काठमाडौं । कुनै बेला नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । व्यवसाय सम्बद्ध हरेक सूचकहरूमा यी दुई बैंकहरूको दह्रो प्रतिस्पर्धा हुने गरेको थियो । तर, केही ठूला ऋणहरू प्रोभिजनिङ गर्नु परेपछि केही वर्ष यता नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
छोटो समयको लागि नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । तर, अहिले एनआइसी एशिया बैंकको जसरी छोटो समयमै उदय भयो, त्यसले अब नेपालको बैंकिङ क्षेत्रको लिडर एनआइसी एशिया बैंक पनि बन्न सक्ने संकेत देखिन थालेको छ ।
भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकको व्यवसायिक रणनीतिबाट प्रभावित रहेको एनआइसी एशियाले विगत २–३ वर्षमा नै लामो दूरी पार गरिसकेको छ, सबै क्षेत्रमा । अत्याधिक बलियो शाखा सञ्जालद्धारा रिटेल लेन्डिङलाई आफ्नो बलियो हतियार बनाएको यो बैंकले डिजटल बैंकिङमा पनि उल्लेख्य कामहरू गरेको छ ।
पछिल्लो समय एनआइसी एशियाको विस्तार र वृद्धिले लामो समयसम्म नेपाली बैंकिङ क्षेत्रको लिडरको रूपमा रहेको नबिल माथि पनि धेरै दबाब परेको छ । नबिलले पनि समयको माग अनुसार डिजिटल बैंकिङलाई आक्रामक रूपमा प्रर्बद्धन गर्न सुुरू गरिसकेको छ । वित्तीय उत्पादनहरू पनि त्यसै अनुसारको विकास गरिरहेको छ नबिलले ।
यी दुई बैंक बीच प्रतिस्पर्धा कसरी चल्दै जाला त्यो त अब भविष्यले नै बताउला । तर, चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण हेर्दा भने एनआइसीले नबिललाई धेरै सूचकहरूमा पछि पारेको छ ।
कस्तो छ दुई बैंकको वित्तीय अवस्था ?
चालू आवको पहिलो त्रैमासमा एनआइसीले खुद नाफामा नबिललाई पछि पारेको छ । सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको एनआइसीले नबिलकोभन्दा ७ करोड बढी नाफा कमाएको छ ।

समीक्षा अवधिमा एनआइसीले १ अर्ब १८ करोड खुद नाफा कमाएको छ भने नबिलले १ अर्ब ११ करोड कमाएको छ । दुवै बैंकले गत वर्षको तुलनामा नाफा बढाउन सफल भएका हुन् । नबिलको नाफा ७.३९ प्रतिशतले बढेको छ भने एनआइसीको १५.६४ प्रतिशतले बढेको छ ।
यस्तै, निक्षेप संकलन र कर्जा लगानीमा पनि एनआइसी एशिया नबिलभन्दा अगाडि छ । एनआइसीको निक्षेप २ खर्ब ७८ अर्ब र कर्जा लगानी २ खर्ब ६४ अर्ब रुपैयाँ छ। जबकी नबिलको २ खर्ब २५ अर्ब निक्षेप र २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी छ ।
समीक्षा अवधिमा एनआइसीको निक्षेप संकलन ३.०५ प्रतिशतले घटेको छ भने कर्जा लगानी ६.२६ प्रतिशतले बढेको छ । यस्तेै, नबिलको निक्षेप संकलन १.०८ प्रतिशत र कर्जा लगानी विस्तार ४.७१ प्रतिशतले सुधार भएको हो।
यस्तै, चुक्ता पूँजी, रिजर्भ कोष, रिटेन अर्निङमा भने नबिलो अगाडि रहेको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ, सेयर प्रिमियममा १५ करोड ८७ लाख र रिटेन्ड अर्निङमा ४ अर्ब ६० करोड रुपैयाँ संचित छ । ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको एनआइसीको जगेडा कोषमा ८ अर्ब २४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब १४ करोड रुपैयाँ संचित छ ।
सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने सूचकहरू प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातको कुरा गर्दा यसमा एनआइसी एशिया अगाडि देखिएको छ । यद्यपि,गत वर्षको सोही अवधिको तुलनामा दुवै बैंकको प्रतिसेयर आम्दानी घटेको छ ।
समीक्षा अवधिमा एनआइसीको प्रतिसेयर आम्दानी ४०.८४ रुपैयाँ रहेको छ भने नबिलको ३२.१४ रुपैयाँ रहेको छ । यस्तै, सेयर बजारमा सबैभन्दा धेरै मूल्य रहेको नबिलको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा छभने एनआइसीको २०.७८ गुणा रहेको छ ।
समीक्षा अवधिमा दुवै बैंकको खराब कर्जा भने बढेको छ । गत वर्ष ०.६५ प्रतिशत खराब कर्जा रहेको नबिलको बढेर १.१३ प्रतिशत पुगेको छ । यस्तै, एनआइसीको खराब कर्जा ०.४० प्रतिशतबाट बढेर ०.४६ प्रतिशत पुगेको छ ।
यसरी हेर्दा पछिल्लो समय एनआइसी एशिया नबिलको कडा प्रतिस्पर्धी मात्र नभएर लिडर नै पो बन्न थालिसकेको होकी भन्ने जस्तो देखिन थालेको छ । महामारीको यो समयका कारण समग्र व्यवसायीक सूचकहरूको वस्तुनिष्ठ तुलना हुन पनि संभव नहोला । तर पनि यी दुई बैंकहरू बीचको रोचक प्रतिस्पर्धा भने अबको भविष्यमा देख्न पाइने छ ।