नेप्सेमा झिनो गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । गत साता करिब २०० अंकले घटेको बजार आज पनि ओरालै लागेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो साता औसतमा दैनिक ५ अर्ब बढी कारोबार हुँदै आएकोमा आज घटेर ४ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा आइपुगेको छ । आइतबार २३० कम्पनीको ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूह मध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको छ भने लगानी समूह ३.६२ प्रतिशले घटेको छ ।

 

कारोबारमा आएका २३० कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आइसीएफसी फाइनान्स २४ करोड र नबिल बैंक १६ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटदर्स नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, मानुषी लघुवित्त, तेह्रथुम पावर र महालक्ष्मी विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज एचआइडीसीएलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घटेको छ ।

तरलता समस्या तत्काल समाधान गर्न सरकारले पहल गर्नुपर्छ  : वरिष्ठ उपाध्यक्ष ढकाल Read Previous

तरलता समस्या तत्काल समाधान गर्न सरकारले पहल गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

'सजिलो प्याड' बनाउने ज्ञान महर्जन, जसले प्याडको प्रयोग र उत्पादनमा यसरी ल्याउँदै छन् क्रान्ति Read Next

'सजिलो प्याड' बनाउने ज्ञान महर्जन, जसले प्याडको प्रयोग र उत्पादनमा यसरी ल्याउँदै छन् क्रान्ति