नेपालको ‘स्वीजरल्याण्ड’ जिरी पुग्दा मैले जे अनुभूत गरेँ…

काठमाडौं । काठमाडौंको धूलो, धुँवादेखि वाक्क लागेर फ्रेस हुन कतै हाइकिङ जान पाए पनि हुन्थ्यो नि भन्दै साथीहरुसँग सल्लाह गरिरहेको थिएँ । तर, कतै जाने टुंगो लागेको थिएन । शनिबार (कात्तिक १३ गते) बेलुका मोबाइलमा साथीको म्यासेज आयो । ‘ओइ जिरी जानी हो ?’ । त्यो म्यासेजले मलाई ढुंगा खोज्दा देउता मिलेजस्तै अनुभूति गरायो । मैले हत्तपत्त रिप्लाई गरें ‘जान्छु, कहिले जाने हो ?’ फेरि जवाफ आयो भोलि नै ।

 

भोलिपल्ट बिहानै ४ बजे उठियो, यात्रा जिरीको भन्दै फेसबुकका भित्तामा पोस्टाइयो । सानै छँदा नेपालको ‘स्वीजरल्याण्ड’ भनेर पढेको थिएँ । तर, आज त्यही ठाउँमा पुग्ने गन्तव्य तय भएपछि म रमाउँदै यात्रामा लागें । अनि केही पुराना र केही नयाँ साथी (पर्यटन प्रबद्र्धनका पत्रकारहरुको टोली) सँगै सुरु भयो जिरीको यात्रा ।

 

काठमाडौंबाट १८४ किलोमिटर दूरीमा रहेको जिरी हेर्न आँतुर थियौं । बस आफ्नै गतिमा गुडीरहेको थियो । हामी हाँस्दै, ठट्टा गर्दै, आफैंमा रमाउँदै थियौं बस भित्र । काठमाडौंबाट मुडेसम्म (१०७ किमी) यात्रा सहजै गरियो । पक्की सडक भएकाले त्यहाँ पुगेको पत्तो नै भएन । तर, मुडेदेखि चरिकोटसम्म २७ किलोमिटरको यात्रा भने निकै कष्टकर रह्यो । खाल्डैखाल्डा भएको बाटोका कारण लास्टसिटमा बसेको म र केही साथीहरुको २/४ पटक टाउको गाडीको सिलिङमा बजारियो । ढाडको त हिसाब छैन । दुई लेनको बनाउने भनेर करिब १ दशक अगाडि भत्काइएको यो सडकखण्ड निर्माण सम्पन्न नहुँदा दैनिक हजारौं यात्रुले मैले जस्तै कष्ट बेहोरी रहेका छन् ।

डाढ र टाउको ठोक्याउँदै चरिकोट पुगेपछि राहतको सास फेरियो । त्यसपछि फेरि चिल्लो सडकमा यात्रा सुरु भयो । चरिकोटदेखि खावाडाँडा जिरी पुग्न ११ किमी बाँकी)सम्म बाटो एकदमै राम्रो । यात्रा गर्न सहज । बिहान झण्डै ७ बजे काठमाडौं छोडेका हामी जिरी पुग्दा ५ बजिसकेको थियो । जिरी बजारमै रहेको एउटा होटलमा प्रवेश गर्यौं । गाडीमा बस्दा बस्दा खुट्टा गलिसकेका थिए । हामी कतै जाने भन्दा पनि एकै छिन आराम गर्न चाहन्थ्यौं । कोठाको साँचो लिएर म २ साथीहरु सहित भित्र प्रवेश गरे । कोठा भित्र छिर्न साथ झोला छेउकै टेबुल माथि राख्दै बालकोनीको ढोका तिर लागे । बाहिर जिरीलाई नियाल्न ।

 

‘अरु बजार जस्तै छ, किन भनियो होला नेपालको स्वीजरल्याण्ड ?’

 

जिरीलाई नेपालको स्वीजरल्याण्ड भनेर चिनाइन्छ (पढेको थिएँ) । म त्यहाँ पुगेपछि जिरी भित्रको स्वीजरल्याण्ड खोज्दै थिएँ । तर, यहाँका संरचनाले मलाई काठमाडौंका ठूला घरको झल्को दिइरहेका थिए । ठूलो टावर, अपार्टमेन्ट जस्ता ठूला विल्डीङ, स्कुल, बास्केटबल कोच अलि पर जंगल । एक जना साथी मसँगै आएर भन्न थालिन ‘जिरी त कस्तो अरु सामान्य सहर जस्तै रहेछ, स्वीजरल्याण्ड जस्तो त कतै देखिन ।’ अर्को साथी पनि बालकोनीमै आएर कुरा थप्न थालिन ‘यो ठाउँ त स्वीजरल्याण्ड अफ नेपाल भनेको हैन, सबै बजार जस्ते छ, स्वीजरल्याण्ड नि यस्तो हुन्छ र ?’

हामी जिरीलाई अझै नजिकबाट निहाल्ने सोच सहित केही साथीको टोली बनाएर जिरी बजार तिर निस्कियौं । जिरी बजार बदलिएछ । स्वीजरल्याण्ड हुनुपर्ने ठाउँमा ‘क्रंक्रिट बिल्डिङ ल्याण्ड’ बन्न लागेको आभास भयो । स्वीस सरकारले बनाइ दिएका केही होस्टल र अस्पतालहरु बाहेक सबै ढलान गरेका ठूला विल्डिङ बाहेक केही देखिएनन् । तर, सडक भने निकै सफा थियो । एकै छिनमा झमक्क साँझ पर्यो चिसोले छुन थालेपछि हामी फेरि होटलतर्फ फर्कियौं ।

 

८ बजेतिर रातिको खाना खायौं । केही साथीहरु क्याम्प फायर गर्ने कुरा गर्दै थिए । सायद दिनभरिको गाडी यात्राले थाकेर होला हामी सबै आ–आफ्नो कोठा तिर लाग्यौं । कोही ओछेनमा लागे त कोही जम्मा भइ तितामिठा अनुभव र कथा सुनाउन तिर लागे । भोलिपल्ट विहानै उठ्ने बित्तकै फेरि एकपटक बालकोनीबाटै जिरीलाई नियाँले । पारीपट्टीको वनलाई कुहिरोले ढाकेको थियो । हरियो वन माथि सेतो घुम्टो ओढाए जस्तै । साँच्चै मनमोहक थियो त्यो दृश्य ।

 

गाईले ढुंगालाई दूध दिन थालेपछि पुजिन थालेका जिरेश्वरी महादेव

 

विहानीको चिसो हावाले स्पर्श गरिरहेको थियो । सँगै कोठामा सुतेकी साथी आएर भन्न थालि ‘आज त जिरेश्वरी मन्दिर जाने हैन ? कहाँ छ त्यो मन्दिर कति टाढा छ?’ उसको प्रश्नको जवाफ दिँदै मैले जंगल छेउँ देखाउँदै ‘ऊ त्यो पर छ रे अब जाने हो, बाहिर चिसो छ ल भित्र हिँड ।’

पर्यटन प्रबद्र्धनका लागि हामीलाई घुमाउन ल्याउनु भएका सर लिलाराम खड्काले विहान ७ बजेदेखि पर्खि रहनु भएको रहेछ होटलको हलमा । सबैलाई ७ बजे तयार भएर मन्दिर जाने भनिएको थियो । तर, सबैजना ८ बजेमात्र जम्मा भयौं । र, हामी जिरेश्वरी मन्दिरतर्फ लाग्यौं ।

 

हामी हरियाली जंगल, चिसो हावामा रमाउँदै उकालो लाग्यौं । केही जिरेश्वरी मन्दिरका बारेमा त केही जिरीकै विशेषताका बारेमा लिला सरसँग मिठा गफका तालमा हामी मन्दिर पुग्यौं । अग्लो ढुंगा, ढुंगाको गुफा भित्र त्रिसुलै त्रिसुलले भरिएका मठमन्दिरहरु । मन्दिरबाट देखिने माथिबाट बगिरहेको झरना र तल बगिरहेको निश्चल खोलाले मनै आनन्द बनायो ।

 

हामी सबै मन्दिर दर्शन गर्न तिर लाग्यौं कोही झर्नामै फोटो खिच्दै थिए त कोही अलि माथि के छ भनेर निहालिरहेका थिए । यसैक्रममा लिला सरले हामीलाई मन्दिरको बारेमा किम्मदन्ती सुनाउन थाल्नुभयो । ‘धेरै पहिला यहाँका किसानले पालेको गाईले दूध दिएन छ, किन दिएन भन्दै खोजी गर्दा उक्त गाइले दूध सधैं त्यहीँ आएर ढुंगामा दिने गरेको पाइएपछि जिरेश्वरी मन्दिरको रुपमा किसानहरुले आएर पूजा गर्न थालेका हुन ।’

उहाँले गाइका थुन जस्ता आकार भएका गुफा भित्रको आकृति देखाउँदै भन्नु भयो ‘यो थुनबाट पहिला दूध आउँथ्यो रे अहिले पनि यसरी पानी चुही रहन्छ, यहाँ जे माग्यो त्यो पूरा हुन्छ भन्ने विश्वास रहेको छ ।’ यो कुरा सुनेपछि  साथीहरुले जिरेश्वरीसँग केही न केही मागे होलान तर, मैले भने दुई हात जोडी दर्शन मात्र गरे अनि फूल लिएर सबै साथीलाई बाँडे । गुफा मुनि रहेको सो मन्दिर निकै शान्त र सौन्दर्य थियो । सुन्दर उक्त मन्दिरको दृश्य अझै पनि मेरो मनमा टाँसिएको छ ।

 

गौचरण बनेको एयरपोर्ट…

 

मन्दिरँबाट हामी होटलमा फर्कियौं र खानाको तयारीमा लाग्यौं । खाना खाइसकेपछि गाई फाम हेर्न लाग्यौं । लिला सरले भन्न थाल्नुभयो ‘पहिले त्यहाँ एरपोर्ट थियो कृषि मन्त्रालय र पर्यटन मन्त्रालय बीच समन्यवन हुन नसकेपछि कृषि जमिन नबिगार्ने भनेर उक्त जमिनलाई त्यत्तिकै खाली छोडियो ।’

खाना खाएपछि हामी बजारबाट केही तल रहेको गौचरण तिर लाग्यौं । हिँडेरै जादा हुने रहेछ तर, एकै दिनमा धेरै ठाउँ घुम्ने हामी चाहानाले छिट्टै पुगेर छिटै फर्किन गाडीको यात्रा रोज्यो । हामी गाडीमै गौचरण तर्फ लाग्यौं । गौचरण पुगेर गाडी रोकियो । केही पर केटाहरु फुटबल खेल्दै थिए । अलि पर पुगेपछि गाई, भैसी, बाख्रा चरिरहेको देख्न सकिन्थ्यो । बेगले हावा चलिरहेको थियो । हावाको सिरेटोसँगै साथीहरु कोही क्यामेरा त कोही मोबाइल बाटै फोटो र भिडियो खिच्न थाले । कोही टिकटक पनि बनाउँदै थिए । कोही हावासँगै गौचरणको हरियाली चउर निहाल्दै मग्न अवस्थामा रहेका थिए ।

 

चउरको छेउबाटै खोला बगिरहेको थियो । २०४० साल अघि एयरपोर्ट रहेको उक्त चउर गौचरण बनेको पनि करिब ४ दशक पुग्न लागिसकेको रहेछ ।

 

गाईफर्मबाट फर्किने क्रममा पहिलो पटक सगरमाथा चढ्न सफल भएका प्रथम आरोही स्वर्गीय तेञ्जीङ नोर्गे शेर्पा र स्वार्गीय सर एडमण्ड पर्सिभल हिलारी पार्कमा पुग्यौं । उनीहरु सगरमाथा चढ्न जाँदा यहाँ बिश्राम गर्न बसेका रहे छन् । सोही ठाउँमा हाल दुवैको सालिक बनाई पार्क स्थापना गरिएको रहेछ । एकै छिन हामी त्यहाँ बस्यौं र फोटो खिचेर होटलतर्फ लाग्यौं ।

 

मनै लोभ्याउने बुद्धपार्क

 

२३८४ मिटर उचाइमा रहेको बुद्धपार्क जिरीबाट हिँडेर जाँदा डेढ घण्टादेखि २ घण्टा लाग्छ । गाडीमा जाँदा करिब २० मिनेट । हामी भने बीचमै गाडी बिग्रेका कारण हिँड्दै जानु पर्यो । बिहानसम्म जिरी स्वीजरल्याण्ड जस्तै छैन भन्ने साथीहरु पछि पछि गफ गर्दै ‘वा’ भन्दै फोटो खिच्दै हिँडी रहेका थिए ।

हिँड्दै बुद्धको स्मारक देख्न थालियो । केही पर पुगेपछि ठूलो प्रवेशद्धार आयो । द्धारमादुवै तर्फ ठूला माने राखिएका थिए । विभिन्न आकृतिले भरिएको उक्त द्धारमै साथीहरु फोटो खिच्न थाले । बीचमा भर्याङ, दाँयाबाँया फूलका बोटबिरुवाका मनमोहक दृश्यले मलाई माथि चढ््न प्रोत्साहन गरिरहेको थियो । भर्याङ चढेर माथि पुग्दा घाम अस्ताइ सकेको थियो । पारिदेखिने सबै दृश्य कुहिरोले छोँपदै थिए । बुद्धको ठूलो मुर्तीलाई आँखामा तस्वीर सहित कोर्दै एक फन्को लगाएर तल झर्यौं । होटल आइपुग्दा झम्मकै साँझ परेको थियो ।

 

‘जिरी पूरै घुम्न एक हप्ता लाग्छ’

 

भोलिपल्ट ७ बजे सबै जना भेला भयौँ । छुट्नु अघि सबै साथीहरुले आफ्नो रोजाइ अनुसार छुर्पी, किवी, टिमुर, याकको चिजलगायतका वस्तुहरु किने ।

 

लिलाराम सरले हामी घुमेका अहिलेसम्मका स्थानहरु २० प्रतिशत मात्र भएको बताउनुभयो । उहाँले जिरीमा घुम्ने ठाउँहरुको बयान गर्दै भने ‘जिरी पूरै मज्जाले घुम्ने भए एक हप्ता छुट्टी लिएर आउनु पर्छ । एक दिन आएर एकै दिनमा सबै घुम्न सम्भव नै छैन । नत्र यहाँ घुम्ने ठाउँ धेरै छन् ।

मलाई अझै अरु पनि ठाउँ घुम्न मन थियो । जिरीको दुई दिनको यात्राले मलाई यहीँ बसेर केही दिन घुमेर जाउँ भन्दै थियो । तर बाध्यता उता काठमाडौंमा काम बितिसकेको थियो । म मात्र हैन सबै साथीहरु बिहानै हिडेको भए हुने भन्दै थिए । हामी ९ बजेतिर जिरीमै चिया नास्ता गरेर काठमाडौं फर्कियौं । मनमनै सोचे यो पटक जिरी पूरै घुम्न नपाए पनि अर्को पटक परिवारसहित हरेक स्थान घुम्ने गरी आउने छु ।

 

जिरीको चिया बगान, सहिद आवासीय विद्यालय, जिरी गाउँ, ढुंगेश्वरी महादेव, हनुमन्तेश्वर, मानडाँडा, बुलु डाँडा लगायतका धेरै स्थानहरु अझै घुम्न जानै बाँकी थियो । एसी जस्तै वातावरण र हावापानी रहेको जिरी साँच्चैमा आफैमा पूर्ण पर्यटकीय स्थान रहेछ ।

 

चन्द्रागिरी-चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री Read Previous

चन्द्रागिरी-चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री

व्यावसायिक पशुपालनको सफल नमूना 'जिरी गाई फार्म' Read Next

व्यावसायिक पशुपालनको सफल नमूना 'जिरी गाई फार्म'