काठमााडौं । चन्द्रागिरी हिल्स लिमिटेडको वित्तीय अवस्था सुधारन्मुख रहेको छ । कोरोनाका कारण बन्द रहेको कम्पनी पछिल्लो समय संचालनमा आएसँगै आम्दानी बढ्दा अवस्था सुधारन्मुख भएको हो ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आव २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी ३ करोड ८७ लाख २१ हजार ५६६ रुपैयाँ रहेको छ । जबकी गत असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ थियो ।
पछिल्लो समयमा केबलकारका साथै होटल पनि संचालनमा आउँदा कम्पनीको आम्दानी वृद्धि भएको हो । पहिलो त्रैमासमा चन्द्रागिरिले व्यवसाय संचालनबाट ८ करोड १५ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।गत वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्र थियो।
यस्तै अन्य स्रोतबाट १ लाख ३ हजार आम्दानी गरेको छ । यस अवधिमा संचालन मुनाफा ९१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.५२ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७१.८२ रुपैयाँ रहेको छ।