काठमाडौं । देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये अझै १८ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ को असार मसान्त सम्ममा ७३५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
राष्ट्र बैंकको अनुसार सबैभन्दा धेरै कर्णाली र सुदूर पश्चिम प्रदेशको ६–६ वटा स्थानीय निकायमा बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशमा जम्मा ७९ वटामध्ये ७३ र सुदूरपश्मिको ८८ मध्ये ८२ स्थानीय निकायमा बैंकका शाखा पुगेका छन् ।

यस्तै, १ नंं. प्रदेशमा एक, प्रदेश नं. २ र ३ को समान दुई/दुई र गण्डकी प्रदेशका एक स्थानीय निकायमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेका छन् ।
प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, प्रदेश २ को १३६ मध्ये १३४ मा शाखा पुगेको छ । यस्तै, प्रदेश ३ को ११९ मध्ये ११७ वटा र गण्डकी प्रदेशको ८५ वटामध्ये ८४ स्थानीय निकायमा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।
यता, प्रदेश ५ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश ५ मा रहेका १०९ स्थानीय तहमै बैंकको शाखा पुगेका छन् ।