काठमाडौं । सिभिल बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अधिकांश वित्तीय सूचकमा सुधार आएको छ ।
पहिलो त्रैमासमा गतवर्षको तुलनामा खुद नाफा ३ गुणाभन्दा धेरैले वृद्धि भएको छ । चालू आवको असोज मसान्तसम्म सिभिलले २९ करोड १८ लाख ४० हजार रुपैयाँ खुदा नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २०१.८६ प्रतिशत बढी हो । सिभिलले गत वर्षको पहिलो त्रैमासमा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र संचालन मुनाफामा उच्च वृद्धि हुँदा बैंकको खुद नाफा तेब्बरले बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४२.८१ प्रतिशतले बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन नाफा तीन गुणाले बढेर ४२ करोड रुपैयाँ पुगेको छ ।
८ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ९१ करोड ९७ लाख रुपैयाँ संचित छ ।
असोज मसान्तसम्ममा बैंकले ९२ अर्ब ७३ निक्षेप संकलन गरी ८१ अर्ब ९२ रुपैयाँ कर्जा लगानी गरेको छ । खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि तीन गुणाले बढेको छ । समीक्षा अवधिमा सिभिलको प्रतिसेयर आम्दानी ४.८३ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.९९ गुणा, सीडी अनुपात ८७.९४ प्रतिशत, आधारदर ८.२६ प्रतिशत, स्प्रेडदर ३.२९ प्रतिशत र खराब कर्जा ०.९९ प्रतिशत रहेको छ ।