भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् ।

 

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए ।

 

नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरे।

 

विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको उनको भनाइ थियो ।

उनले भने, “अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ ।”

 

नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावनमार्ग विस्तारको काम हुने उनको भनाइ थियो । विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए ।

 

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताए। भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए ।

 

अर्को प्रसङ्गमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताए ।

 

उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिए । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई आफूले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको बताए ।

 

विमान कम्पनीले नै सामाजिक उत्तरदायित्व अन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे । उनले भने, “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।”

 

हवाई भाडा दर समायोजन हुने उनको भनाइ थियो । उनले भने, “भाडादर पुनरावलोकन गर्छौं, इन्धनको कुराले भाडादर महङ्गो छ । विदेशीको झनै महङ्गो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौँ ।”

 

 

नेपाल एयरलाइन्सको सुधार गर्ने महत्वपूर्ण एजेण्डाका साथ काम अघि बढिरहेको उनको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमले विमानस्थलको अवस्थाका बारेमा जानकारी गराउँदै काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आइपिएस प्रणालीमा आबद्ध Read Previous

इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आइपिएस प्रणालीमा आबद्ध

आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष, एउटै ५० लाखमा बिक्री Read Next

आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष, एउटै ५० लाखमा बिक्री