काठमाडौं। अबदेखि बैंकमा खाता नखोली वैदेशिक रोजगारीमा जान नपाइने भएको छ । सरकारले काम गर्न विदेश जानेहरुलाई बैंक खाता अनिवार्य गरेको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै आज (भदौ १६ गते) बाटै लागू हुने गरी बैंक खाता अनिवार्य गरेको हो।
विभागका अनुसार, श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ। बैंक खाता बिना कुनैपनि व्यक्तिले श्रम स्वीकृति नपाउने विभागले जनाएको छ ।
सरकारले हुन्डीबाट हुने अवैध कारोबार रोक्न बैंक यस्तो व्यवस्था गरेको जनाएको छ । वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफूले कमाएको पैसा यही खातामा पठाउनु पर्छ। यदि उसले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा अर्को पटक श्रम स्वीकृति नपाउने विभागले जनाएको छ ।
विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा पनि विवरण अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।