काठमाडौं । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो हस्तकलाका सामग्री । वर्षेनी करोडौं रुपैयाँ बराबरको हस्ताकलाजन्य वस्तु निर्यात हुँदै आएको छ ।
नेपालमा समेत वर्षेनी ठूलो परिमाणका हस्तकला सामग्रीको व्यापार हुन्छ । स्वदेश र विदेशमा गरी वार्षिक झन्डै १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको नेपाल हस्ताकला महासंले जनाएको छ ।
स्वदेश र विदेशमा समेत राम्रो व्यापार रहेको हस्तकलाको सामग्री उत्पादन गर्ने कच्चा पदार्थको मूल्य अचाक्ली बढ्दा पछिल्लो समय समग्र व्यवसायमै समस्या आउन थालेको व्यवसायीहरु बताउँछन् ।
नेपाल हस्तकला महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यका अनुसार हस्तकला क्षेत्रमा उत्पादन र बजार (आन्तरिक बजार र वाह्य बजार) राम्रो भए पनि कच्चा पदार्थको अभाव र मूल्यवृद्धिले समस्या भएको बताए ।
हरेक वर्ष कच्चा पदार्थको मूल्य वृद्धि हुँदै जाँदा हस्तकला क्षेत्रमा समस्या भएको शाक्यले बताए । ‘ऊन,कपडा, धागोसँगै धातुजन्य वस्तुको मूल्य हरेक वर्ष दोब्बरले वृद्धि भएको छ, कार्गो चार्ज समेत महङ्गो भएकाले हस्तकला क्षेत्रमा धेरै समस्या भएको छ, एक वर्षकै अन्तरालमा तामाको मूल्य नै दोब्बर वृद्धिभएको छ, गत वर्ष ९ सय (प्रतिकिलो) रहेको तामा यो वर्ष १९ सय पुगेको छ,’ शाक्यले भने ।
महँगोमा कच्चा पदार्थ आयात गरी वस्त बनाउँदा मूल्य पहिलाकोभन्दा धेरै बढ्ने भएकाले व्यापारमा समेत असर परेको उनको भनाइ छ ।
उनले सरकारले सवै वस्तुलाई एउटै नीति लिँदा व्यवसायीलाई अफ्ठेरो परेको बताए । ‘सरकारले हस्तकला क्षेत्रमा कुनै ठोस नीती नियम ल्याउन सकेन, चाउचाउ , डण्डी र हस्तकलाको लागि एउटै नीतिले काम गर्छ त ?’ उनले प्रश्न गरे । आन्तरिक र बाह्य बजार समेत राम्रो भएको हस्तकला क्षेत्रको लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने शाक्यको भनाइ छ ।
हस्तकलाको लागि आवश्यक ऊन, कपडा, धागो लगाएतका सामग्री छिमेकी मुलुक चीनबाट र अन्य आवश्यक कच्चा पदार्थ मलेसिया, दुबइ लगायत देशबाट आउने उनले बताए । शाक्यका अनुसार हरेक वर्ष ५ अर्ब बराबरको कच्चा पदार्थ आवश्यक हुने भए पनि उत्पादन र बजार पनि उत्तिकै राम्रो छ ।
पछिल्लो समय राडीपाखीमा प्रयोग हुने सामग्री प्रयोग गरेर जुक्ता, चप्पल, टोपी, सजावटको सामान लगाएतको निर्माण गर्ने ट्रेन बढेकाले यही एउटा उत्पादनले मात्र वार्षिक २ अर्ब बराबरको सामाग्री विभिन्न देशमा निर्यात हुने गरेको उनले जानकारी दिए ।
हस्तकला अन्तर्गत धातुकलालाई सबैभन्दा पुरानो मानिन्छ । तर मूर्तिकला छिमेकी मुलुक चीनमा मात्र वार्षिक २ अर्बको निर्यात हुने गरेको महासंघले जानकारी दिएको छ ।
हस्तकलालाई प्रवद्र्धन गर्नको लागि सरकारले सहयोग नगरेको महासंघले जनाएको छ । ‘ सरकारसँग हस्तकला प्रवद्र्धनको लागि नीति नियम छैन, चाउचाउ, फलाम डण्डी र हस्तकलाको लागि एउटै नीति छ त्यसरी हुन्छ, छुटटै नीति ल्याएर व्यवस्थित गर्नुपर्यो नि,’ शाक्यले भने हरेक वस्तुहरु आयात गर्नुपर्ने अवस्थामा हस्तकलाको निर्यात हुन्छ भने यसलाई अझ व्यवस्थित गर्दै लान सरकारले चाँसो देखाएन ।’
हस्तकला अन्तर्गत, धातुकला, मूर्तिकला चाँदि , पस्मिना जुत्ताचप्पल, टोपी,सजावटका समाना , ढाकाका कपडा, गरगहना लगाएत निर्माण हुने गरेको छ ।
हस्तकला महासंघका अनुसार हरेक वर्ष अर्बौँ मूल्य बराबरका हस्तकलाका विभिन्न सामग्रीहरु अमेरीका, फ्रान्स , क्यानडा,नर्वे, न्यूजिल्याण्ड लगायत विभिन्न २३ देशमा निर्यात हुँदै आएको छ । जसले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएको छ । महासंघका अनुसार हरेक वर्ष १२ अर्ब बराबरको हस्तकलाका सामाग्रीहरुको व्यापार हुने गरेको छ ।
शाक्यका अनुसार हस्तकला व्यवसायमा २ खर्ब लगानी रहेको छ भने ८ लाखले रोजगारी समेत पाएका छन् । महासंघमा ४ हजार बढी व्यवसायी आबद्ध छन् ।