वाग्मती ब्यूटिफिकेसन : सम्झौता सकिएको १ वर्षपछि पूरानै ठेकेदारलाई म्याद थप्ने तयारी

काठमाडौं । वाग्मती ब्यूटिफिकेसन निर्माणको बाँकी काम पुरानै ठेकदारलाई दिइने भएको छ । २५ प्रतिशत काम बाँकी रहेको सो आयोजनाको म्याद थपिने भएको हो ।

 

आयोजनालाई दुई भागमा विभाजन गरी काम भइरहेको थियो । अहिले दोस्रो खण्डको काम भइरहेको पनि पहिलो खण्डको काम ठेक्का म्याद गुज्रिदाँ रोकिएको छ ।

 

ठेक्का म्याद नथप्दा ब्यूटिफिकेसन निर्माण करिब १ वर्षदेखि ठप्प छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले वाग्मती ब्यूटिफिकेसन निर्माण ७५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले हाल आयोजना अन्तर्गत म्याद थपको प्रकृमा रहेको र केही दिनमै ठेक्का नवीकरण गरिने बताए ।

 

‘पूरानै ठेकेदार (ल्याण्डेल मिल्स कन्सलटेन्ट)लाई म्याद थप गरेर दिने निर्णय भएको छ, सहरी विकास मन्त्रालयबाट स्वीकृत भइसकेको छ, अब २/३ दिनमा काम सुरु हुन्छ,’ अर्यालले चाणक्य पोष्टसँग भने ।

 

ल्याण्डेल मिल्सले २०७३ मंसिर १ गते ठेक्का लिएको थियो । ठेक्का अवधि २०७७ असोज २५ गते नै सकिएको थियो । म्याद थप नहुँदा आयोजना १ वर्षदेखि ठप्प छ ।

 

उनले चालु आर्थिक वर्षभित्रै ब्यूटिफिकेसनको काम सक्ने गरी सम्झौता हुन लागेको बताए । उनका अनुसार गोकर्णदेखि सुन्दरीजल र थापाथलीको सुकुम्बासी क्षेत्र बाहेक सबैमा चालु आवमै ब्यूटीफिकेसनको काम सकिने छ ।

 

‘गोकर्णदेखि सुन्दरी जल क्षेत्रमा नयाँ सहरका कारण हामीले गर्न मिलेन, थापाथलीमा सुकुम्बासी बस्ती छ त्यो नहटाई त्यहाँ बन्दै,’ अर्यालले भने ।

 

कहाँ-कहाँ छ अवरोध ?

 

गुह्येश्वरी–गोकर्ण क्षेत्रमा काम ठप्प रहेको बताए । तिलगंगा क्षेत्रमा  ९०० मिटरमा ब्यूटिफिकेसनको काम सम्पन्न भएसकेको छ । सो क्षेत्रको सुकुम्बासी स्थानमा ३ किलोमिटर निर्माण हुन सकेको छैन ।

 

उनले गुह्येश्वरी-गोकर्ण क्षेत्रमा ठेकेदार मोबिलाइज भएको ६ महिनामा सम्पन्न हुने बताए । ‘कुलको ७५ प्रतिशत काम भइसकेको छ, गुह्येश्वरी–गोकर्णमा काम ठप्प छ, अर्यालले चाणक्य पोष्टसँग भने ‘तीनकुने क्षेत्रमा सुकुम्बासी वस्तीका कारण काम भएको छैन ।’

 

उनले वाग्मती ब्यूटिफिकेसन निर्माणको ठेक्का मोबीलाइज भएको ६ महिनामा सम्पन्न हुने दाबी गरे । हाल गुह्येश्व्री–गोकर्णको ठेक्का म्याद सकिएकोले पूरा काम हुन सकेको छैन । वाग्मती सभ्यताले पूरानै ठेक्का कम्पनीलाई म्याद थप गरेर निर्माण सम्पन्न गर्ने तयारीमा रहेको हो ।

 

मुआब्जा र जमिनको विषय टुङगो लागि सकेको उनले बताए । कोभिडका कारण निषेधाज्ञ भएका कारण प्रभाव परेको उनको भनाइ छ । केही समय म्याद थप गर्ने अथवा नयाँ ठेक्का आह्वान गर्ने विषयमा अल्झिएको यस आयोजना अब भने पूरानै ठेक्का निरन्तरता गर्दै अघि बढ्ने भएको छ ।

 

दोस्रो खण्डको निरन्तर काम हुँदै

 

दोस्रो खण्डमा इपिट्सा (इपीटीआइएसए) कनसलटेन्टले काम गरिरहेको छ । सो खण्डमा अन्तर्गत यूएन पार्क–तीनकुने– बल्खुमा ब्यूटिफिकेसनको काम भइरहेको छ ।

 

वाग्मती ब्युटिफिकेसन परियोजना अन्तर्गत गोकर्णदेखि गुह्येश्वरीसम्म ६.१ किलोमिटर क्षेत्रफल र तिलगंगादेखि भत्केको पुलसम्म ९०० मिटर गरी कुल ७ किलोमिटर क्षेत्रफल समावेश रहेको छ । त्यसमा स्थानीय बासिन्दाको कुल ८ सय ५५ रोपनी जग्गा मुआब्जामा परेको समितिको नापी शाखाको तथ्याङ्कले देखाएको छ ।

 

आयोजना अन्तर्गत काम हुन नसक्नुमा अर्को कारण जग्गाको मुआब्जाको विषय पनि रहेकोे छ । सरकार र जग्गाधनीबीच उक्त मुआब्जाको विषय टुङ्गो लाग्न नसक्दा पटकपटक विवाद उत्पन्न भइरहेको प्रवक्ता अयालको भनाइ छ ।

 

गोकर्णदेखि गुह्येश्वरीसम्म ६१० रोपनी जग्गा स्थानीयको परेको थियो । यसको मुआब्जा सरकारले पहिले नै वितरण गरिसकेको छ । सरकारले उक्त जग्गाको लागि ७१ करोड ३४ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकेको परियोजनाले जनाएको छ ।

 

बजेट पर्याप्त भए पनि ठेक्का लगाउन नसक्दा ब्यूटिफिकेसन निर्माण काम समयमै पूरा हुन नसकेको हो ।

 

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

डेढ अर्ब लगानीमा कर्णाली रङ्गशाला निर्माण सुरू, फिफा स्ट्याण्डर्डको हुने Read Next

डेढ अर्ब लगानीमा कर्णाली रङ्गशाला निर्माण सुरू, फिफा स्ट्याण्डर्डको हुने