काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती खातामा लगानी गर्ने भएको छ । बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको हो ।
बैंकले २०७८ पुस १ गते देखि २०७९ मंसिर २९ गतेसम्म १ वर्षको अवधिका लागि मुद्दती खातामा उक्त रकम लगानी गर्न गर्न लागेको जनाएको छ । राष्ट्र बैंकले तोकिएको सर्तहरुको पालना गरेर उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गदै ब्याजदर प्रश्ताव गर्न आह्वान गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४४ करोड, विकास बैंकहरुमा ४५ करोड ७५ लाख र ग वर्गका संस्थाहरुमा १५ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
उक्त निक्षेप रकम लिने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर सहितको आवेदन मंसिर २१ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा दिनुपर्नेछ । राष्ट्र बैंकले लगानी गर्न चाहेको रकम राख्नका लागि निक्षेप राख्ने संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको हुनुपर्ने छ । राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको संस्था हुुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसेैगरी निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा नपरेको हुनुपर्ने सर्तहरु तोकिएको छ ।