खेती गरिरहेका छन् ।

 

हेल्भिटास साझेदारीमा निड्स नेपालबाट तालिममा सहभागी भएका उनले तालिमका क्रममा १५ हजार केराको बोटबाट खेती सुरू गरेका थिए । घर परिवारको इच्छा विपरित केरा खेती गर्न थालेका उनले सुरूको समयमा खासै राम्रो गर्न सकेका थिएनन् । अध्ययन गर्दै केरा खेती गर्दै गरेका उनले उक्त समयमा मल, बेर्ना अनुदानमा पाएका थिए ।

प्रयोगात्मक तालिम लिएका उनले केही समयपछि ६ कठ्ठामा केरा खेती गर्न थाल्दा घरका परिवार सबै रिसाएका थिए । सुरूमा राम्रोसँग ध्यान दिन नसक्दा फस्टाउन नसकेको केरा खेती राम्रो हुन सकेन् । राम्रो जमिन नहुँदा खेती राम्रो हुन नसकेको थाहा पाएपछि उनले आफ्नो परिवारको १५ कठ्ठा जमिनमै केरा खेती गर्न थाले । ३० रुपैयाँ प्रतिबेर्ना तिरेर ९०० बोट केरा लगाएका उनले केरा उत्पादन हुनुअघिसम्म ६० हजार रुपैयाँ हाराहारीमा लगानी गरेका थिए । जस कारण परिवारका सदस्य केरा खेतीले के नै हुन्छ र भन्दै उनीसँग रिसाएर  बोल्न समेत छाडेका थिए ।

 

तर, डेढ वर्षपछि जसोतसो केरा उत्पादन भयो, ६ रुपैयाँ दर्जन केरा विक्री गरेका उनले उक्त समयमा २ लाख ५० हजार रुपैयाँका हाराहारीमा आम्दानी गरेका थिए । हातमा पैसा आएपछि चौधरीले घरका सबै परिवारलाई नयाँ कपडा किनेका थिए । केरा खेती आम्दानीको स्रोत बन्न सक्ने देखेपछि घरपरिवारले समेत उनलाई पारिश्रमिक सहयोग गर्न थालेका थिए ।

 

घरमा सहज वातावरण हुन थालेपछि उनले २०७२ सालमा १२ बिगाहा जमिन लिजमा लिएर केरा खेती गर्न थाले । २ छोरालाई एसएलसी पढाउदा समेत एक दिन खाजा पठाउन नसकेका उनले अहिले जेठो छोरालाई काठमाडौंमा इलेक्ट्रोनिक इन्जिनीयर पढाएका छन् । उनका कान्छा छोराले बोटविरुवाका विषयमा आइएसीएजी अध्ययन गर्दै छन् ।

छोराहरुलाई काठमाडौंमा पढाउन पठाउनुपर्ने भएपछि उनले लिजमा लिएको जमिन घटाए । वार्षिक ४० हजार रुपैयाँ प्रतिबिगाहा जमिन लिजमा लिएका उनले १२ बिगाहा जमिनबाट घटाएर हाल ८ बिगाहा जमिनमा केरा खेती गरिरहेका छन् । हाल चौधरी केरा खेतीबाटै वार्षिक २० देखि ३० लाख रुपैयाँसम्मको आम्दानी गर्ने गर्छन् । उनी प्रतिबिगाहा वर्षेनी २ लाख रुपैयाँसम्म नाफा हुने गरेको बताउँछन् ।

 

‘केरा खेती हतपत्त डुब्दैन, तर १÷२ वर्ष हार खानु हुन्न, माटो चिनेर केरा खेती गर्न जान्नुपर्छ,’ चौधरीले चाणक्य पोष्टसँग भने ‘१५ महिना खटेर सहेर पैसा लगानी गर्नु पर्यो । यसरी सहयो भने २ वर्षपछि खाली हात बस्नु पर्दैन ।’

 

वर्षेनी प्रतिबिगाहा ४० टन केरा उत्पादन गर्ने गरेका उनले धनगढी, महेन्द्रनगर, नेपालगञ्जसम्म आफ्नो उत्पादन पुर्याउने गरेका छन् । चाडपर्वका सिजनमा ४० रुपैयाँ प्रति दर्जन व्यवसायीलाई केरा विक्री गर्ने गरेका छन् । अन्य समयमा न्यूनतम १५ देखि २० रुपैयाँ प्रतिदर्जनको दरले केरा खेतबाट विक्री गरिरहेको उनले बताए ।

उनको अनुभवन अनुसार जमिन राम्रो भएको खण्डमा १० लाख प्रतिबिगाहासम्म कमाई गर्न सकिन्छ । राम्रो जमिनमा केरा खेती गर्न १ लाख हाराहारीमा लगानी गर्नुपर्ने उनले बताए । केरा खेती गर्न जमिन हेर्दा सुख्खा भइहाल्ने छ भने पानीको सुविधा राम्रो हुनुपर्छ । वर्खामा पानी जम्ने जमिन, चिम्ट्याइल्यो माटो हुनु हुँदैन ।

 

केराको बेर्ना नपाएपछि आफ्नै नर्सरी

 

केरा खेती गरिरहेका चौधरीले केराको बेर्ना पाउन गाह्रो हुने भएपछि आफैले बेर्ना उत्पादन गर्न थाले । उनले हाल आफ्नै नर्सरी खोलेर केराको बेर्ना उत्पादन गर्न थालेका छन् ।

 

सुरूमा १५ हजार बेर्ना उत्पादन गरेको चौधरीले अहिले वार्षिक ४ लाख हाराहारीमा बेर्ना उत्पादन गर्ने गरेको छन् । आफूले उत्पादन गरेको केराको बेर्ना साथीहरु मार्फत अन्य नर्सररी हुँदै स्थानीयसम्म पुर्याउने गरेको उनले बताए ।

हाल किसानले प्रतिगोटा ४० रुपैयाँको दरले केराको बेर्ना किन्ने गरेका छन् । कन्चनपुरका साथै अन्य जिल्लाका कृषकले समेत उनको नर्सरीबट केराका बेर्ना लैजाने गरेका छन् ।

 

चौधरीको जीवनमा केरा खेतीले ल्याएको परिवर्तन

 

उनले केरा खेतीबाट सोच्दै नसोचेको परिवर्तन भएको बताए । आर्थिक कमजोरीका कारणले निरन्तर पढ्न गर्न नसकेको उनले जेठो छोरो भएको नाताले घरको सबै जिम्मेवारी धान्नु परेको थियो । वर्षेनी मिठो खान र राम्रो लगाउन धौधौ गरी जसोतसो टार्नु परेको उनले २० वर्षमै विवहापछि बच्चा पढाउन समेत मुस्कील परेको थियो ।

 

आफ्नो छोराहरुलाई एसएलसी पढाउँदासम्म खाजा खान समेत कहिले पैसा दिन नसकेको तीतो अनुभव छ उनीसँग । जेनतेनले जीवन गुजारा चलाइरहेका उनले केरा खेतीबाटै टहराबाट ढलानको १० कोठे घर बनाएका छन् । ‘पहिला मलाइ खान समेत धाधौ पर्थ्यो, उनी भन्छन्, ‘तर, केरा खेतीले मेरो जीवन बदल्यो। अहिले खाना बस्न कुनै दुःख छैन । टहरा हटाएर ढलान घर बनाएको छु । जेठो छोरा इलेक्ट्रीक इन्जिनीयरिङ पढ्दै छ । कान्छो आइएससीएजी पढ्दै छ खर्च जुटाउन गाह्रो छैन ।

विगतमा अरूसँग पैसा माग्दा फिर्ता गर्न सक्दैन भनेर कसैले विश्वास नगर्ने पात्रको रूपमा रहेका उनी हाल अरूलाई नै ऋण दिएर केरा खेती गर्न प्रोत्साहन गरिरहेका छन् । हाल उनी विभिन्न जिल्लामा गएर केरा खेतीका लागि प्राविधिक शिक्षा समेत दिन थालेका छन् ।

 

केराको थामबाट नेपाली कागज

 

२०६९ सालबाट लोक्टा (नेपाली कागज) बनाउने तालिम लिएका उनले केराको थामबाट समेत नेपाली कागज बनाउन थालेका छन् । ३५ दिन तालिम लिँदा केराको थामबाट नेपाली कागज बन्दैन भन्ने कुराबाट प्रभावित भएका उनले ६ महिना लगाएर केराको थामबाट नेपाली कागज उत्पादन गरी छाडे ।

 

उनले लोक्टा प्रविधिबाट नेपाली हाते कागज बनाउन सिकेका थिए । झण्डै ३ वर्ष नेपाली कागज उत्पादन गरेका उनले सुरू गर्दा ३ लाख लागेको थियो । सुरूमा हेबेटासले डेढ लाख र उनले डेढ लाख लगानी गरी कागज उत्पादन गरेका थिए ।

‘सुरूमा केमिकल नपाउने र कन्चनपुरमा २५ रुपैयाँमा पाउने केमिकल ६५ रुपैयाँमा पर्न थालेपछि लामो समय यस पेशालाई निरन्तर दिन सकिनँ । नेपाली कागज बनाउन आइरनयुक्त पानीले नहुने आर्सनिक पानी चाहिने, नदीको पानी बोक्नु पर्ने र नदी टाढा हुँदा धेरै समस्या आएको थियो,’ उनी विगत सुनाउँछन् । अहिले भने उनले व्यावसायिक रुपमै काजग उत्पादन गरिरहेका छन् ।

 

हजार रुपैयाँ बराबरको नेपाली कागज विक्री गरेका उनले ग्राम अनुसार कागजको मूल्य तोक्ने गरेको बताए । ५ ग्रामको एउटा नेपाली कागज ३ रुपैयाँ हाराहारी लागत लाग्ने र उक्त कागज ५ रुपैयाँमा बजारमा बेच्ने गरेको उनले बताए ।

सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी Read Previous

सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी

लक्ष्मी बैंकले एकैसाथ संचालनमा ल्यायो २ नँँया शाखा र एक एक्स्टेन्सन काउण्टर Read Next

लक्ष्मी बैंकले एकैसाथ संचालनमा ल्यायो २ नँँया शाखा र एक एक्स्टेन्सन काउण्टर