चिनियाँ कम्पनीद्धारा साझाका ४० वटा विद्युतीय बस बनाउन सुरू, कहिलेसम्म आइपुग्छन् ?

काठमाडौं । चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझा यातायातका लागि ४० वटा विद्युतीय बस निर्माण सुरू गरेको छ ।

 

असोज २२ गते साझा यातायात र चीनको सीएचटीसी कम्पनी बीच सम्झौता भए लगत्तै चिनियाँ कम्पनीले विद्युतीय बस निर्माण सुरू गरेको हो ।

 

साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधारले सम्झौतापछि एलसी खुल्ने प्रकृया भई चिनियाँ कम्पनीले बस निर्माण थालिसकेको बताए । उनले माघ महिना भित्र ३ वटा बस परीक्षणका लागि ल्याउने बताए ।

 

‘अहिले चिनियाँ कम्पनीले बस बनाउन सुरू गरिसकेको छ, माघ महिना भित्र ३ वटा बस परीक्षणका लागि ल्याउने छौं, त्यसपछि अन्य बस पनि ल्याउने छौं, चालु आर्थिक वर्षमा सबै बस आउछ,’ तुलाधारले चाणक्य पोष्टसँग भने ।

 

सम्झौता हस्ताक्षर भएको ४ महिनामा कम्पनीले ३ वटा बस ल्याउने छ । ३ वटा बस ल्याएपछि काठमाडौँको सडकमा गुडाउन कस्तो छ भनेर परीक्षण गरिने उनले बताए । उक्त ३ वटा बस ल्याइएको अर्को ४ महिनापछि बाँकी ३७ वटा बस आयात गरिने छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए ।

 

साढे ८ मिटर लामो २६ सिटे बस आयात गरिने भएको हो । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको उनले बताए ।

 

बसका लागि आवश्यक चार्जिङ स्टेशन सोही कम्पनील बनाउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाइ दिने छ । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

 

साझा यातायातले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई बोलपत्र आह्वान गरेको थियो । ९ वटा कम्पनीले प्रस्ताव प्रतिवेदन पेश गरेका थिए । साझा यातायात, नेपाल सरकारको प्रतिनिधि, महानगरपालिकाको प्रतिनिधि, प्राधिकरण प्रतिनिधिको समिति बनाएर एउटा कम्पनी छनोट गरिएको हो । विभिन्न अध्ययन गरेर सबैभन्दा कम मूल्य कबुल गरेको उक्त कम्पनी छनोट गरिएको थियो ।

 

रघुपति जुट मिल्सद्धारा हिरक जयन्तिमा वृक्षरोपण Read Previous

रघुपति जुट मिल्सद्धारा हिरक जयन्तिमा वृक्षरोपण

सनराइज बैंकको घोषणा गर्‍यो ९ वर्ष यताकै कम लाभांश Read Next

सनराइज बैंकको घोषणा गर्‍यो ९ वर्ष यताकै कम लाभांश