काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)ले कनेक्ट आइपिएस इपमेन्ट प्रणालीमा आवद्ध भएको छ। अब इन्भेष्टमेन्ट बैंकका ग्राहकले पनि यस प्रणालीमार्फत सिधै आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन्।
बैंकले हाल ८२ शाखा, १२० एटिएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्ट आइपिएसको सेवा पनि थप भएको छ।
यसबाट बैंकलाई आफ्ना ग्राहकहरुलाई वैकल्पिक डिजिटल च्यानलहरु प्रदान गर्न सहयोग पुग्ने छ। जसको माध्यमबाट ग्राहकले अनलाइन फण्ड ट्रान्सफर, ई–कमर्शको भुक्तानी, क्रेडिट कार्डरबिल भुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा फण्ड भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी र अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सक्नेछन्।
साथै इन्भेस्टमेन्ट बैंकले आफ्ना सेवाप्रदायकहरुलाई कनेक्ट आइपिएसमा आबद्ध गराई अन्य सेवाहरु पनि थप्न सक्नेछ जुन अन्य सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले पनि प्रयोग गर्न सक्छन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खाता लिंक गराई विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले www.connectips.com मा गएर अथवा मोबाईल एपको प्रयोग गरी अथवा सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आइपिएसको पेमेन्ट प्रोसेसर (गेटवे) मा गएर भुक्तानी गर्न सक्नेछन्। कनेक्ट आइपिएसमा प्रयोगकर्ता नभएका ग्राहकहरुले पनि नेपाल इन्भेस्टमेन्ट बैंकले चयन गरेको शाखाहरुमा गएर कारोबार गर्न सक्नेछन् ।
कनेक्ट आइपिएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको भुक्तानी प्रणाली हो । यस प्रणालीमा हालसम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सदस्यता लिइसकेका छन् र हालसम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन्।