काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अर्थ मन्त्रालयले स्वीकृत गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांशमा असोज २० गते बीमा समितिबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको थियो । लाभांश मन्त्रालयबाट स्वीकृत भएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभामार्फत पारित गराउने बाटो खुला भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।