काठमाडौं । कोरोनाको भ्याक्सिन प्रयोगमा आएसँगै केही तंग्रिन लागेको होटल तथा पर्यटन क्षेत्र पुनः बन्द हुने त्रास बढेको छ । महामारीले करिब दुुई वर्ष ठप्प प्रायः बनेकोे होटल तथा पर्यटन क्षेत्र केही समयदेखि चलायमान बनेको थियो ।
पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको थियो । जसको कारण होटल तथा पर्यटन व्यवसायी उत्साहीत बनेका थिए । आर्थिक गतिविधि राम्रोसँग चलायमान नहुँदै कोरोनाको नयाँ भेरिअन्टको संक्रमण विश्वव्यापीरुपमा फैलिन थालेपछि सरकारले विदेशबाट हुने आवतजावत समेत क्षेत्रगतरुपमा प्रतिबन्ध लगाउन थालेको छ । यसले व्यवसायीहरु निकै चिन्तीत भएका छन् ।
‘अहिलेको अवस्था झनै डरलाग्दो देखिएको छ । दुई वर्षदेखि सबैभन्दा पिडित क्षेत्र ओमिक्रोनको त्राससँग फेरी अनिश्चितता तिर गएको छ । सम्झियो भने निन्द्रा पनि लाग्दैन’, एक होटल संचालकले भने ।
अफ्रिकी मुलुकहरुमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ फैलिन थालेपछि सरकारले मंसिर १६ गते राती १२ बजेदेखि विभिन्न ९ मुलुकबाट नेपाल प्रवेशमा रोक लगाएको हो ।
अर्को व्यवस्था नभएसम्म दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउन सरकारले रोक लगाएको हो । ‘ओमिक्रोन’ युरोप तथा एसियालगायतका मुलुकहरुमा समेत तिव्र रुपमा फैलिरहेको छ । छिमेकी मुुलुक भारतमा समेत उक्त भेरियन्टको संक्रमण देखापरिसकेको छ ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये होटल र पर्यटन व्यवसाय मुख्य हो । दोस्रो पटक नयाँ वर्षको सुरुदेखि नै लकडाउन भएपछि सबै क्षेत्र बन्द अवस्थामा पुगेका थिए । कोरोना भ्याक्सिनको आयात र प्रयोग बढाएसँगै चालु आर्थिक वर्षको सुरुवातदेखि अर्थतन्त्र केहीहदसम्म चलायमान भएको थियो ।
केही हदसम्म अर्थतन्त्रलाई चलायमान बनाउन सकिएको नयाँ भेरियन्टको संक्रमणले जोखीम ल्याउन सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ । नेपाल ट्राभल एण्ड टूर एसोसिएसनका अध्यक्ष अच्युत गुराँगाई ‘पिकअप’ हुन लागेको पर्यटन व्यवसाय नयाँँ भेरियन्टले त्रास थपेको र व्यवसाय नै धरासायी हुने अवस्था आउन सक्ने बताउँछन् ।
छिमेकी मुलुक भारत र अन्य देशहरुमा फैलँदै गएको नयाँ भेरियन्टले पुनः बन्दाबन्दीको जोखिम देखाएको हो ।
‘पर्यटन व्यवसायले अलिकति गति लिएको थियो, नयाँँ भेरियन्टले धरासायी हुने देखिएको छ,’ उनले चाणक्यपोष्टसँग भने, ‘साना तथा मझौला व्यवसाय ७० प्रतिशत लयमा फर्किन थालेका थिए । नयाँ भेरियन्टले आन्तरिक पर्यटकहरु समेत त्रसित हुने देखिएको छ ।’
युरोप र एसिसयामा समेत उक्त भेरियन्टको त्रासले विदेशबाट आउने धेरै पर्यटकहरुको यात्रा रद्द भएको र अब मानिसहरुमा कोभिड १९ को आतंक रहुँन्जेल व्यवसाय लयमा फर्कन कठिन अवस्था देखिएको उनले बताए ।
नेपालले गत सेप्टेम्बरमा पूर्ण खोप लगाएका विदेशी पर्यटकहरुलाई क्वारेन्टीनमा नराखी नेपाल भ्रमण गर्न दिने निर्णय गरेपछिको पहिलो दुई महिना पर्यटक आगमनको संख्या बढ्दै गएको थियो । तर, छिमेकी मुलुक भारत र अन्य देशहरुमा फैलँदै गएको नयाँ भेरियन्टले पुनः बन्दाबन्दीको जोखिम देखाएको हो ।
अध्यागमन विभागका अनुसार अक्टोबरमा २३ हजार २ सय ८४ विदेशी पर्यटक भित्रिएकोमा उक्त संख्या बढेर सन् २०२१ को नोभेम्बरमा हवाई मार्गबाट २६ हजार १ सय ३५ जना विदेशी पर्यटकहरु नेपाल आएका थिए । गत वर्षको सोही अवधि २०२० को नोभेम्बरमा नेपाल आउने विदेशी पर्यटकहरु १ हजार ९ सय ५६ थियो । कोरोना भाइरस संक्रमण सुरु हुनु अघि सन् २०१९ को नोभेम्बरको आगमन १ लाख ३० हजार ३ सय २ थियो ।
नेपाल होेटल व्यवसाय महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुले २० देखि ३० प्रतिशतमा चलिरहेका व्यवसाय फेरि बन्द गर्नुपर्ने स्थिति आए व्यवसायीहरु आर्थिक मारमा पर्ने बताउँछन् ।
‘नेपालमा पनि ‘ओमिक्रोन’ भेरियन्ट फैलिए २०-३० प्रतिशत व्यवसाय चलिरहेको अवस्थामा सबैे बन्द गर्नुपर्ने अवस्था आउँछ’, उनले भने, ‘आर्थिक मारमा होटल तथा पर्यटन व्यवसायहरु पर्ने देखिन्छन्, सरकारले बेलैमा उच्च सर्तकता अपनाउनु जरुरी छ ।’
हाल आन्तरिक पर्यटकहरुलाई खासै असर नपरे पनि बाह्य देशबाट आउने पर्यटकहरुको आवागमन भने घट्ने उनले बताए ।