सेयर वादशाह वारेन बफेट : धमाधम सेयर बेच्दै, बैंक खातामा नगद थुपार्दै

विश्वव्यापी आर्थिक मन्दीको चर्चा चलिरहदाँ विश्वकै सबैभन्दा ठूला सेयर लगानीकर्ता वारेन बफेट चाँही के गर्दैछन् भन्ने चासो धेरैको मनमा हुनसक्छ । विभिन्न सञ्चारमाध्यमहरुले जनाए अनुसार उनी अहिले नगद बटुल्नमा व्यस्त छन् ।

 

वारेन बफेटले सेयरको मूल्य ‘ओभरभ्याल्यूड’ भए भनेर सेयरको सट्टा आफ्नो खातामा नगद मौज्दातको थुप्रो लगाउनुले आर्थिक मन्दीको संकेत गरेको जानकारहरु बताउँछन् ।

 

लगानी गुरु बफेटको कम्पनी वर्कशायर हाथवेसँग गत जुन महिनाको अन्त्यसम्म १ सय २२ अर्ब अमेरिकी डलर नगद मौज्दात थियो । यो पैसा उनले एप्पल, अमेजोन वा बैंक अफ अमेरिकामा आफ्नो हिस्सा बढाउन वा अन्य कम्पनी खरिद गर्न लगानी गर्न सक्थे । तर, उनको कम्पनीले त्यसो गरेन ।

 

वर्कशायरसँग हाल भएको नगद मौज्दात उसको कुल पोर्टफोलियोको (२ सय ८ अर्ब डलर) ६० प्रतिशत हो । कम्पनीको ३२ वर्षे इतिहासमा पोर्टफोलियोमा नगदको हिस्सा धेरै भएको भनेको सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको आसपासको समयमा मात्र हो ।

 

बफेटले बैंकमा नगद नै राख्न रुचाउनुको एउटा कारण सेयरको मूल्य उनको नजरमा ‘ओभरभ्याल्यूड’ भएर हो । ओरेकल र आमाहाका सेयर बजरको मापन गर्ने कथित ‘औजार’ –सेयरको पूँजीकरणलाई कुल ग्राहस्थ उत्पादनको प्रतिशतमा अभिव्यक्त गरेर हेर्ने– ले पनि आर्थिक मन्दीको दाबीलाई सर्मथन गर्छ (यो बफेटको सेयर मूल्याङ्कन गर्ने प्रिय औजार हो) ।

 

त्यो प्रतिशत सन् २०१७ मा सन् २००० को ‘डट कम बबल’को समयको १ सय ४६ प्रतिशतलाई उछिन्दै १ सय ५४ प्रतिशत पुगेको थियो । र, सन् २००७ को आर्थिक संकट अगाडी १ सय ३७ प्रतिशतमा आएको थियो । पछिल्लो १८ महिनाको सेयर मूल्य वृद्धिलाई हेर्दा यो प्रतिशत अहिले झन् उच्च भएको छ ।

 

वर्कशायर हाथवेले केही समय देखि नै पैसा बटुल्न थालेको हो । सन् २०१८ को जुन महिनामा पनि कम्पनीले १ सय ११ अर्ब अमेरिकी डलर नगद मौज्दात राखेको थियो । तर, बजार ‘क्र्यास’ भएन । यसको मतलब नगद बटुल्ने बित्तिकै अर्थतन्त्र र सेयर बजार तल झरिहाल्छ भन्ने पनि होइन ।

 

वर्कशायर आफ्नो पैसा सेयरमा भन्दा पनि कम्पनी किन्नमा प्रयोग गर्न चाहन्छ भनेर बफेटले आफ्ना सेयरधनीहरुलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । तर, कम्पनीस्हरुका अहिलेको मूल्य उच्च छन् ।

 

‘हामी हाम्रो अधिक तरलता हामीले स्थायी रुपको स्वामित्व लिन कम्पनीका लागि मात्र प्रयोग गर्न चाहन्छौं,’ उनले भनेका छन्, ‘तर, त्यसका लागि तत्कालको अवस्था त्यती राम्रो छैन । लामो भविष्य भएका व्यवसायहरुको मूल्य आकाश छुने महँगो छन् ।’

 

‘यो निराशाजनक यथार्थको मतलब हामीले सन् २०१९ मा पनि केही सेयर नै किन्नु पर्ने भएको छ । तर, हामी कुनै ‘हात्ती आकारको प्राप्ती’ गर्ने प्रयास भने गर्ने नै छौं,’ उनले भनेका छन् ।

 

बफेट प्राप्ती गर्ने राम्रो अवसरको खोजिमा भएपनि इतिहासले भने उनको पैसाको थुप्रोले धमाधम बेच्ने बेला आएको तर्फ नै संकेत गर्छ ।

  • एजेन्सीको सहयोगमा
राष्ट्रिय वाणिज्य बैंकको एकै दिन १४ नयाँ शाखा उद्घाटन Read Previous

राष्ट्रिय वाणिज्य बैंकको एकै दिन १४ नयाँ शाखा उद्घाटन

इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आइपिएस प्रणालीमा आबद्ध Read Next

इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आइपिएस प्रणालीमा आबद्ध