काठमाडौं । चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमईले पनि पहिलो त्रैमासमा १ अर्ब बढी खुद मुनाफा कमाएको छ ।
योसँगै ग्लोबल पनि पहिलो त्रैमासमै १ अर्ब नाफा कमाउँदै अर्बपति क्लबमा प्रवेश गरेको छ । पहिलो त्रैमासमा नबिल, एनआइसी एशिया र एनएमबीले पनि १ अर्ब बढी नाफा कमाएका छन् ।
बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ११ करोड २२ लाख खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशत बढी हो । ग्लोबलले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र निष्क्रिय कर्जा उठाउन सफल हुँदै बैंकको नाफामा सामान्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८२ प्रतिशतले घटेर २ अर्ब ३३ करोडमा सीमित भएको छ । बैंकको संचालन नाफा भने ५.४५ प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
२१ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब २५ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ३५ लाख रुपैयाँ छ।
असोज मसान्तसम्ममा बैंकले २ खर्ब ६७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा नबिलको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँबाट घटेर २०.५७ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५६.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.४३ गुणा, सीडी अनुपात ८९.१४ प्रतिशत, आधारदर ७.४१ प्रतिशत, स्प्रेडदर ३.४९ प्रतिशत र खराब कर्जा १.६२ प्रतिशत रहेको छ ।