काठमाडौं । अधिकांश महिलाहरू अझै पनि महिनावारीको समयमा प्रयोग हुने स्यानेटरी प्याड अरूले देख्ने गरी बोकेर हिँड्न लजाउँछन्/डराउँछन् । अझ पसलबाट प्याड किन्दा अरूले थाहा नपाउन भनेर कागतमा पोको पारेर मात्र बोक्छन् । किनभने हाम्रो समाजमा अझै पनि महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा लिँदैनौं । र, खुलेर कुरा गर्न पनि रुचाउँदैनौं ।
महिनावारीको समयमा प्याडको प्रयोग गरिन्छ भन्ने सबैलाई जानकारी भएको विषय हो । तर त्यसकै बारेमा खुलेर कुरा गर्न भने हाम्रो समाज अझै हिच्किचाउँछ । महिलाहरू स्वयम् नै आफ्नो महिनावारीको बारेमा खुलेआम कुरा गर्न सक्दैनन् । तर ज्ञान महर्जन यस्ता पुरुष हुन् जो, महिनावारीको समयमा प्रयोग हुने प्याड निर्माण गरेर हरेक महिलाहरूको महिनावारीमा जोडिन आइपुगेका छन् ।
उनी महिनावारीको हरेक विषयमा खुलेर बोल्न चाहन्छन् । ‘महिनावारी प्राकृतिक प्रक्रिया हो, यसमा लजाउनु र डराउनु पर्ने कुनै कारण छैन नि होइन ?,’ महर्जनले प्रतिप्रश्न गरे ।

आफ्नी आमा हुँदै श्रीमतीसम्म महिनावारीका हरेक विषयमा जिज्ञासा राख्ने महर्जन, विस्तारै हरेक महिलाहरूको स्वास्थ्यप्रति चासो राख्न थाले अन्नतः उनी महिनावारीमा महिलाको सारथी बन्न सफल भएका छन् । एक्सपोन नेपाल नामक संस्थामार्फत महिलाहरूको यौन, दुराचार र दुर्व्यवहार विरुद्ध काम गर्दै आएका उनी जब महिलाहरू आफ्नो महिनावारीमा कति सतर्क छन् र कसरी व्यवस्थापन गर्छन् भन्ने बुझ्दै जाँदा आम महिला दिदिबहिनीहरूले घरमै उपलब्ध लुगाको प्रयोग गरेको पाए । र, त्यसपछि आफ्नै घरमा उपलब्ध लुगालाई महिनावारीमा सहज प्रयोग गरिन्छ भने यसलाई किन व्यवस्थित नगर्ने भन्ने सोचका साथ उनी अघि बढे ।
महर्जनले आफ्नो सोचलाई व्यवहारमा उतार्न सन् २०१६ मा ललितपुरको गाबहा (हाल जावलाखेल)मा प्याड उद्योग खोले । सुरूवाती समयमा आफूले निर्माण गरेको प्याड निःशुल्क दिँदा पनि महिनामा ४० जनाले प्रयोग नगरेको तीतो अनुभव उनी सुनाउँछन् ।
माग धान्न धौधौ
तर, अहिले बजारमा प्याडको माग धेरै भएकाले माग अनुसार उपलब्ध गराउन नसकेको नसकेको महर्जन बताउँछन् । ‘मैले हार खाइन, महिनामा ४० पिस मात्र भएपनी प्रयोग गर्ने महिला दिदीबहिनी त भए पनि विस्तारै सबैलाई बुझाउँछु भनेर अघि बढ्दै गए, सफल पनि भए,’ उनले भने ।

विगत ६ वर्षदेखि सजिलो प्याड निर्माणमा लागि परेका महर्जनलाई सुरूआति समय प्याडको बारेमा जानकारी र प्रयोगबारे बुझाउन जति कठिन थियो, अहिले त्यति सहज छ । महिनामा ४० पिस प्याड प्रयोग गर्न नसक्ने समाजबाट हाल उनी बजारको माग धान्न नसक्ने अवस्थामा आइपुगेका छन् ।
सुरूआति समयमा ४० पिस प्रयोग गर्ने मान्छेको अभाव थियो, अहिले मासिक ५ हजारभन्दा बढी प्याड उत्पादन हुन्छ , बजारको माग धान्न सक्ने अवस्था कहाँ छ र । ‘ हामीले उत्पादन गरेको प्याड बजार सम्म पुर्याउन भ्याएका हुँदैनौं, प्रयोगकर्ता आफैँ आएर उत्पादन भएकै ठाउँबाट लैजानु हुन्छ,’ उनले प्रस्ट पारे ।
महिलालाई रोजगारी
आर्थिक अभावको कारण समाजमा महिलापछि परेको बताउने महर्जनले प्याड उत्पादनमा महिलालाई मात्र रोजगारी दिएका छन् । आर्थिक उपार्जनमा महिलालाई सक्षम बनाउनु पर्छ भन्ने सोचका साथ उनले लकडाउन अगाडि ६० जना महिलालाई रोजगारी प्रदान गरेका थिए । तर कोरोनाको कारण हाल २५ जना महिलालाई प्याड उत्पादनमा रोजगारी प्रदान गर्दै आएको उनले बताए ।

‘सबैको आ–आफ्नो समस्या हुन्छ, लक डाउनपछि काममा धेरै मान्छे राख्न सकिएन, किनभने त्यो समय बजार ठप्प थियो,’ उनी भन्छन् । विगत ६ वर्षदेखि नेपाली प्याड म्यानको रूपमा चिनिँदै आएका महर्जन महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनको लागि प्याड निर्माणमा महिलाहरूलाई मात्र रोजगारी प्रदान गरेको बताउँछन् ।
भन्छन्, आर्थिक अवस्था कमजोर भएको र एकल महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनको लागि लागि परेको छु, यहाँ त्यस्ता व्यक्तिलाई मात्र काम दिइएको छ । त्यहाँ काम गर्ने महिलाहरूलाई आफ्नो एक रुपैयाँ पनि लगानी नगरी एउटा प्याड निर्माण गरेबापत् १९ रुपैयाँ प्रदान गर्दै आएको बताउँछन् । ‘यहाँ काम गर्ने महिलाहरूले एउटा प्याड बनाए बापत १९ रुपैयाँ कमाउँछन् । केहीले मासिक २५ हजारसम्म कमाउने गरेका छन्,’ उनले भने ।
महिनावारी र सुरक्षित प्याडबारे सूचना तथा तालिम दिन आफू देशका विभिन्न २३ जिल्लामा पुगेको उनी बताउँछन् । उनी भन्छन, ‘ तालिका साथै समाजमा पछि परेका महिलाहरूलाई आत्मनिर्भर बनाउन पनि सँगसँगै लागि परेको छु ।’

‘सजिलो प्याड’ नै नाम किन राखियो ?
महर्जनले निर्माण गरेको प्याडलाई ‘सजिलो’ प्याड नाम राखिएको छ । सजिलो प्याड नै भनेर किन नाम राख्नु भयो भन्ने सवालमा उनी भन्छन्, ‘यो वातावरणमैत्री, दिगो र सहज हुने भएकाले नै आफूले उत्पादन गरेको प्याडलाई सजिलो प्याडको नाम दिएको हुँ ।’
स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर आफूले प्याड उत्पादन थालेको महर्जन बताउँछन् । ‘हामीले बजारमा पाइने स्यानेटरी प्याडले पर्ने असर, के कस्ता छन् भन्ने सबै बुझेर, मात्र सजिलो प्याड निर्माण गरेका छौं । स्त्रीरोग विशेषज्ञसँग बसेर छलफल गर्दा बजारमा पाइने स्यानेटरी प्याडको असर धेरै पायौं । त्यसपछि मात्र शरीरमा कुनै प्रकारको असर नगर्ने प्याड निर्माणमा लागेका हौं । विगत ६ वर्षदेखिको उत्पादन हेर्दा हामीले उत्पादन गरेको प्याडमा कुनै कमजोरी भएको भेटिएको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।

महर्जनले प्याडमा बटमको प्रयोग गरका छन् । ‘बरु सुरूआती चरणमा अण्डरवयर अड्याउनको लागि प्रयोग गरिएको च्यारच्यारे (ज्याकेट तथा जुत्तामा प्रयोग हुने) ले छालामा समस्या भयो भन्ने गुनासो आएपछि त्यसयता, बटम (क्लियर ब्यागमा प्रयोग हुने) प्रयोग गरेका छौं, प्रयोग गर्ने सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, कुनै गुनासो आएको छैन, सकारात्मक प्रतिक्रियाले उत्साहित छु ।,’
सुरूआतमा ९ लाख ऋण गरेर सुरू गरेको प्याड निर्माणमा हाल उनले २० लाख लगानी गरेका छन् । नरम सुती कपडाबाट निर्माण गरिएको प्याडले शरीरमा कुनै असर नगर्ने बताउने उनी बजारमा पाउने स्यानेटरी प्याड भन्दा आफूले निर्माण गरेको प्याड १५ गुणा सुरक्षित र सहज भएको बताउँछन् । त्यसैले त सजिलो प्याड भयो होइन र ?
कति मूल्यमा पाइन्छ ?
महर्जनले निर्माण गर्दै आएका सजिलो प्याड तीन प्रकारका छन् । मिडियम, लार्ज र एक्टालार्ज । जसमध्ये मिडियम प्रतिप्याकेट (४ पिस) ६४०, लार्ज प्रतिप्याकेट (४पिस) ६८० र एक्स्टा लार्ज प्रतिप्याकेट (४ पिस) ७०० रुपैयाँ रहेको छ ।

सुन्दा बजारमा पाइने प्याडभन्दा महंगो लाग्ने भएता पनि यथार्थ त्यस्तो नभएको महर्जन बताउँछन् । भन्छन् ‘बजारमा सय रुपैयाँ तिरेर किनेको प्याड महिनावारीको चार दिनलाई जसोतसो पुग्ला, जसको लागि वर्षमा १२ सय रुपैयाँलाग्ने देखिन्छ, फेरि स्वास्थ्यका दृष्टिकोणले जोखिमपूर्ण पनि छ, तर हामीले उत्पादन गरेको प्याडलाई ६४० रुपैयाँ तिरेर २ वर्षसम्म प्रयोग गर्न सक्नुहुन्छ । स्वास्थ्यका हिसावले राम्रो पनि छ । ’
हाल उनको उत्पदानमा एक प्याकेट प्याड किन्न चाहानेले पनि सजिलै प्राप्त गर्न सक्छन् । दराजको अनलाइन एपबाट खरीद गर्न सकिने व्यवस्था रहेको उनले बताए । पछिल्लो समयमा बजारमा पाइने स्यानेटरी प्याडको असर थाहा पाउँदै गएपछि कपडाबाट बनेका यस्ता प्याडको माग बढ्दै गएकाले विस्तारै बजार र डिपार्टमेन्ट स्टोरसम्म पुर्याउने उनको योजना छ ।
कामदारलाई महिनावारीको बेला बिदा
सरकारी कार्यालय वा अन्य उद्योगमा महिलाहरूलाई महिनावारी बिदा दिने चलन छैन । यस्तो बेला शारीरिक र मानसिक समस्या हुने भए पनि महिलाहरू काममा आउनै पर्छ । तर महर्जनले भने कामदारलाई महिनावारीको बेला बिदा दिने गरेका छन् ।
‘मैले आफ्नै श्रीमतीसँग सोधे, महिनावारीमा कति समस्या हुन्छ, बिदा बस्नुपर्ने हुन्छ ? उनले महिनावारीको पहिलो /दोस्रो दिन धेरै गाह्रो हुने बताएपछि मैले हरेक महिलाहरूलाई महिनावारीमा पे बिदा (१ दिन छुट्टी) दिने गरेको छु । तलब काटिदैन । उहाँहरुले काम नगरे पनि सो दिनको पारिश्रमिक पाउनुहुन्छ, महर्जनले भन्छन्, ‘यो सोच एकजना व्यक्तिमा मात्र नभएर हरेक ब्यक्तिमा हुनुपर्छ, महिनावारीको पीडालाई पनि बुझ्नुपर्छ ।’
