बैंकमा राखेको पैसा धमाधम झिक्दै, एक महिनामै कसले झिक्यो ४३ अर्ब ?

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । तरलता अभाव झेरिरहेका बैंकहरु भएकै निक्षेप पनि घट्न थालेपछि झनै समस्यामा परेका छन् ।

 

नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्ब रुपैयाँले घटेको छ । गत असोज मसान्तसम्म कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्बमा सीमित भएको छ ।

 

मंसिरको पहिलो सातमा मात्रै निक्षेप ७ अर्बले घटेको संघले जनाएको छ । गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्बमा झरेको छ ।

 

पछिल्लो समय नेपाल आयल निगमले तेल एकैपटक ठूलो रकम झिकेकाले निक्षेप बाहिरिएको बैंकरहरु बताउँछन् । त्यस्तै, चाडवाड सकिएकाले यसअघि बैंकका पैसा राखेकाहरुले पनि व्यापार व्यवसाय गर्न पैसा झिकेको अनुमान गरिएको छ ।

 

एक महिनाको अवधिमा ४३ अर्ब घट्नुका बाबजूद कर्जा लगानी भने बढेको छ । गत असोज मसान्तसम्मको कुल ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म ३६ अर्बले बढेर ४० खर्ब ४१ अर्ब पुगेको छ ।

 

सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ । सोही अवधिमा कर्जा रु ३६ अर्बले बढेको छ । सङ्घका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप ७ अर्बले घट्दा कर्जा लगानी ७ अर्बले बढेको छ ।

 

गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो ।

 

असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

 

पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मक रुपमा वृद्धि नभएका कारणले गर्दा निक्षेपमा चाप परेको सङ्घले जनाएको छ ।

सिटिजन्स बैंकले कमलादीमा खोल्यो ‘प्रिभिलेज काउन्टर’ Read Previous

सिटिजन्स बैंकले कमलादीमा खोल्यो ‘प्रिभिलेज काउन्टर’

जंगलमा अर्बौंको काठ कुहिएर खेर जाँदै, प्रयोग गर्न छैन सरकारी चासो Read Next

जंगलमा अर्बौंको काठ कुहिएर खेर जाँदै, प्रयोग गर्न छैन सरकारी चासो