काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात ता निर्यातको अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले निगमको अन्तराष्ट्रिय उडानमा खतराजन्य पदार्थ (डेन्जरस गुडस्) बोक्ने अनुमति दिएको हो ।
जहाजको माध्यमबाट खतराजन्य पदार्थ बोक्ने अनुमति पाउने निगम पहिलो वायुसेवा कम्पनी रहेको छ । प्राधिकरणले आइतबार (मंसिर १९ गते) निगमलाई जहाजमा खतराजन्य वस्तु बोक्न पाउने अनुमति दिएको हो ।
प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सको एमआई–१७ रसियन हेलिकप्टरलाई मात्रै खतराजन्य पदार्थ बोक्ने अनुमति दिएको थियो ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)ले मानव स्वास्थ्य तथा शुरक्षालाई असर पुर्याउने ९ प्रकार (ज्वलशील ग्यास, तरल पदार्थ, ठोस पदार्थ, अक्सीडाइजिङ, विषाक्त तथा संक्रामक, रेडियोधर्मी लगायत) का खतराजन्य पदार्थको वर्गिकरण गरेको छ ।
यी मध्ये निगमलाई हाल मेडिकलतर्फ एक्स–रे मेशिनसँग सम्बन्धित रेडियो फर्मास्युटीकल सामान र ल्यापटप, मोबाइलमा प्रयोग हुने लिथियम–आयन ब्याट्री लगायत खतराजन्य पदार्थ आयत निर्यातको मात्रै अनुमति प्रदान गरिएको छ ।