नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ ।

 

गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

 

निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । जसको परिणाम स्वरुप निगमको कार्यकारी समितिको बैठक असार २९ गतेदेखि र निगम सञ्चालक समितिको बैठक असार ३१ गतेदेखि बस्न सकेको थिए ।

 

यही कात्तिक ११ गते सरकारले निगमकै पूर्वनिर्देशक युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको थियो । कार्यकारी अध्यक्ष अधिकारी र संयुक्त ट्रेड युनियनसँगको संवादबाट सृजित सहकार्य पश्चात कात्तिक १४ गते निगमको कार्यकारी समितिको बैठक बसी महत्वपूर्ण निर्णय गरी कार्यान्वयनमा आएको निगमले जनाएको छ ।

 

त्यस्तै कात्तिक १७ गते सञ्चालक समितिको बैठक बसी सञ्चालक समितिले निगमको लागि तत्काल अति आवश्यक मानिएको विषयमा नीतिगत निर्णयसहितको गतिशिलता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

निगमको सञ्चालक समितिको निर्णय निगमको कार्यसञ्चालनका लागि अति आवश्यक हुने र उक्त निर्णयले विभागीय कार्यसञ्चालन जस्ता महत्वपूर्ण विषयसँग प्रत्यक्ष सम्वन्ध राख्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

व्यावसायिक पशुपालनको सफल नमूना 'जिरी गाई फार्म' Read Previous

व्यावसायिक पशुपालनको सफल नमूना 'जिरी गाई फार्म'

१६ बैंकले घोषणा गरे लाभांश, कुनको कति ? Read Next

१६ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?