हेटौंडामा भ्यूटावरसहितको १२ तल्ले व्यापारिक भवन बन्दै, लागत कति ?

काठमाडौं । वाग्मती प्रदेश राजधानी हेटौंडामा ४७ करोड ९३ लाख रुपैयाँ लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गरिने भएको छ ।

 

मंगलबार निर्माण सम्बन्धी सम्झौता भएको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो ।

 

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ । भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ । हुप्राचौरको दक्षिणतर्फ रहेको वासुदेव सभागृहलाई भत्काएर भ्यूटावरसहितको व्यापारिक भवन निर्माण हुने बताइएको छ ।

 

उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार १ बिघा ६ कट्ठा जमिनमा भवन निर्माण गरिने छ । छैटौँ तल्लासम्म व्यापारिक सटर हुनेछ भने छैटौँ तल्लामाथि भ्यूटावर रहने बताइएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

नेपाल लाइफले ९ रोपनी जग्गा किन्ने, काठमाडौंका यी ठाउँमा चाहिने Read Previous

नेपाल लाइफले ९ रोपनी जग्गा किन्ने, काठमाडौंका यी ठाउँमा चाहिने

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, बोनस र नगद कति ? Read Next

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, बोनस र नगद कति ?