जिरी । काठमाडौं । व्यावसायिक पशुपालनमा सफल हुन नसकेका कयौं उदाहरण छन् । तर, करिब साढे ६ दशक अघि सुरू गरिएको जिरी गाइ फार्मले भने आफूलाई देशकै सफल गाई फार्मका रुपमा स्थापित गरेको छ ।दूध उत्पादन गर्ने उद्देश्यले स्थापन गरिएको उक्त गाई फार्म अहिले उन्नत जातका गाई उत्पादन गर्ने केन्द्र समेत बनेको छ ।
स्वीजरल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विंसं. २०१४ सालमा स्थापना भएको जिरी गाई फार्म (दोलखा) सम्भवतः नेपालकोे व्यावसायिक गाई फार्म हो । वि.सं. २०२० मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको उक्त गाई फार्म २०७५ देखि आनुवंशिक स्रोत केन्द्रका रूपमा संचालति छ ।
हस्तान्तरणपछि बागवानी, हटिकल्चर, पशुपालनलाई समेटेर ठूलो फार्म बनेको थियो । केही समयपछि बागबानी र हटिकल्चर छुटेर यो फार्म अहिले पुशपालनमा मात्र सीमित छ ।
स्वीजरल्याण्ड सरकारले सुरुमा यहाँ ब्राउन स्वीच गाई पालन गरे पनि त्यो सफल हुन नसकेपछि मुर्रा भैँसी पाल्न थालेको र त्यो पनि खासै राम्रो सफल हुन नसकेको नायब सेवा प्राविधिक बालकुमार दाहाल बताउँछन् ।

अहिले जर्सी गाई पाल्ने लक्ष्य सहित फार्ममा काम भइरहेको छ । जर्सी, होलस्टेन र त्यसका क्रसहरु उत्पादन तथा संरक्षण गर्ने काम भइरहेको उनले बताए । फार्ममा जर्सीगाईहरु डेढ सय वटा भएकोमा लिलामी पछि १०५ वटा गाई तथा बाछाबाछी राखिएका छन् । त्यसमा २२ वटा होलस्टेन र अन्य जर्सी तथा क्रस गाई रहेको उनले बताए ।
सप्तरी घर भएका दाहाल ४ वर्षदेखि यस फार्ममा कार्यरत रहेका छन् । होलस्टेन गाईबाट दूध धेरै उत्पादन हुने गर्छ । ठूलो आकारको हुने भएकाले यसले दूध धेरै दिए पनि दूधमा फ्याट कम हुने र पातलो दूध हुने गरेको उनले बताए । होलस्टेन गाई यूरोपियन गाईमा पर्छ ।
उक्त फार्म ८४ हेक्टरमा फैलिएको छ । यसको शाखा रामेछाप खिम्तीमा १२५ हेक्टरमा फैलिएको उनले जानकारी दिए । उक्त स्थानमा समेत बाछी, साँढे लगायतका वस्तु पाल्ने गरेको उनले बताए ।
यस केन्द्रमा विभिन्न नसलाहरु, गाईका पाठापाठीहरु, घाँसको बीउहरु उत्पादन गरी सुलभ दरमा विक्री वितरण गर्ने गरिन्छ । अमेरिकन, रुसी सिनामेल ल्याएर यहाँका गाईहरुबाट हाइब्रिड गाई उत्पादन गर्ने गरिन्छ ।
यस केन्द्रमा ७ जना स्थायी कर्मचारी, १५ जना अस्थायी कर्मचारी । दैनिक ज्यालादारीलाई घाँस काट्न, दूध दुहुने, सफा गर्नका लागि राखेको छ । ३२५ लिटर दैनिक दूध उत्पादन हुन्छ । वार्षिक टेन्डरबाट दूधको ठेक्का दिने गरेको उनले बताए ।

उन्नत जातको घाँस उत्पादन
यस केन्द्रमा घाँस बीउ उत्पादन हुन्छ । बहुवर्षिय राई घाँस, पासपालङको घाँसको बीउ उत्पादन गर्ने गरेको उनले बताए । केन्द्रले किसानलाई राजश्व काटेर विक्री गर्ने गरेको छ ।
पासपालङ घाँसको बीउ वार्षिक ३०० क्वीन्टल उत्पादन हुने गर्छ । राई घाँस उत्पादन र संकलन गर्न गाह्रो हुने भएकाले वार्षिक १०० क्वीन्टल मात्र उत्पादन हुने गरेको उनले बताए ।
उनले किसानले पनि केही सिकुन भनेर फार्म बनाएकोले यहाँ विभिन्न प्रकारका औजार तथा प्रविधिको प्रयोग गरिने गरेको बताए । उनले केन्द्रमा घाँस काट्ने सायथ (हसिँया जस्ते ठूलो आकारको) औजार प्रयोग गर्ने गरेको बताए ।
किसानलाई एक ट्याकटर घाँस काटन दिनभरी लाग्ने भए पनि फार्ममा सायथले २ घण्टामा एक ट्याक्टर घाँस काट्ने गरेको उनले बताए ।
उनले गाईवस्तुलाई के कस्ता खोप लगाउने भनेर समेत केन्द्रले किसानलाई जानकार दिने गरेको बताए । गाईलाई, गाई ब्रीडर, बंगुर ब्रिडर लगायतका समूह गठन गरेर प्रत्येक वर्ष घाँसको बीउ, नामले जुकाको औषधी, ट्रेनिङ दिँदै आएको बताए ।

केन्द्रमा हाइड्रोपनीक मेसिन प्रयोग गरी सुख्खा मौसममा घाँस नहुँदा तापक्रम मिलाई जमरा उत्पादन गरी गाईलाई खुवाउने गरेको उनले बताए । मिल्कीङ मेसिनले दूध दुहुने व्यवस्था केन्द्रा रहेको छ । उनले किसानले प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा लिन सक्ने धेरै काम फार्मले व्यवस्था गरेको बताए ।
यस फार्ममा बंगुरहरु पाल्ने गरेको पाइन्छ । बंगुर १५ वटा मात्र छन् । ल्याण्डेन्स, योक्सा र डिरोका जातका बंगुरहरु फार्ममा रहेका छन् । यसका पाठा पाठी उत्पादन गर्ने र सुलभ मूल्यमा विक्री गर्ने गरेको उनले बताए ।
बाहिर बजारमा ७ देखि ८ हजारमा यी जातका पाठापाठी विक्री हुन्छन् भने फार्मले ३५ सय रुपैयाँमा शुद्ध नसला पाठापाठी किसानलाई विक्री गर्ने गरेको उनले बताए ।
यहाँबाट नेपाल भरीका सबैले विभिन्न जातका गाईका बाछा, बंगुरका पाठापाठी किन्न पाउने व्यवस्था गरिएको उनले बताए । बंगुरको माग धेरै रहेको ३ सय जना पर्खाइमा रहेको उनले बताए । किसानहरुले पहिलेनै बुकिङ गरेर किन्ने गरेको बताए ।
बर्दिबास, ओखलढुंगा, सोलु, रामेछापदेखि किसानहरु बाछा तथा पाठापाठी किन्ने आउने गरेको बताए । फार्मले पशु तथा घाँस विक्रीबाट वार्षिक ९७/९८ लाख आम्दानी गर्ने गरेको छ । यो वर्ष ३ महिनामा २९ लाख रुपैयाँ आम्दानी संकलन भएको उनले जानकारी दिए ।