काठमाडौं । चरम तरलता अभाव भइरहेकै बेला झन् बैंकमा राखेको पैसा पनि बाहिरिएको छ । बैंकहरुले थप निक्षेप संकलन गर्न नसकिरहेको बेलामा भएकै पैसा पनि धमाधम बाहिरिन थालेको हो ।
नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिकको चार सातामा मात्रै बैंकिङ प्रणालीबाट ४६ अर्ब रुपैयाँ निक्षेपले बाहिरिएको हो ।
कात्तिक पहिलो साता २० अर्ब, दोस्रो साता २ अर्ब, तेस्रो सातामा ९ अर्ब र चौथो सातामा १५ अर्ब निक्षेप बाहिरिएको संघले जनाएको छ । असोज मसान्तसम्म बैंकहरुमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक २६ गतेसम्म आउँदा घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ ।
नेपाल आयल निगमले तेल किन्न एकैपटक ठूलो रकम झिकेकाले निक्षेप घटेको बताइएको छ । यस्तै, दशैं, तिहारको बेला बैंकमा पैसा राखेको उद्योगी, व्यवसायीले चाडवाड सकिएसँगै व्यापार, व्यवसाय गर्न पैसा झिकेको बताइन्छ ।

ठूलो मात्रमा निक्षेप बाहिरिएसँगै आक्रमक कर्जा विस्तार गर्दै आएका बैंकहरुको कर्जा विस्तार पनि सुस्त भएको छ । पछिल्लो ४ सातामा ४६ अर्ब निक्षेप बाहिरिँदा बैंकहरुले जम्मा ३० अर्ब मात्र कर्जा प्रवाह गरेका छन् । कात्तिक चौथो सातासम्म बैंकहरुले कुल ४० खर्ब २८ अर्ब कर्जा प्रवाह गरेका छन् ।