छिमेक लघुवित्तको नाफा साढे तीन गुणाले वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकको खुद नाफा झन्डै साढे तीन गुणाले वृद्धि भएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २३१.५४ प्रतिशतले वृद्धि भएको छ ।

 

चालू आवको असोज मसान्तसम्म लघुवित्तले २१ करोड ४१ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड ९६ लाख रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा लघुवित्तले ६ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्दा र खराब कर्जा घट्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २३.५० प्रतिशतले बढेर ५३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा उल्लेख्य रुपमा बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ४ करोड ऋणात्मक रहेको लघुवित्तको संचालन मुनाफा चालू वर्षको सोही अवधिमा बढेर ३१ करोड रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिसम्म लघुवित्तले २३ अर्ब ५७ करोड करोड निक्षेप संकलन र ५ अर्ब ५१ करोड सापटी लिइ कुल २६ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ८३ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३ अर्ब २८ करोड रुपैयाँ संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी साढे दुई गुणाले बढेर १७.२२ रुपैयाँबाट बढेर ४६.८० रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ४.२४ प्रतिशतबाट घटेर १.०३ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २७९.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.८२ प्रतिशत रहेको छ ।

ब्याजदरमा राष्ट्र बैंकको लगाम, बैंकहरुले ब्याज बढाउने तयारी गरिरहेकै बेला आयो नयाँ निर्देशन Read Previous

ब्याजदरमा राष्ट्र बैंकको लगाम, बैंकहरुले ब्याज बढाउने तयारी गरिरहेकै बेला आयो नयाँ निर्देशन

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?