काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १२.३७ प्रतिशतले घटेको छ ।
चालू आवको असोज मसान्तसम्म लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४५ लाख रुपैयाँ कम हो । गत आवको पहिलो त्रैमासमा लघुवित्तले १९ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्दा र प्रोभिजनिङ बढ्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.२० प्रतिशतले घटेर ३५ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा १२०.७६ प्रतिशतले घटेर २३ करोडमा सीमित भएको छ ।
समीक्षा अवधिसम्म लघुवित्तले ६ अर्ब ९० करोड करोड निक्षेप संकलन र ७ अर्ब ४२ करोड सापटी लिइ कुल १६ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ३८ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब २१ करोड संचित रहेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८.८१ रुपैयाँबाट घटेर ५०.०४ रुपैयाँमा झरेको छ । लघुवित्तको खराब कर्जा ०.६५ प्रतिशतबाट बढेर ०.६७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८७.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७२ प्रतिशत रहेको छ ।