काठमाडौं । नेप्सेमा सूचीकृत दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज (कात्तिक २९ गते) अन्तिम दिन रहेको छ । लक्ष्मी र आरएसडीसी लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (कात्तिक ३० गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
लक्ष्मी लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते दशौं वार्षिक साधारण सभा बोलाएको छ ।
लक्ष्मीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।
त्यसैगरी, आरएसडीसी लघुवित्तले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले पनि मंसिर १० गते एशियन होटल, बुटवलमा आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
दुवै लघुवित्तको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।