काठमाडौं । पछिल्लो समय नेपालमा सिमेन्टको उत्पादन र खपत दुवै बढ्दो क्रममा रहेको छ । भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा हुँदा सिमेन्ट खपत पनि बढेको हो ।
वार्षिक २ करोड ५० लाख मेट्रिकटन सिमेन्ट उत्पादन र खपत हुने सिमेन्ट उद्योग संघले जनाएको छ । स्वदेशी उद्योगले नै सम्पूर्ण माग धान्ने अवस्था रहँदा नेपाल सिमेन्टमा आत्मनिर्भर समेत बनेको छ ।
सिमेन्टको खपत बढ्दै गएसँगै पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको संख्या वृद्धि हुँदै गएको छ । सिमेन्ट उद्योग संघका अनुसार हाल नेपालमा ६४ वटा सिमेन्ट उद्योग संचालनमा आएका छन् ।
ती सिमेन्ट उद्योगमा ३ सय अर्ब रुपैयाँ बढी लगानी भएको सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘पछिल्लो समय नेपालमा पूर्वाधार निर्माण बढेसँगै सिमेन्ट उद्योग खुल्ने क्रम पनि बढेको छ,’ उनले चाणक्य पोस्टसँग भने, ‘हाल ६४ वटा सिमेन्ट उद्योग संचालनमा आएका छन् भने केही छिट्टै संचालनमा आउने तयारीमा छन् ।’
नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर रहेको उनले बताए । अहिले नेपालमा सिमेन्टको सबै माग स्वदेशी उद्योगले नै धानेको उनको भनाइ छ ।
पछिल्लो समय नेपालका सडकमा कालोपत्रको सट्टा आरसीसी ढलान गर्ने क्रम बढेकाले अबको एक दशक अझै सिमेन्ट र छडको माग अझै बढ्ने थापा बताउँछन् । ‘अहिले सडकमा ढलान गर्ने चलन सुरु भएको छ । कालोपत्र भन्दा ढलान धेरै टिक्छ । लगानीका हिसाबले केही महँगो भए पनि यो दीर्घकालीन खर्चका हिसाबले सस्तो पर्छ,’ उनले भने, ‘सरकारले पनि सडकमा कालोपत्रको सट्टा कंक्रिट गर्ने नीति बनाउनुपर्छ । यसले सिमेन्ट उद्योग र राज्य दुवैलाई फाइदा पुर्याउँछ ।’
‘नयाँ उद्योग नखुले पनि १० वर्षसम्म माग धान्न सकिन्छ’
अध्यक्ष थापाले नेपालमा अब १० वर्षसम्म नयाँ सिमेन्ट उद्योग नखुले पनि अहिल्यकै उद्योगले माग धान्न सक्ने बताउँछन् । अब नयाँ उद्योग संचालनमा ल्याउनुभन्दा पनि भएका उद्योगलाई नै व्यवस्थित गर्दै लैजानुपर्ने थापाको भनाइ छ ।
‘अब नेपालमा नयाँ सिमेन्ट उद्योग खुल्न जरुरी छैन, आगामी १० वर्षको माग धान्ने गरी सिमेन्ट उद्योग संचालनमा आइसकेका छन्, अब नयाँ उद्योग खोल्ने होइन, भएकै उद्योगलाई व्यवस्थित बनाउनुपर्र्छ,’ थापाले चाणक्य पोष्टसँग भने ।
सरकारले विदेशी लगानीमा भन्दा स्वदेशी लगानीमा खुलेका उद्योगलाई सहुलियत दिई नेपालमै रोजगारी सृजना गरी विदेशीने युवालाई रोक्नुपर्नेमा थापाको जोड छ । ‘सरकारले विदेशीभन्दा स्वदेशी लगानीकर्तालाई सहुलीयत प्रदान गरेर बैदेशिक रोजगारीमा जाने लाखौं युवालाई स्वदेशमै रोजगारी पाउने व्यवस्था गर्नुपर्छ , अब पनि विदेशी लगानी ल्याउन थालियो भने स्वदेशी लगानी बन्द गरे हुन्छ, साँँच्चै भन्नु पर्दा अब सिमेन्ट नयाँ लगानी गर्न नै बन्द गर्नुपर्छ, उद्योग धेरै भए,’ थापा भन्छन् ।
सिमेन्ट उद्योगको उत्पादन क्षमता मागभन्दा धेरै भए पनि हाल माग अनुसार मात्र उत्पादन भइरहेको उनले बताए ।
उद्योगले बिजुली पाए प्रतिबोरा लागत २५ रुपैयाँसम्म घट्छ
सिमेन्ट उद्योगहरुले बिजुली पाएमा उत्पादन लागत पनि घट्ने थापाले बताए । उनका अनुसार सबै सिमेन्ट उद्योगहरुले मागे जति बिजुली पाएम उत्पादन लागत प्रतिबोरा २० देखि २५ रुपैयाँसम्म घट्न सक्छ ।
‘गत महिना होङ्शी सिमेन्टले बिजुली पायो । अहिले उसको लागत प्रतिबोरा २५ रुपैयाँ सम्म घट्ने बताइएको छ,’ उनले भने ‘यसरी सबै सिमेन्ट उद्योग बिजुली पाए सबैको लागत प्रतिबोरा २० रुपैयाँ हाराहारी घट्न सक्छ । यसले बजार मूल्य समेत सस्तो हुन्छ ।’
अझै सिमेन्ट उद्योगहरुका लागि १०० मेगावाट बिजुली आवश्यक रहेको थापा बताउँछन् । ‘क्षमता अनुसार कुनैले धेरै कुनैले थोरै माग गरेका छन्, हाल संचालनमा रहेका उद्योगलाई १०० मेगावाट बिजुली उपलब्ध भए माग पूर्ति हुन्छ,’ उनले भने ।